• २४ वैशाख २०८१, सोमबार

गठबन्धनमा तालमेल, एमालेमा उम्मेदवारको टुङ्गो

blog

बागलुङ, वैशाख १२ गते । बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । भागवण्डा सकेका गठबन्धनमा सहभागी राजनीतिक दलले अब आ–आफ्नो पार्टीको आन्तरिक निर्णयबाट उम्मेदवार छनोट गर्नेछन् । 

 नेपाली काँग्रेसलाई छ, नेकपा माओवादी केन्द्रलाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको हो । काँग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओबादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताउनुभयो ।     

माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुख पाएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ । 

बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उप–प्रमुखमा पाएको छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओवादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उप–प्रमुख पाएको शर्माले बताउनुभयो । 

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली काँग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको छ । वडा अध्यक्ष तथा वडा सदस्यको बाँडफाँट पनि भएको छ । जिल्ला समन्वय समिति समेत बाँडफाँट गरेपछि गठबन्धनको बैठक निष्कर्षमा पुगेको हो । जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएको हो । 

एमालेकाे दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो 

यता, नेकपा एमालेले दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पालिका कमिटीले गरेको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको हो । 

एमाले बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपालीका अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा जनकराज पौडेल र उप प्रमुखमा पवित्रा रोका उमेद्वार तोकिएको छ । पौडेल पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुख बन्नुभएको थियो ।   

एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाई उम्मेदवारर बनाउने निर्णय गरेको छ ।  ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली र करमती पुनलाई एमालेले दोहोराउने भएको छ । बागलुङका बाँकी पाँचवटै स्थानीय तहमा यस  अघि नै उम्मेदवारको टुङ्गो लागेको थियो ।