• ११ मंसिर २०८१, मङ्गलबार

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट ९०१ ले पाए सेवा

blog

स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, जेठ १७ गते ।
सदरमुकाम चरीकोटस्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट पुरुष २८३ र महिला ६१८ गरी कुल ९०१ जनाले सेवा लिएका छन् ।

३० वर्षमाथिकाको नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचारसम्बन्धी निःशुल्क कार्यक्रमबाट उनीहरु लाभान्वित भएका अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालको नियमित स्वास्थ्योपचारलाई बाधा नपर्ने गरी बुधबार र बिहीबार बिहान ९ देखि ११ बजेसम्मको कार्यतालिका बनाइएको थियो । दिनमा २० जनाको परीक्षण हुने गरेको छ । स्वास्थ्य परीक्षण गरिएका मध्ये मुटुका १८, श्वासप्रश्वासका १४, सुगरका २१ र अन्य १७ मा रोग भेटिएको छ ।

प्राप्त १८ लाख रुपियाँको बजेट नसकिन्जेल कार्यक्रम जारी रहने पनि उहाँले जानकारी दिनुभयो । यो कार्यक्रम होल बडी चेकअप होइन । यसमा मुटुको इसिजी, छातीको एक्सरे, कलेजोको एलएफटी, मिर्गौलाको आरएफटी, बोसोको लिपिड प्रोफाइल र दिसापिसाबको मात्र परीक्षण गरिने अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।