• ३ असार २०८१, सोमबार

सञ्चार सचिवद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी । फाइल तस्बिर

काठमाडौँ, जेठ १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गणतन्त्र दिवस-२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रर्दशनीको अवलोकनका क्रममा उहाँले मुलुकमा पूर्वाधारका क्षेत्रमा उल्लेख्य प्रगति हुँदै गइरहेको बताउनुभयो । उहाँले मुलुकका सबै भूगोलका विभिन्न विधाका तस्बिर प्रदर्शनीमा राखिँन्दा सकारात्मक सन्देश दिएको प्रक्रिया दिनुभयो । “तस्बिर प्रदर्शनी निकै राम्रो छ”, उहाँले भन्नुभयो । सचिव सुवेदीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नायब महाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रधान सम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीन वटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । वि.सं.२०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनः निर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । 

सात वटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ-मधेस द्रुतमार्ग, थानकोट-नागढुङ्गा सुरुङमार्ग, सुनकोशी-मरिण डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन् । रासस