• १२ असोज २०८१, शनिबार

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबिच सहकार्य

blog

काठमाडौँ, जेठ १६ गते । नेपाल प्रहरी अस्पताल महाराजगन्ज र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबिच न्युरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह र प्रमुख कार्यकारी अधिकृत गुरुङले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । यस समझदारीबाट बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्युरोसम्बन्धी उपचारमा थप सहजता हुने उहाँले बताउनुभयो ।


प्रहरी महानिरीक्षक कुँवरले समझदारीलाई कागजको दस्ताबेज मात्र नभई उपलब्धिमूलक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । दुवै निकायको समन्वय र सहकार्यबाट दुवै पक्षलाई लाभ हुने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामुखी काममा हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले फाउन्डेसनलाई समझदारी योग्य सम्झेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने बताउनुभयो । उक्त अस्पताल तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले समझदारी अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्युरो क्षेत्रमा विकास गर्न सहयोग गर्नुको साथै सम्बन्धित विषयमा तालिम दिन समेत फाउन्डेसन तयार रहेको उल्लेख गर्नुभयो ।


उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई औषधी र कन्जुमेवल आइटम बाहेक ओपिडी, बेड भर्ना, अप्रेसन लगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्युरो अस्पतालले लिने उल्लेख गरिएको छ । साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्युरो अस्पतालले स्विकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता २०८१ जेठ १६ गतेदेखि कार्यान्वयन भई ५ वर्ष अवधिको लागि लागू हुनेछ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।