• १२ साउन २०८१, शनिबार

गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त

blog

विद्युत नियमित गर्न काममा खटिएका नेपालगन्ज वितरण केन्द्रका कर्मचारी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १६ गते। देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित नेपालगन्जमा केही दिनयता यस वर्षकै सबैभन्दा बढी गर्मी भएको जल तथा मौसम विभाग कार्यालय कोहलपुरले जनाएको छ।  

मौसम विभागका कार्यालयका प्रमुख रामविकेश रायले नेपालगन्जमा मंगलवार यो वर्षकै सबैभन्दा बढी अर्थात ४१.६ डिग्री तापक्रम पुगेको बताउनुभयो। उहाँले जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकोले बुधवार, बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने सम्भावना रहेकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो। 

जेठ १८ गतेसम्म तापक्रम ४३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको जनाउँदै जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रायले बुधबार तापक्रम ४२ डिग्री नाघ्ने सम्भावना रहेको अनुमान गर्नुभयो।

जल तथा मौसम विभाग कार्यालय कोहलपुरका अनुसार आइतबार नेपालगन्जको अधिकतम तापक्रम ४०.५ डिग्री, सोमवार १४ गते ३९.९ डिग्री र मङ्गलबार ४१.६ डिग्री पुगेको थियो। 

अत्यधिक गर्मीका कारण बाँकेमा सबैभन्दा बढी प्रभावित मजदुर, रिक्साचालक र खुला ठाउँमा काम गर्ने भएका छन्। चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन्। 

नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. आसिम किदवाईले गर्मी बढ्दा र तातो हावा लु चलिरहेकोले बढी भन्दा बढी पानी खान आग्रह गर्दै झोलिलो खानेकुरा बढी खान तथा अनावश्यक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। 

गर्मीमा विद्युत नियमित नहुँदा आमनागरिक ठुलो सास्ती खेप्न बाध्य भएका छन्। प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र धेरैबेरसम्म नआउने हुँदा स्थानीय सास्ती खेप्न बाध्य भएका छन्। 

बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन समस्यामा परेको नेपालगन्जका हेमन्तराज काफ्लेले बताउनुभयो।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गतसाता आएको हावाहुरीले २५० बढी पोल ढलेपछि समस्या भएको बताउनुभयो। साता आएको हावाहुरीले ठुलो क्षति पुगेपछि विद्युत वितरणमा समस्या भएको उहाँको भनाइ छ।