• ४ असार २०८१, मङ्गलबार

पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यू गिनीद्वारा राष्ट्र सङ्घलाई जानकारी

blog

पोर्ट मोरेस्बी (पपुवा न्यूगिनी), जेठ १४ गते । पपुवा न्यु गिनीले संयुक्त राष्ट्रसङ्घलाई सोमबार एङ्गा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा शुक्रबार गएको भीषण पहिराेमा परी मृत्यु भएका व्यक्तिको सङ्ख्या दुई हजारभन्दा बढी रहेको जनाएको छ । उनीहरू पहिरोमा पुरिएको बताइएको छ ।

देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३ बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका छन् ।

मुङ्गालो पर्वतको एउटा ठुलो भाग भत्किँदा सयौं घरहरू पुरिएपछि ठुलो सङ्ख्यामा स्थानीयको मृत्यु भएको हो । पहिरोले भवन, खाद्यान्न बगैँचामा ठुलो क्षति पुर्‍याएको र यसले मुलुकको अर्थतन्त्रलाई नै ठुलो असर पारेको विपद् कार्यालयले जनाएको छ ।

पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग ‘पूर्ण रूपमा अवरुद्ध’ भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख गरिएको छ ।

“भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका लागि निरन्तर खतरा उत्पन्न गरेको छ,” उहाँले भन्नुभयो ।

पत्रमा पपुवा न्यु गिनीका विकास साझेदार र अन्य अन्तर्राष्ट्रिय मित्रलाई पछिल्लो अवस्थाबारे जानकारी दिन संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरिएको छ । विपद् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन आग्रह गरिएको छ । रासस/एएफपी