• १२ साउन २०८१, शनिबार

बिउ उत्पादन तथा प्रविधिका बारेमा किसानलाई तालिम

blog

काठमाडौँ, जेठ २० गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तरकारी बालीको बिउ उत्पादन तथा वर्णशङ्कर प्रविधिसम्बन्धी किसानलाई तालिम दिइरहेको छ । 

नार्क अन्तर्गतको राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले किसानलाई अवासीय तालिम दिइरहेको छ । सात दिनसम्म चल्ने सो तालिम नार्कको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको सभा हलमा दिइरहेको छ । जेठ १६ गतेदेखि सुरु भएको तालिमको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले गर्नुभएको थियो । 

उद्घाटन गर्दै निर्देशक श्रेष्ठले तरकारीमा नयाँ नयाँ प्रविधि तथा भेराइटीको विकास भएको छ, त्यसलाई प्रयोग गरी धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने विषयमा तालिमले जानकारी गराउने बताउनुभयो । व्यावसायिक तरकारीबालीको नवीनतम बिउ उत्पादन प्रविधिबारे देशभरबाट छानिएर आउनुभएका कृषकले प्रशिक्षण पाउने र भोलिका दिनमा आआफ्नो ठाउँमा सम्भावना भएका बालीको बिउ उत्पादनमा समेत संलग्न हुन सक्ने विश्वासका साथ यो तालिमको सुरुवात गरिएको राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख डा. टीकाराम चापागाईंले बताउनुभयो । 

तरकारीका विभिन्न जातको विकास भएका कारण त्यसलाई प्रयोगमा ल्याउन किसानमा चुनौती थपिएको बताउँदै उहाँले वर्णशङ्कर प्रविधिबाट बिउ कसरी उत्पादन गर्ने त्यसका बारेमा जानकारी गराइने बताउनुभयो । तालिममा देशभरबाट २० जना किसान सहभागी भएका छन् । तालिमका लागि १५० वटा निवेदन परेको थियो । त्यसमध्ये तरकारीको व्यावसायिक खेतीमा लागेका २० जना किसानलाई छनोट गरिएको हो । तालिम जेठ २२ गतेसम्म सञ्चालन हुने बताइएको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाई, राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख जानुका पण्डित, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्रीप्रसाद विष्टलगायतले समेत आआफ्नो धारणा राख्नुभएको थियो ।