• १० मंसिर २०८१, सोमबार

खोजी हुँदै आशाको दियो

blog

‘हरेक नेपालीको घरमा एक हल गोरु, दुहुनो गाई अनि गरिखान पुग्ने जमिन, औषधीमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस्’ त्यो बेला बिपी कोइराला सधैँ भन्नुहुन्थ्यो, “हलो जोतिरहेको तस्बिर दिलमा राखेर सरकारका योजनाहरू कोर्नु ।” 

बिपीले बनाएको ‘समाजवाद’ को यो विम्ब त अब धुलोमैलो लागेर पुरानो भइसकेको छ । उहाँले देख्नुभएको ‘गाउँको विकास’ को सपना पनि विकासको त्यही बतासमा बतासिइरहेको छ । ‘नेपाल भनेकै गाउँ हो । नेपालको विकास भन्नु नै गाउँको विकास गर्नु हो । झुपडी, गाउँ र बस्तीबाट विकासको शङ्खनाद आफ्नै पाखुराले आफ्नै माटोमा प्रारम्भ गर्नु पर्छ’ बिपीको मान्यता थियो कि “गाउँको विकास नै मुलुकको सर्वाङ्गिण विकास हो ।”

पछि कम्युनिस्ट सरकारले त्यसैलाई अलिकति बदलेर ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने अभियान चलायो । समाजवादसम्म पुग्ने लक्ष्यका हरेक बाटाहरू बिपीले गाउँकै माटोमा कोर्न चाहनुभएको थियो । उहाँले भने जस्तै आज गाउँगाउँमा विकास पुगेको छ । त्यो मात्रै ‘डोजरे’ विकास भएको थियो । विकास भनेको बाटाघाटा वा गगनचुम्बी महलहरू ठडिनु मात्रै होइन । विकास भनेको आमजनताको सन्तुष्टि र महसुस हो । अर्थात् नागरिकले हरपल फेर्ने ‘सन्तुष्टि’ को सास नै समृद्धिको एउटा मुख्य सूचक हो । 

समाजवादको विम्ब बनाएको त्यो युग बिपीले बाँचेको समय थियो । जतिबेला गाउँ भरिभराउ थिए । देशको कुल जनसङ्ख्यामा गनिएका मान्छेमध्ये ९६ प्रतिशत मानिस गाउँमै थिए । त्यसैले गाउँ नै सबथोक थियो । हिजो गाउँमा केही थिएन तर सब थियो । आज गाउँमा सबथोक छ तर गाउँमा कोही छैनन् । अझ भोलिका दिनमा गाउँमा कोही पनि हुने छैनन् । यो तथ्यलाई हामीले बेवास्ता गर्दै गयौँ भने देशको भविष्य रित्तो रित्तो हुने छ । 

गाउँ रित्ता छन् । पहाडहरू निख्रिएका छन् । गाउँको त्यो उर्बर भूमि अब जर्जर भइसकेको छ । कङ्क्रिटले भरिएको निर्जीव सहरमा आज पनि अनुत्पादक दिमागहरूले भरिएका छन् । गाउँ आज निष्प्राण छ । बसाइँसराइ गरेर गाउँ आउनेहरूलाई अहिले स्थानीय सरकारले पुरस्कार अनि सम्मान गरिरहेका छन् । अर्थात् गाउँमा आउन उनीहरूले प्रोत्साहित गरिरहेका छन् । ‘गाउँ आउने’ बाटो त बनेका छन् तर ती बाटामा हिँड्ने पाइलाहरू नै अब छैनन् । हल गोरु पाल्नेहरूलाई आज स्थानीय सरकारहरूले अनुदान दिइरहेका छन् । यस अर्थमा पनि बिपीले बनाएको त्यो ‘विम्ब’ मा धुलो भरिएको नै किन नहोस् तर त्यो आज पनि उत्तिकै जीवितै छ । बिपीको त्यो ‘दूरअन्दाज’ थियो । अर्थात् एउटा दूरदर्शी राजनेताले आफू बाँचेको मात्रै समयको विश्लेषण गर्दैन आफ्ना कैयौँ पुस्ताको भविष्यलाई ख्याल गरेर उसले आफ्ना राजनीतिक आदर्श अनि नीतिहरूको रेखा कोर्छ । 

देशको व्यवस्था परिवर्तनका कैयौँ पुस्ताले आफ्नो सारा जीवनमा क्रान्ति, सङ्घर्ष अनि लडाइँमै बितायो । हिजो राणा शासन अनि पञ्चायती शासन हुँदै ‘राजतन्त्र’ को विरासत मेटाएर हामी ‘गणतन्त्र’ मा बाँचेको पनि १६ वर्ष पुगिसकेको छ । यो एउटा पुस्ताको भविष्य रेखा कोरिने सबैभन्दा मलिलो समय पनि हो । हामीले के ग¥यौँ ? हामीले हुर्काइरहेको अनि आउने पुस्ताका लागि यो बिचमा हामीले ग¥यौँ ? यसको निर्मम समीक्षा गर्न अब धेरै अबेला भइसकेको छ तर पनि सच्चिने अनि सच्याउने समय र ठाउँहरू प्रशस्तै छन् । यसमा अब देशको राजनीति र शासनसत्ता हाँकिरहेको नेतृत्वले सोच्नुपर्ने भएको छ । दुःखको कुरा – सोचिएकै छैन ।

राणा शासन निरङ्कुश थियो । त्योसँग हामी लड्यौँ र फाल्यौँ । राजा अनि आमनागरिकको अधिकार फिर्ता ल्यायौँ । राजालाई संविधानभन्दा अलि माथि नै राख्यौँ, त्यसैले राजाले फेरि त्यही संविधान मास्ने काम गरे । फेरि हामीले ३० वर्षसम्म पञ्चायतसँग लड्नु प¥यो । पञ्चायतपछिको उदार प्रजातन्त्रका एक दशक पनि हामीले त्यसमा अभ्यास गर्न पाएनौँ । त्यसपछि फेरि १० वर्ष माओवादीको ‘द्वन्द्व’ ले देशलाई चारैतिरबाट खलबल्याइदियो । 

माओवादीलाई राजनीतिको मूलबाटोमा ल्याएसँगै बदलिएको राजनीतिक व्यवस्था अर्थात् गणतन्त्रमा बाँचेको पनि डेढ दशक नाघिसकेको छ । अहिलेसम्म पनि हामीले हाम्रो तन्नेरी पुस्तामा गडेको एउटा भाष्य फेर्न सकेका छैनौँ ‘यो देशमा केही छैन ।’ आज करोडौँ नागरिकले आफ्नो सन्तानको पहिलो विद्यालय छनोट गर्दा नै त्यसको ‘इन्टरनेसनल स्कोप’ का बारेमा बुझ्न खोज्छ । यसको अर्थ हाम्रा सन्ततिको कलिलो मस्तिष्कमै हामीले ‘यो देशमा केही छैन’ भन्ने भाष्य रोपिदिएका छौँ । तन्नेरी भएर त्यो छिप्पिँदै जाँदा तन्नेरी पुस्ताले देश छोडिसकेका हुन् । आज हामीले बाँचेको समाज यही हो । अनि हाम्रो नेतृत्वले बनाएको समाजको रूप पनि यही नै हो । 

फुल्दै गरेका प्रजातन्त्रका कोपिलाहरू कोपिलामै मासिएका छन् । एक पटक होइन धेरै पटक । एउटाको अभ्यास पूरा भएकै हुँदैन । त्यसैमा निराशा छाउँछ अनि फेरि हामी व्यवस्थाविरुद्ध लड्न थाल्छौँ । त्यसलाई कहिल्यै कसरी सुधार्ने भनेर सोच्दैनौँ । हाम्रो नेतृत्वले त्यो शासन व्यवस्थामा नागरिकको जीवनमा परिवर्तन ल्याउनका लागि के ग¥यो अनि के गर्नु पर्छ भनेर कहिल्यै सोचेन । हामीले हाम्रो पुस्तामा हुर्काइरहेको निराशाको बीज पनि यही नै हो । 

राणाकालदेखि गणतन्त्रसम्म हामीले बाँचेको युगीन पानाहरू अलिकति पल्टायौँ भने हामीले त्यहाँ पाउँछौँ जहाँ हाम्रो अघिल्लो पुस्ताको सारा जीवन यिनै शासकसँगको लडाइँमा बितेको छ । यसरी हामीले शासक फे¥यौँ, शासन व्यवस्था फे¥यौँ तर नागरिकको जीवनस्तर र उनीहरूको अवस्था हामीले फेर्न सकेका छैनौँ । 

‘राजनीतिले समाजलाई निर्देश गर्ने कि समाजले राजनीतिलाई निर्देश गर्ने’ भन्ने राजनीतिक मान्यतामा अहिलेसम्म पनि विश्वव्यापी बहस उस्तै छ । बुझ्नुपर्ने र हामीले देख्दै आएको कुरा के हो भने जहाँको समाज समृद्ध छ, त्यहाँ समाजले राजनीतिको दिशा निर्देश गर्छ । हाम्रो जस्तो विकासको बाटोमा फटफटाइरहेको देशमा भने राजनीतिले नै समाजलाई निर्देश गरिरहेको हुन्छ । यो घाम जस्तै छर्लङ्ग भएको सत्य हो । आज हामीले सूक्ष्म रूपमा हे¥यौँ भने हाम्रो राजनीति जस्तो छ समाज पनि त्यस्तै छ । अर्थात् राजनीतिले जे पैदा गरिरहेको छ नागरिकले बाँचिरहेको जिन्दगीको भाव पनि त्यही हो–निराश, निरश अनि निर्विकल्प । 

प्रजातन्त्रको खुला अभ्यास अनि विकासको भ¥याङ चढ्दै गरेको देशमा यस्ता निराशा र नैराश्य भाष्यहरू विकसित हुनु अनि स्थापित हुनु कुनै ठुलो कुरा होइन तर त्यो लम्बिँदै गयो र हट्ने सङ्केत नै देखिएन भने त्यो समय भनेको सिङ्गो देशकै भविष्यका लागि खतरा हुन सक्छ । तसर्थ हाम्रो राजनीतिक नेतृत्वले अब यो दिशामा पनि सोच्नुपर्ने जरुरी भइसकेको छ । आजको थोरै विलम्ब भोलिका दिनमा निकै भारी पर्न सक्छ । राजनीतिक नेतृत्व आफ्नै लागि अनि सिङ्गो देश र नागरिकका लागि पनि । 

नागरिकमा देखिएको यो निराशाका पछाडि खासै ठुला विषय छैन । नागरिकलाई पनि खासै ठुला कुरा केही चाहिएको छैन । एउटा नागरिकले आफू र आफ्नो पुस्ताको भविष्यको ससाना सम्भावनाहरू देखे मात्रै पनि हाम्रो निराशा त्यसै त्यसै कम हुँदै जान्छ । त्यो भनेको एउटा नागरिक जीवनका सामान्य अभाव कसरी पूर्ति गर्ने भन्ने मात्रै चिन्ता हो । 

हरेक नागरिकलाई उसको क्षमता अनुसारको काम र माम अनि श्रम अनुसारको मूल्य मात्रै भए पनि तन्नेरी पुस्ता भविष्य खोज्न आफ्ना ‘सबथोक’ छोडेर हिँड्दैन । नेतृत्वले यस्ता सामान्य तर एउटा नागरिकको जिन्दगीमा ‘असामान्य’ मूल्य स्थापित गर्ने खालका सोच र नीतिहरू कार्यान्वयन नगरेसम्म हामीले भोग्नुपर्ने नियति यही हुने छ । 

विश्व आज शान्त छैन । ब्रह्माण्डका हरेक धु्रवका देशहरू आपसमा जुधिरहेका छन् । भिडिरहेका छन् । यो सिङ्गो ब्रह्माण्ड एकअर्कामा यसरी गाँसिएको छ कि कुनै एक धु्रवको तनावका बाछिटाहरू अनेक रूपमा तुरन्त अर्को धु्रवमा पुगिहाल्छन् । 

लडाइँले खलबल्याइरहेको विश्वका कैयौँ राष्ट्र आर्थिक मन्दीको मारमा छन् । कतै राजनीतिक अस्थिरता छ । कतै प्राकृतिक अनि दैवीय प्रकोपले पिरोलिरहेको छ । कतै बाढीले डुबाएको छ । कतै पहिराले पुरेको छ । कतै सागर उर्लिएर सारा जीवन अस्तव्यवस्त बनाइदिएको छ । कतै सगर गड्किएर उस्तै भयङ्कर प्रलयसँग धरती जुधिरहेको छ ।  अब सबै मिलेर आशाको सञ्चार गरौं ।  

Author

डा. शोभाकर पराजुली