बागलुङ, वैशाख २५ गते । बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमि हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिति जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालीन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना बेपत्ता छन । कुटाई पिटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । द्वन्द्वकालीन अवस्थामा होस् या शान्ति प्रक्रियापछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी हुनुभएको थियो । ताराखोला गाउँपालिकाको उपस्थिति शान्ति प्रक्रियापछिको ‘ब्यालेट’ आन्दोलन मात्र होइन तत्कालीन ‘बुलेट’ आन्दोलनमा पनि त्यस क्षेत्रका ऊर्जाशिल युवा परिवर्तनको आन्दोलनमा सहभागी भएका थिए । राज्य व्यवस्था र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएका कति व्यक्ति सहिद बने कति घाइते अपाङ्ग भएर जीवन बाँच्न बाध्य छन् । माओवादी आन्दोलनमा जीवन समर्पित गर्ने धेरै योद्धामध्ये एउटा नाम हो धनबहादुर विक ‘हिमाल’ । युद्धकालीन अवस्थामा लडाकु मोर्चा हुँदै राजनीतिक मोर्चाको जिम्मेवारी लिनुभएको धनबहादुर विकलाई एकीकृत माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ताराखोला गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा विक भेटघाटमा व्यस्त हुनुहुन्छ । शरीरमा गोली बोकेर जनताको घरघरमा पुग्ने मत माग्दै हुनुहुन्छ । वि।स २०६० वैशाख ७ गते म्याग्दीको बेनी आक्रमणको क्रममा विक घाईते हुनुभएको थियो । त्यस बेला बायाँ हातमा लागेको गोली उहाँको शरीरमै छ । तत्कालिन अवस्थामा स्वास्थ्य उपचारको अभावले शरीरमै गोली लिएर बाँच्नु परेको विकको भनाइ छ । शान्ति प्रक्रियापछि उपचार गर्दा डाक्टरले अप्रेशन गरेर गोली निकाल्दा शरीरमा थप क्षति हुने बताए पछि गोली बोकेर हिँड्न बाध्य हुनुपरेको हो । गोली निकाल्दा रक्तसञ्चार अवरुद्ध हुन सक्ने डाक्टरले सुझाएको विकले बताउनुभयो । ‘धेरै चिसो र धेरै गर्मीको बेला खपि नसक्ने दुःख’ विकले भन्नुभयो– ‘परिवर्तन लागि समर्पित हुँदा जीवनभरको लागि दुखाई भोग्न परेको छ ।’ बेनी आक्रमणको विहानपख नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली लागेको थियो । आक्रमणको मोर्चामा विकले राजनीतिक तथा घाईते उद्धारको जिम्मेवारी पाउनुभएको थियो । घाइते साथीलाई उद्धार गर्दा गोली लागेको विकले बताउनुभयो । हेलीमार्फत प्रहार भएको गोली लागेर विकसँगै रहेका दश जना माओवादी कार्यकर्ताको घटनास्थलमै निधन भएको थियो । वि।स २०५५ सालमा म्याग्दी हुँदै बागलुङको पश्चिम क्षेत्रमा जाँदै गर्दा आफैले बोकेको बन्दुक पड्किँदा विकको दायाँ खुट्टामा गोलीको छर्रा लागेको थियो । जसको कारण अहिले पनि सामान्य अवस्थामा हिँड्डुल गर्न कठिन छ । उकालो ओरोलो गर्दा खैचकखैचक गर्नुपर्ने बाध्यता छ । आन्दोलनमा सहभागी हुँदा विकले व्यक्तिगत मात्र होईन पारिवारक क्षति पनि भोग्नु पर्यो । माओवादी आन्दोलनमा सहभागी विकको दाइकी छोरी लक्षिम विक ‘हिक्मता’ले दोहोरो भिड्न्तमा ज्यान गुमाउनुभयो । आन्दोलनमा सहभागी भएकै कारण तत्कालिन राज्य पक्षले विकको घरमा ‘बम प्लास्ट’ घर ध्वस्त बनाउनुका साथै परिवारका सदस्यलाई शारीरिक तथा मानसिक यातना भोग्नुपरेको थियो । जनमिलिसिया, राजनीतिक मोर्चा, निर्माण विभाग, दलित मोर्चा हुँदै राजनीतिक नेतृत्व गर्नुभएको विक हाल माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । ताराखोला गाउँपालिकाको स्रोत साधनको उच्चतम प्रयोग गरी गाउँमै रोजगार सिर्जना गर्ने, कृषि उत्पादनलाई व्यवसायिक बनाउने, जलविद्युत, शिक्षा, स्वास्थ्य तथा सडक क्षेत्रको व्यापाक सुधार गर्ने उहाँले योजना सार्वजनिक गर्नुभएको छ । जनप्रतिनिधिले पाउने आर्थिक सुविधा नलिने घोषण गर्नुभएको छ । विकको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता प्रकाश घर्ती हुनुहुन्छ । घर्तीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पहिलो निर्वाचनमा घर्ती माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा विक नै घर्तीको चुनावी ‘कमाण्ड’ सम्हाल्नुभएको थियो । पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली काँग्रेस चुनावी एकतामा रहेको हुँदा निर्वाचन सहज आँकलन गरिएको थियो । आफ्नै पार्टी नेतृत्व सदस्य बागी उम्मेदवार उठेपछि निर्वाचन चुनौतीपूर्ण हुने आँकलन गरिएको छ । घर्तीले पार्टी विधान विपरित उम्मेदवारी दिएको हुँदा प्रदेश कमिटीले कारर्वाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । माओवादीको आधिकारिक उम्मेदवारसँग राजनीतिक सुझबुझ, दरिलो जनसंगठन, र विकास र समृद्धिको स्पष्ट योजना भएको हुँदा आधिकारिक उम्मेदवारले निर्वाचन जित्ने माओवादी गाउँ कमिटी अध्यक्ष पदम खत्रीको दावी छ ।
बागलुङ, वैशाख १२ गते । बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । भागवण्डा सकेका गठबन्धनमा सहभागी राजनीतिक दलले अब आ–आफ्नो पार्टीको आन्तरिक निर्णयबाट उम्मेदवार छनोट गर्नेछन् । नेपाली काँग्रेसलाई छ, नेकपा माओवादी केन्द्रलाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको हो । काँग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओबादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताउनुभयो । माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुख पाएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ । बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उप–प्रमुखमा पाएको छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओवादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उप–प्रमुख पाएको शर्माले बताउनुभयो । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली काँग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको छ । वडा अध्यक्ष तथा वडा सदस्यको बाँडफाँट पनि भएको छ । जिल्ला समन्वय समिति समेत बाँडफाँट गरेपछि गठबन्धनको बैठक निष्कर्षमा पुगेको हो । जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएको हो । एमालेकाे दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो यता, नेकपा एमालेले दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पालिका कमिटीले गरेको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको हो । एमाले बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपालीका अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा जनकराज पौडेल र उप प्रमुखमा पवित्रा रोका उमेद्वार तोकिएको छ । पौडेल पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुख बन्नुभएको थियो । एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाई उम्मेदवारर बनाउने निर्णय गरेको छ । ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली र करमती पुनलाई एमालेले दोहोराउने भएको छ । बागलुङका बाँकी पाँचवटै स्थानीय तहमा यस अघि नै उम्मेदवारको टुङ्गो लागेको थियो ।