• १३ साउन २०८१, आइतबार

स्मार्ट ट्राफिक लाइट जडान

blog

स्मार्ट ट्राफिक लाइट । फाइल तस्बिर

काठमाडौँ, जेठ १५ गते । सरकारले काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालको लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने छ । 

सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा क्र्यास व्यारियरको निर्माण गरिने उल्लेख छ । अर्थमन्त्री पुनले भन्नुभयो, “सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइनेछ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड र कमला-कञ्चनपुर सडकखण्डलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ । काँकड़भिट्टा-लौकही, कमला-ढल्केवर-पथलैया, पथलैया-नारायणघाट, बुटवल-गोरुसिङ्गे र भालुबाङ्ग-लमही सडक खण्ड स्तरोन्नति कार्य शुरु गरिनेछ । पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको छु ।”

काठमाडौं-तराई मधेश द्रूतमार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ मार्ग निर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिइने छ । काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्जे-आरुघाट सडक खण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गरिने छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि तीन अर्ब ६८ करोड विनियोजन गरिएको छ ।

हुलाकी राजमार्गअन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न तीन अर्ब ३० करोड विनियोजन गरिएको छ । सरकारले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइने जनएको छ । त्यस्तै दिगो तथा वातावरण मैत्री यातायात प्रणालीको विकास गरिने भएको छ । सडक दूर्घटनाबाट घाइते व्यक्तिको उपचारका लागि प्रदान गरिने रकम र सडक दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई दिइने क्षतिपूर्ति रकम वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । रासस