• ८ असार २०८१, शनिबार

बरन्जामा धुमधाम धुलेमेला

blog

गत वर्षको धुलेको मूल दिनमा होरे नाच नाच्दै ।

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १७ गते । मङ्गला गाउँपालिकाको बरम्जा क्षेत्रमा मनाइने धुलेमेलाको औपचारिक मुख्य विधि मङ्गलबारदेखि सुरु भएको छ । जेठ ८ गते आफ्नो पौराणिक विधि पूरा गरी जाँड राखेपछि धुलेमेला थालनी हुन्छ । 

धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाका अनुसार धुलेको मुख्य विधि तीन दिनसम्म हुने गर्दछ । मङ्गलबार अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृलाई चढाएपछि बरन्जाको धुलेमेला मान्ने समुदाय बसोबास भएको क्षेत्रमा खेतीपातीका काम बन्द गर्ने (बार्ने) गरिन्छ । मङ्गलबार पितृ चढाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य विधि गरेर होरे गरेपछि यस वर्षको धुले औपचारिक रूपमा समापन हुन्छ । त्यसपछि खेतीपातीको काम खुल्छ । मङ्गलबार पितृ चढाएपछि नुहाउने, धुने तथा घरबाहिरको खनजोत जस्ता कार्य गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने गरिन्छ ।

यस क्षेत्रकै सबैभन्दा पुरानो पर्व धुलेमेला मङ्गला गाउँपालिका–३ र ४ बरन्जा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया मगरको आफ्नो मौलिक संस्कार हो । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई बिहीबार सकिने धुले १५ गते मङ्गलबारबाट सुरु भएको हो । मङ्गला गाउँपालिका–४, बुकेनीका बुद्धिबहादुर घर्तीका अनुसार बरन्जा क्षेत्रमा तत्कालीन समयमा आएका ५४ घर कुरिया मगरले विसं १३१२ मा बरन्जाको थर्पुमा कोतघर निर्माण गरेसँगै धुलेमेला मनाउन थालेको तथ्य भेटिएको छ । १३ औँ शताब्दीदेखिको यो परम्परागत पर्व अहिले पनि मनाउँदै आइएको उहाँको भनाइ छ । 

धुलेमेला पितृ उद्धारका लागि हरेक वर्ष गरिने र मेलापछि पितृ खुसी हुने धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाइ छ । प्राचीनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरु भएको मेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रूपमा निरन्तरता दिएको उहाँको भनाइ छ । बरन्जा क्षेत्रमा ५४ कुरिया मगरको बस्ती विस्तारसँगै राम्जाली रोका, बझाङी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राई घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौ थरका पुर्खा मिलेर घुम्दै हतियार धनुष वाँण बोकेर जङ्गली जनावरको सिकार गर्दै तरुल, भ्याकुर खोजेर खाँदै आफ्ना परिवारसहित बरन्जामा पुगेपछि बस्नका लागि उपयुक्त स्थान देखेपछि त्यही क्षेत्रमा बसाइँ बसेको हुन सक्ने उनीहरूको अनुमान छ ।

धुलेमेलाको समयमा मेला तथा पूजा हुने कोतभन्दा केही टाढा अन्य समुदाय पनि जान पाइन्छ तर कोतघर नजिक ५४ कुरियाबाहेकका अन्यलाई जान निषेध गरिन्छ । महेन्द्ररत्न आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र रोकाका अनुसार बरन्जाका घर्ती, रोका, बुढाथोकी र पुनमगर समुदायका ५४ घरधुरीले आफ्नो क्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामकरण भएको मान्न सकिन्छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचीनकालको सुन्दर उपहार भएको बताउनुभयो । 

अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोतघरभित्रका पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ धुलेमेला समापन हुन्छ । धुलेमेलाका माकुर बा अर्थात् जसवीर घर्तीको वैशाखमा लडेर मृत्यु भएको थियो । उहाँले १४ वर्षको उमेरदेखि धुलेको मूल दिनमा माकुरको भूमिका निर्वाह गर्न थाल्नुभएको थियो । अब नयाँ माकुर बन्ने छन् । धनुकाँड समातेर दर्शकलाई मनोरञ्जन गर्दै आफ्नो पितृकार्य पनि गर्ने कार्यलाई धुलेमा माकुर भन्ने धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रोकाले जानकारी दिनुभयो ।