• १४ पुस २०८२, सोमबार

चितवनको पर्याय ‘हात्ती तथा पर्यटन महोत्सव’

blog

नारायण ढुङ्गाना

काठमाडौँ,  पुस १४ गते । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९ औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’ का रूपमा विकास भएको छ । नेपालमै सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’ लाई अन्य महोत्सवमा दाँजेर हेर्न मिल्दैन । पर्यटक व्यवसायीहरू भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबिचको सम्बन्धसेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको छ ।”

भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवर्धन र वन्यजन्तु संरक्षणको प्रयास थालिएको आज २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तर्राष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमायो । पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन् हुँदै परिमार्जित रूपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । यसपालि पुस ११ शुक्रबारदेखि सुरु भएको महोत्सव हिजो आइतबार सकिएको छ । यसले सौराहामा पर्यटकलाई तानिरहेको छ ।

“यो चितवनकै पर्याय र सौराहाको ब्रान्ड भइसकेको कार्यक्रम हो”, क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वकोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडी भन्नु हुन्छ । उहाँले हात्ती महोत्सवकै कारण यो अफ सिजनमा सौरहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको दाबी पनि गर्नु भयो ।

अहिले क्रिसमको समय हो । अङ्ग्रेजी नयाँ वर्ष संघारमा रहेको छ । यो समयमा आएका पर्यकटहरू क्रिसमस मनाउन आफ्नै देश फर्किन्छन् । विगतमा अहिले जस्तो नेपालमा आन्तरिक पर्यटकको चाप थिएन । पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक आएनन् भने सुनसान हुन्थ्यो । पर्यटकको अफ सिजनमा फर्किन लागेका पर्यटक रोकेर बसाई लम्ब्याउन र नयाँ पर्यटक बोलाउनका लागि यस्ता कार्यक्रम उपयुक्त नै मानिने र यसले पर्यटक प्रवर्धनमा सकारात्मक सन्देश दिएको पर्यटनविज्ञ विश्व सुवेदीको प्रतिक्रिया छ । 

चितवनकै शान हो सौराहामा रहेका हात्ती । विगतमा महत्त्वपूर्ण मानिने टाँगा, घोडाहरू लोप भइसके । यसतर्फ गम्भीर हुन जरुरी छ । हात्तीका गतिविधिले वन्यजन्तु पर्यटनमा ठुलो योगदान पुगेको हात्तीविज्ञ डा कमल गैरे पनि बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, “वन्यजन्तु पर्यटनका लागि हात्ती नभई हुन्न, संरक्षणका लागि पनि हात्ती चाहिन्छ कुनै बाघ, गैँडा बस्तीमा आउँदा हात्ती नै प्रयोग गर्नुपर्छ, त्यसैले पर्यटनसँग हात्तीलाई नजिक्याउनु, सम्बन्ध विस्तार गर्नुले वन्यजन्तु पर्यटनमा महत्त्वपूर्ण टेवा पुग्छ र पुगेको छ, यो हात्ती महोत्सव त्यसैको पर्याय हो ।”

यसरी सुरु भएको थियो हात्ती महोत्सव

क्रिसमसका समयमा सौराहामा पर्यटक शून्य भए । विदेशी पर्यटक नआउँदा र आएका पर्यटक फर्किँदा सौराहा नै सुनसान हुन्थ्यो । सन् २००४ मा हात्ती दौडको सुरुवात गर्ने मध्यका एक क्षेत्रीय होटल सङ्घ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बस्ने नवराज पन्तले हात्ती क्याराभानको प्रस्ताव गर्नु भएका थियो । उहाँले पर्यटक ग्रुप पनि घुमाउन ल्याउने हुँदा सौराहामा धेरै हात्ती देखेपछि उहाँले उक्त प्रस्ताव गर्नुभएको घिमिरेले सुनाउनु भयो । 

त्यसबेला क्षेत्रीय होटल सङ्घका अध्यक्ष हुनु हुन्थ्यो घनयाश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे उहाँहरुसँगै अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर शैंजु, रामकुमार अर्याललगायतबीच छलफल भयो र क्षेत्रीय होटल सङ्घले कार्यक्रम गर्ने निष्कर्ष निकाल्यो । अनि हात्तीको क्याराभान (लस्कर) र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको घिमिरेले सुनाउनुभयो ।अग्रज पर्यटन व्यवसायीहरूको सल्लाह भयो । हात्ती क्याराभान र दौड प्रतियोगिता गर्ने । सन् २००४ बाट उहाँहरूकै अगुवाईमा प्रतियोगिता भए । देश र विदेशका नाम चलेका पर्यटनसँग सम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यावसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरू पुगेका थिए ।

त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाढा, डुङ्गा दौडका कार्यक्रहरू हुन्थे । विभिन्न मुलुकका व्यावसायिक घरानाले स्पोन्सर गरेका हुन्थ्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्रान्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो, जसले देश र विदेशका पर्यटकलाई तान्न पनि सफल भयो । अफ सिजनमा पर्यटक आगमन केही बढाएपछि दौडलाई अझै विकसित गरेर अन्य गतिविधि समावेश गर्न थालियो । सौराहाका व्यवसायीहरूलाई यो थप प्रेरणा भने पश्चिम चितवनको मेघौलीमा टाइगर टप्स होटलले आयोजना गर्ने अन्तर्राष्ट्रिय हात्ती पोलोले पनि दिएको थियो । हात्तीमाथि चढेर पोलोस्टिकले भुइँमा रहेको पोलो बललाई पोस्टमा छिराएर खेलिने पोलो खेलमा देशी र विदेशी पर्यटकको बाक्लो चाप हुन्थ्यो । 

त्यस्तै चाप सौराहामा पनि भित्र्याउनका लागि गरिएको प्रयासमा व्यवसायी सफल भएका थिए । पछि टाइगरटप्स होटल निकुञ्जबाट हट्यो र विस्तारै विभिन्न जिल्लामा सारिएको पोलो बन्द भयो र सौराहामा आयोजना हुने हात्ती महोत्सव कार्यक्रममा पोलो पनि समावेश गरिएको थियो । हात्ती दौडलाई बृहत् बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रूपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो । क्रमैसँग अन्य यस्ता कार्यक्रम थप हुँदै आइरहेको छ । गणेश भगवानका रूपमा यसपालि आज हात्तीको पूजा पनि गरिएको छ ।

हुन त वन्यजन्तु पर्यटनको उत्कृष्ट गन्तव्य हो चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु छ र चितवनको पर्यटक पनि छ । त्यसैले वन्यजन्तुका क्रियाकलाप, उनीहरूका आनीबानी, रहनसहन तथा मौलिक संस्कृति हेर्न पर्यटकहरू यहाँ लालायित हुन्छन् । पर्यटकहरू चितवन र सौराहा घुम्न आउनुको मुख्य चाह नै बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु अवलोकन हो । नेपालमा दुर्लभ एकसिङ्गे गैंडाको मुख्य वास्थान नै चितवन हो ।

विगतमा निकुञ्जभित्र सुविधायुक्त होटल थिए । त्यसबेला पश्चिम चितवनको मेघौलीमा हात्ती पोलो खेल हुन्थ्यो । त्यहाँ पर्यटक भरिभराउ हुन्थ्ये । तर अहिले पोलो रोकियो र पर्यटकहरूको मेघौली आगमन कम भयो । त्यही पोलो पुनः सौराहामा सुरु गरिएको थियो । तर विरोधका कारण बन्द भयो । यसपालि भने मोत्सवमा साङ्केतिक पोलो प्रदर्शनी गरिएको छ । गत वर्ष रोकिएको हात्तीको फूटबल यसपाली पेनाल्टी सुटआउटका रूपमा पुन आयोजना भयो । जसले पर्यटकलाई थप मनोरञ्जन दिएको थियो ।

व्यवसायी : महोत्सव हात्तीमैत्री नै छ

अहिले हात्ती तथा पर्यटक महोत्सव थप वन्यजन्तुमैत्री बनाउँदै आयोजना हुँदै आएको छ । हात्तीलाई दुःख दिएको भन्दै सन् २०१३ बाटै पशु अधिकारकर्मीहरूले हात्ती दौडको विरोधका स्वर उठाउन थालेका थिए । त्यसपछि हात्तीलाई यातना भयो, कुटियो दौडाइयो भनेपछि त्यसको केही वर्षपछि दौड स्थगित गरी हात्ती महोत्सव नाम दिएर हात्तीको वनभोज सुरु भयो । 

हात्तीका छावाबिचको फुटबल सुरु भयो । छावाबिचको फुटबल खुबै रोमाञ्चक भयो । जनावरले पनि मान्छेले जस्तै फुटबल खेल्न थाले । अजङ्गको हात्तीले मान्छेले झैँ गोलपोस्ट ताकेर फुटबल सुट गर्दा पर्यटकहरू लालायित भए । दर्शकले भरपुर मनोरञ्जन लिए । त्यसपछि ब्रान्ड नै छावाको फुटबल भयो । अनि हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज सुरु भयो र अहिले पनि जारी छ ।

विभिन्न रङ र चकले छालामा कोर्दा असर गर्ने भन्दै पशु अधिकारकर्मीहरूले त्यसको पनि विरोध गरे । फूटबलको पनि विरोध भयो । फेरि उनीहरूसँग छलफल गरेर कार्यक्रमलाई थप हात्तीमैत्री बनाउने सहमति भयो । गत वर्ष सहमतिसँगै अनुगमनसमेत गरेर हात्ती महोत्सव आयोजना गरिएको थियो । 

थप हात्तीमैत्री कसरी गर्न सकिन्छ भनेर गत वर्ष सहमति नै गरेर हात्ती महोत्सव आयोजना गरिएको गत वर्षका संयोजक रामकुमार अर्याल स्मरण गर्नु हुन्छ । अनुगमन समिति नै बनाएर काम गरिएको उहाँले बताउनु भयो । विस्तारै यसपाली हात्तीका छावाको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्तीको पूजा गर्ने कार्यक्रमहरू आयोजना भएका छन् । हात्ती पोलोको साङ्केतिक रूप पनि प्रस्तुत गरिएको थियो ।

अहिले हात्ती वनभोज पेनाल्टी सुटआउटको पनि विरोध भइरहनुले विरोधमा पनि गलत नियत जोडिएको दाबी गर्नु हुन्छ क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव महेश खनाल । उहाँ भन्नु हुन्छ, “अधिकारकर्मीहरूले वास्तविकता के हो, हात्तीको दिनचर्चा के हो ? हात्तीको खाना के हो भनेर बुझ्नु पर्छ, उसलाई चलायमान पनि गराउनु पर्छ, एकै ठाउँमा बाँधेर मात्रै राख्न पनि हुन्न, आफ्नो परिवारको सदस्य बच्चादेखि पालेर राखेको हात्तीलाई हान्ने, घोच्ने भन्ने त कुरै आउँदैन ।”

कार्यक्रमकै कारण अहिले सौराहामा पर्यटकहरूको राम्रै उपस्थिति भएको हात्ती महोत्सव संयोजक गुणराज थपलिया बताउनु हुन्छ । “कुनै पनि क्रियाकलाप हात्तीमैत्री भन्दा बाहिर छैन, हामी व्यवसायीले करोडौँ लगानी गरेर आफ्नै सदस्य सरह पालिएको हात्तीलाई यातना दिने भन्ने कुरा कल्पना गर्नै सकिँदैन”, उहाँले भन्नुभयो, “आएका पर्यटकहरू हात्तीसँगै नजिक हुन, हात्तीका क्रियाकलाप हेर्न, तस्बिर लिन, हात्तीसँग रमाउन चाहन्छन्, पर्यटककै चाहनामा महोत्सव भइरहेको छ, तर विरोध हुनु विडम्बना र अर्थहीन छ ।” हात्ती महोत्सवको विरोध गर्दै आउनु भएका पशु अधिकारकर्मी सुराजन श्रेष्ठ बाहिर देखिँदा रमाइलो देखिए पनि महोत्सवभन्दा पछाडि भने यातना दिने गरेको पाइएपछि हात्तीको अधिकारका लागि आवाज उठाएको बताउनु हुन्छ । 

सामाजिक सञ्जालमा उहाँले राख्न्नु भएको एक भिडियो सामग्रीमा भन्नु भएको छ, “हात्ती भएर सौराहाको पर्यटकलाई सहयोग पुगेको छ, हात्तीको महत्त्व पनि ठुलो रहेको छ, हात्ती छ र सौराहामा पर्यटक छ भन्नेमा सहमत छु तर हात्तीलाई क्रुर व्यवहारले पर्यटन दिगो हुँदैन, त्यसैको विरोध हो हाम्रो ।” उहाँहरूकै विरोधले हात्ती महोत्सवमा हात्तीको उपयोगका कार्यक्रमलाई परिमार्जन गर्दै थप हात्तीमैत्री बनाउँदै आइएको कुरा यथार्थ हो । क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष दीपक भट्टराई प्रत्यक्ष आएर अवलाकेन गरेपछि सबै कुरा थाहा पाइने भएकाले विरोध गर्नु पूर्व हेर्नका लागि अनुरोध गर्नु हुन्छ । 

“विगतमा हात्तीलाई तालिम दिँदा विभिन्न गतिविधिमा हात्तीको अधिकार हनन भएको भन्ने कुरा ठिकै होला तर अहिले व्यवसायीहरू यति सचेत भइसकेका छन् की हात्तीमैत्री छ र सुधार भइसकेको छ”, पर्यटकविज्ञ सुवेदी भन्नुहुन्छ, “राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि पनि हात्ती ट्रेकिङ नभई हुन्न । तर व्यवस्थापनमा समस्या छ भने सुधारौँ, कार्यक्रमहरू रोकिनु हुन्न, नत्र हात्ती लोप होला भन्ने डर हुन्छ ।”

३० वर्षसम्म हात्तीको रेखदेख र उपचार गर्नुभएका हात्ती चिकित्सक तथा हात्तीविज्ञ डा कमल गैरे मान्छेलाई त व्यायाम चाहिन्छ, बिहान मर्निङ वाक गर्नुपर्छ, हात्तीका लागि सामान्य खेल खेलाउनु उनीहरूको स्वास्थ्यका लागि नै राम्रो कुरा भएको प्रतिक्रिया दिनु हुन्छ ।

उहाँले भन्नुभयो, “यातना दिनु हुन्न सही कुरा हो, तर सौराहामा त्यसरी यातना दिएर हात्तीका गतिविधि देखाइएको मैले फेला पारेको छैन, अहिलेको अवस्थामा विरोध गर्नु भनेको वन्यजन्तु पर्यटक देख्न नसक्नेहरूको काम हो ।” कोभिडका समयमा केही वर्ष रोकिए पनि यो कार्यक्रम भने निरन्तर भइरहेको छ । रासस