• ९ असार २०८१, आइतबार

स्वास्थ्यमा ४.६४ प्रतिशत बजेट : कुन शीर्षकमा कति ?

blog

फाइल तस्बिर

सिर्जना खत्री

काठमाडौं, जेठ १५ गते। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल बजेटको ४.६४ अर्थात ८६ अर्ब २४ करोड विनियोजन गरेको गरेको छ। 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदनमा आगमी आर्थिक  वर्ष २०८१/८२ को बजेट प्रस्तुत  गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८६ अर्ब २४ करोड (कुल बजेटको ४.६६) बजेट विनियोजन गरेको जानकारी दिनुभयो। 

मन्त्री पुनले आधारभूत स्वास्थ्यका लागि १५ अर्ब ४१ करोड, विपन्न नागरिकको उपचारको लागि तीन अर्ब, ९८ प्रकारका औषधी तथा खोप र प्रजनन स्वास्थ्यसम्बन्धी सामग्री निःशुल्क उपलब्ध गराउन एक अर्ब ४३ करोड रकम विनियोजन गर्नुभएको छ। 

आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि तीन अर्ब छ करोड , संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन र सेवा उपलब्ध गराउने भएको छ।  

क्यान्सर, मेरुदण्ड र पक्षघात रोगको उपचार, मिर्गौला प्रत्यारोपण र डायलाइसिस सेवा लिइरहेका बिरामीलाई औषधी उपचार खर्च बापत दिँदै आएको प्रतिव्यक्ति प्रति महिना  पाँच हजार व्यवस्था गर्न सरकारले दुई अर्ब रकम विनियोजन गरेको मन्त्री पुनको भनाइ छ। 

वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड, स्वास्थ्य बीमा कार्यक्रम विस्तारको लागि  सात अर्ब ५० करोड विनियोजन गरेको छ। वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गर्ने, कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गर्ने, भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गर्ने, नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चालन गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ।  

आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरण सम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गर्ने,  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने उहाँले जानकारी दिनुभयो। 

त्यसैगरी, कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा र गजेन्द्रनारायण सिंह अस्पतालको क्षमता विकास गरी ५०० शैय्यामा स्तरोन्नती गर्न, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट छुट्टयाएको उहाँको भनाइ छ।  

सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो।  

तीन सय शैय्या वा सोभन्दा बढी क्षमताका संघीय अस्पतालमा एमबिबिएस र सय शैय्या वा सोभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङ्गसम्बन्धी शैक्षिक कार्यक्रम क्रमशः सञ्चालन गर्दै लगिने बजेटमा उल्लेख छ। आगामी आर्थिक वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।