• ११ मंसिर २०८१, मङ्गलबार

१५ हजारभन्दा बढी बालबालिकालाई आइपिभी खोप

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ १७ गते । सिन्धुली जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोप १५ हजारभन्दा बढी बालबालिकालाई लगाउने तयारी गरिएको छ ।

जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोप अभियानअन्तर्गत जेठ २० देखि २५ गतेसम्म १५ हजार ८४० जना बालबालिकालाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाका नौ वटै पालिकामा एकै पटक उक्त खोप अभियान सञ्चालन गरिने कार्यालयका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार ती बालबालिकालाई ६५८ वटा खोप केन्द्रबाट खोप लगाइने छ ।

खोप लगाउनका लागि जिल्लामा एक हजार ३१६ जना स्वास्थ्यकर्मी र स्वयंसेवकलाई परिचालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । विगतमा आइपिभी खोप लगाउन छुटेको कारण पोलियो रोगको जोखिममा रहेका बालबालिकालाई पोलियो रोगबाट सुरक्षित गराउन यो खोप लगाउन लागिएको हो ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत २०७३ वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई ६५८ वटा खोप केन्द्रबाट खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।