बुद्धिजीवी राष्ट्र र समाजका दिशानिर्देशक हुन् । उनीहरूको विचार, चेतना, अनुसन्धान, लेखन र सक्रियताले मात्र देश र समाजको सकारात्मक रूपान्तरण सम्भव हुन्छ । बौद्धिक वर्ग मुलुकका नेतृत्वकर्ता पनि हुन् । बौद्धिक वर्गले राष्ट्रलाई उपयुक्त विचार, विवेक र दिशानिर्देश गर्ने हुँदा देशनिर्माणमा यो वर्गको योगदान र भूमिका महत्वपूर्ण मानिन्छ । बौद्धिक वर्ग राजनीतिक पार्टीका थिङ्क ट्याङ्कका रूपमा मात्र रहेका हुँदैनन् अपितु समग्र मुलुकको हितका लागि चिन्तन गर्ने र आमजनताका आकाङ्क्षा पूरा गर्दै आर्थिक, सामाजिक रूपान्तरणको पथमा मुलुकलाई अगाडि बढाउने मार्गदर्शक पनि हुन् । उनीहरूको सोच, दृष्टिकोण र नेतृत्वले देशको वर्तमान मात्र होइन, सुन्दर भविष्य पनि निर्धारण गर्न सक्छ । यो जिम्मेवारी पूरा गर्न नागरिक समुदायका अगुवा मानिने बुद्धिजीवीले आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्न जरुरी देखिन्छ ।
नेपाली जनताका आशा, भरोसा र विश्वास आर्जन गर्ने गरी सामाजिक न्याय र सुशासनका प्रत्याभूतिसहित राज्य सञ्चालन गर्नु सरकारको प्रमुख कर्तव्य हो भने सरकारलाई जनमुखी बन्न दबाब दिने र राजनीतिक पार्टीहरूलाई सैद्धान्तिक, वैचारिक र नीतिगत मार्गदर्शन गराउने काम बौद्धिक वर्गको हो । बुद्धिजीवीले नै समाज र राजनीतिमा देखिएका समस्यालाई सम्बोधन गर्न र आशा र विश्वासका साथ नयाँ परिवेश निर्माणको महत्वपूर्ण भूमिका खेल्दै यथोचित योगदान गर्नुपर्ने हुन्छ । केही समययता देशमा ठुलो परिवर्तन भएको छ । एकात्मक, केन्द्रीकृत र निरङ्कुश राजतन्त्रको ठाउँमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नयाँ संविधानले सबै वर्ग वा समुदायका अधिकारलाई सुनिश्चित गरेको छ ।
निराशा र नकारात्मक मनोविज्ञान फैलाइएको वर्तमान अवस्थामा बौद्धिक वर्गले उपयुक्त नीति, सही विचारको निर्माण र यथार्थ वस्तुस्थितिबारेको प्रचारप्रचारका माध्यमले समाज र देशलाई आशा र सकारात्मक दिशामा बदल्न केन्द्रित हुनुपर्ने देखिन्छ । यतिबेला सबै पुराना दलले जनताको असली प्रतिनिधित्व गर्ने हैसियत गुमाइसके भनेर जबर्जस्त भाष्य निर्माण गर्न खोजिँदै छ । आमजनताले व्यवस्थाकै विकल्प खोज्न थालेको अनावश्यक हल्ला फैलाइँदै छ । दलहरूका थोरै कमजोरीलाई औँल्याएर र जनताका केही असन्तुष्टिलाई बहाना बनाएर सडकमा भिड जम्मा गर्ने प्रयास पनि व्यापक मात्रामा भइरहेका छन् । मुलुक जटिल र तरल अवस्थामा छ । प्रतिगामी शक्तिले समाजलाई बराल्न र बिथोल्न भरमग्दुर प्रयास गरिरहेका छन् । यस्तो विषम परस्थितिमा नेपाली समाज र देशले बुद्धिजीवीको अग्रणी र विशेष भूमिकाको अपेक्षा गरेको छ ।
हिजोआज सामाजिक सञ्जालमा नेपालमा केही छैन, नेताहरूले सब बिगारिसके, अब मुलुक समृद्ध बन्दैन तसर्थ, विदेश जानुबाहेक अर्को विकल्प छैन भन्दै भ्रम छर्ने प्रयास भइरहेका छन् । केही पात्रहरूले जनताका गुनासा र निराशालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै विरुद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् । सूचना प्रविधिको गलत प्रयोग गर्दै निराशा, आक्रोश र अराजकता बढाउने काम भइरहेका छन् । यो जटिल परिवेशमा बुद्धिजीवीले वैचारिक सङ्घर्ष गर्दै सत्य, तथ्य र नेपाली मौलिक ज्ञान र विचारद्वारा समाजको अगुवाइ गर्नुपर्ने आवश्यकता देखिन्छ । अराजक र प्रतिगामी तत्व सलबलाइरहेको यो घडीमा उनीहरूबाट सिर्जित भ्रमलाई चिर्नु र वर्तमान गणतान्त्रिक व्यवस्थालाई सुदृढ गर्दै अगाडि बढ्न पनि बुद्धिजीवीको सक्रिय भूमिका आवश्यक देखिन्छ ।
विसं २०४६ देखिको दलीय राजनीतिलाई हेर्ने हो भने हाम्रा नेताहरू संवैधानिक, राजनीतिक प्रणाली सञ्चालन र सार्वजनिक जीवनको सदाचारमा अपेक्षित सफल भएको पाइँदैन । धेरैजसो दलका नेता एवं जनप्रतिनिले जनताको भरोसा र आकाङ्क्षा अनुरूप काम गर्न सकिरहेका छैनन् । पार्टीका नेता र जनताबिच आपसी अविश्वास पनि बढ्दै गएको छ । कार्यकर्ता र जनताले निरन्तर त्याग र बलिदान गर्दै आएका भए पनि दलीय नेतृत्व वर्गले निरन्तर अवसर मात्रै लिँदै आएका छन् । यही बहानामा आमजनतामा अनावश्यक आक्रोश बढाएर जनतालाई उत्तेजित बनाउने अनि समाजलाई भाँड्ने र मुलुकलाई दुर्घटनातर्फ धकेलिरहेको स्थिति छ । अराजकतावादी, प्रतिगामी र प्रतिक्रियावादी शक्ति सल्बलाइरहेका छन् । जनतामा व्याप्त यी तमाम निराशा, असन्तुष्टि, अस्थिरता, अन्योल र आर्थिक सङ्कटका विषयमा बुद्धिजीवीले सार्थक पहल नगरे परिस्थिति अझ बिग्रने देखिन्छ । यस्तो अवस्थामा बुद्धिजीवीले सत्य, तथ्य र नेपाली मौलिक ज्ञान र विचारद्वारा समाजको अगुवाइ गरी बिग्रँदो अवस्थालाई समाल्नु पर्छ ।
देशले यतिखेर बुद्धिजीवीबाट अग्रगामी दृष्टिकोण र सही विचार, परिस्थितिको यथार्थ विश्लेषण र तदनुरूपको सूचना सम्पे्रषणको अपेक्षा राखेको छ विडम्बना, कतिपय बुद्धिजीवीले भने व्यक्तिगत स्वार्थ र अवसरका लागि सत्ता वा प्रभावशाली वर्गको पक्षपोषण गर्दै फगत आफ्नो स्वार्थसिद्धिमा केन्द्रित भएको अवस्था भेटिन्छ । कुनै पार्टी, विचारधारा वा गुटप्रति अन्धसमर्थक बन्ने, राजनीतिक दबाब, सामाजिक आलोचना वा आफ्नो स्वार्थका लागि गलत प्रवृत्तिका विरुद्ध बोल्नुपर्ने ठाउँमा नबोल्दा वा भूमिका निर्वाह नगरिदिँदा निष्पक्षता गुमाउँदै गइरहेका छन् । फलस्वरूप समग्र बौद्धिक वर्गप्रति नै आम जनताको आस्था र विश्वास घट्दै जान थालेको छ । यो चिन्तन र प्रवत्तिको अन्त हुनु जरुरी छ ।
बुद्धिजीवी विचार, ज्ञान, अनुभव र विवेकका धनी व्यक्ति हुन् । बौद्धिक कार्यद्वारा समाजलाई रूपान्तरण गर्दै सुसंस्कृत, विकसित र समृद्ध मुलुक बनाउने काममा बुद्धिजीवीको भूमिका महत्वपूर्ण छ । देश र समाजलाई समस्याबाट निकास दिने विचार, तर्क र समाधान प्रस्तुत गर्दै सत्य र यथार्थमा आधारित मार्गदर्शन गर्न बौद्धिक वर्गबाट देश र जनताले महत्वपूर्ण योगदानको अपेक्षा गरेको छ । बौद्धिक वर्ग यो अभिभाराबाट कत्ति पनि विचलित हुनु हुँदैन ।
जनताको निराशालाई आशा र भरोसामा नबदलेसम्म मुलुकको विकास र समृद्धि सम्भव हुँदैन । मुलुकका सङ्कल्प र सपनालाई यथार्थमा परिणत गर्न सके मात्र मुलुक समृद्ध र जनता सुखी बन्न सक्छन् । देश निर्माण केवल सरकार वा दलहरूको मात्र कार्य होइन । समाजमा रहेका अन्धविश्वास, रूढिवाद, सबै किसिमका विभेद र असमानताको अन्त्य गरी देशलाई विकास र समृद्धिमा अगाडि बढाउने र नेपाली मौलिकताको समाजवाद निर्माणको आधार निर्माण गर्ने काममा बुद्धिजीवीले अग्रणी भूमिका निर्वाह गर्नु पर्छ । बौद्धिक कार्यद्वारा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा रहेका समस्या निराकरण गर्ने र देशलाई सामाजिक न्यायमा आधारित विकास र समृद्धि तथा सुशासनतर्फ अगाडि बढाउनुपर्ने दायित्व बुद्धिजीवीको हो । बुद्धिजीवीले आफ्नो ज्ञान, अनुभव र विवेक राष्ट्रहितमा प्रयोग गर्नु पर्छ । उनीहरू मौन होइन, सक्रिय नागरिकका रूपमा राष्ट्रनिर्माण यात्रामा अगाडि बढ्नु पर्छ ।
यतिखेर देशले बुद्धिजीवीबाट अग्रगामी दृष्टिकोण र सही विचार, परिस्थितिको यथार्थ विश्लेषण र तदनुरूपको सूचना सम्पे्रषणको अपेक्षा राखेको छ । राजनीतिक अस्थिरता र खिचातानीको दुश्चक्रबाट देशलाई मुक्त पार्दै विकासको गतिलाई तीव्रता दिने मूल उद्देश्यसहित लोकतान्त्रिक गणतन्त्रको विकास, राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको यात्रामा आमजनतामा आशा जगाउने गरी बौद्धिक वर्गले अभियान चलाउनु नै अहिलेको आवश्यकता हो ।
बुद्धिजीवी जागरूक, निष्पक्ष र उत्तरदायी बन्नु जरुरी छ । सरकार र दललाई सही दिशामा अगाडि बढाउन, दलभित्रका तमाम विकृति विसङ्गति, अराजकता र अनुशासनहीनतालाई समाप्त पार्न र तिनको नीति र नेतृत्व निर्माणकार्यमा बुद्धिजीवीले हस्तक्षेपकारी भूमिका खेल्न सक्नु पर्छ । सरकारले गरेका राम्रा कामका यथार्थ फेहरिस्त जनताका बिचमा सम्प्रषेण गर्ने, सरकारलाई निरन्तर जनमुखी बन्न दबाब दिने र गलत काम गर्नबाट रोक्नु नै बुद्धिजीवीको अहम् भूमिका हो । यी महìवपूर्ण भूमिका निर्वाहमा बौद्धिक वर्ग सक्रिय हुनुपर्ने अपेक्षा मुलुक र सिङ्गो जनताले गरेको छ ।