• ७ वैशाख २०८१, शुक्रबार

खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग

blog

आर्थिक सहयोग प्रदान गरेपछि सामूहिक तस्बिर खिचाउँदै खेलाडी र राखेप पदाधिकारी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य सचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले दुई लाख नौ हजार एक सय १४ रुपियाँ बरबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो । करिब चार महिना बराबरको आफूले पाउने सुविधा वापतको रकम सदस्य सचिव घिसिङले कोषलाई प्रदान गर्नुभएको हो । 

नेपाल सरकारले घिसिङलाई गत मंसिर १३ गते राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । घिसिङको नियुक्तिका साथै राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले आफ्नो बर्खास्ती विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चको अल्पकालीन अन्तरिम अनुसार करिब चार महिना सदस्य सचिव घिसिङ राखेपमा अनुपस्थित थिए । सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्य सचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधा वापतको रकम सदस्य सचिव घिसिङले कोषलाई हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले भन्नुभयो– ‘काम गर्न नपाएको अवधिको सुविधा लिन त्यत्ति सहज लागेन । खेलाडीकै हितलाई सम्झेर थोरै भएपनि कोष सहयोग होस् भनेर उपलब्ध गराएको हुँ । कोषलाई बलियो बनाउन कार्य योजना बनाउने छु । कोषलाई ठूलो बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ ।’ अध्यक्ष श्रेष्ठले सहयोगले सकारत्मक सन्देश प्रवाह गर्ने बताउँदै यसले अरुलाई पनि कोषमा सहयोग गर्न आकर्षित गर्ने धारणा राख्नुभयो ।