• १० मंसिर २०८१, सोमबार

औसत आयुमा कर्णालीको फड्को

blog

कर्णालीका प्रमुख दुई विशेषता हुन्, गरिबी र पिछडिएको क्षेत्र । बर्सौंदेखि सिंहदरबारले कर्णालीलाई यसै गरी देख्दै आएको छ । कतिसम्म भने कुनै कर्मचारीलाई सजाय दिनुपरेमा सरुवा गरी कर्णाली पठाउने कर्मचारीतन्त्रमा थेगो नै छ । पछिल्लो समय कर्णालीमा राजधानीलाई नै चुनौती दिने गरी खुसी थपिएको छ, उच्च औसत आयुले । कर्णालीमा बसोबास गर्ने नागरिकको औसत आयु सबैभन्दा धेरै ७२.५ वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २३ वैशाखमा सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना, २०७८’ को जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकमा कर्णालीको औसत आयु सबैभन्दा धेरै भएको उल्लेख छ । बाल र शिशु मृत्युदर पनि अन्य प्रदेशको तुलनामा कर्णालीमा न्यून छ । प्रतिहजार जीवित जन्मिएका शिशुमध्ये १७ जनाको मृत्युु हुने गरेकोमा कर्णालीमा १४ जना मात्रै मर्ने गरेको पाइन्छ । यसै गरी, बाल मृत्युदर पनि कर्णालीमा प्रतिहजारमा छ जना मात्रै छ । 

यो परिवर्तनको पछाडिका कारणमा बदलिँदो जीवनशैली, खानपान, स्वास्थ्यमा पहुँचलगायत त हुन् नै । यसबाहेक अर्को प्रमुख कारण बदलिएको भौगोलिक संरचना पनि हो । २०६८ मा जनगणना हुँदा कर्णाली अञ्चलमा हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु गरी पाँच जिल्ला थिए । २०७८ को जनगणनामा कर्णाली प्रदेशको भूगोलमा सल्यान, जाजरकोट, दैलेख, सुर्खेत र रुकुम (पश्चिम भाग) गरी पाँच जिल्ला थपिएका छन् । कर्णालीको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ मध्ये चार लाख १५ हजार १६२ सुर्खेतको मात्रै छ । यसरी सुर्खेतको ठुलो जनसङ्ख्याले सिङ्गो कर्णालीको औसत आयु बढाउन मद्दत गरेको देखिन्छ । कर्णालीकै हाराहारीमा बागमती प्रदेशको सरदर आयु ७२.४ वर्ष छ भने सबैभन्दा कम लुम्बिनी प्रदेशमा ६९.५ वर्ष मात्रै छ । हुन त प्रतिवेदनमा समग्रमा नेपालीको औसत बाँच्ने आयु नै बढेको देखाइएको छ । जस अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । २०६८ मा वार्षिक जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा अहिले घटेर ०.९२ प्रतिशतमा झरेको छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा पनि तल रहेको यो अवस्था नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । 

तुलनात्मक अध्ययन 

तागतिलो खानेकुरा, बिरामी हुँदा औषधीको उचित व्यवस्था, स्वास्थ्य क्षेत्रमा आएको सुधार अनि जन्मनेबित्तिकै मर्ने बालबालिकाको सङ्ख्यामा आएको कमीले नेपालीको औसत आयु बढेको हो । औसत आयु बढ्नु भनेको देशको समग्र आर्थिक, सामाजिक जीवनस्तरमा सुधार हुनु पनि हो । पछिल्लो तीन दशकमा उल्लेख्य सुधार भएकै कारण नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको हो । जबकि ४० वर्षअघि २०३८ सालको जनगणनामा नेपालीको औसत आयु मात्र ४९.८ वर्ष थियो । त्यसपछिका वर्षमा क्रमशः बढेर २०४८ मा ५४.३ वर्ष, २०५८ मा ६०.४ वर्ष र २०६८ मा ६६.६ वर्ष पुगेको थियो । ४० वर्षअघिको तुलनामा नेपाली महिलाको औसत आयु २५.७ वर्ष र पुरुषको औसत आयु १७.३ वर्ष बढेको छ । २०३८ को जनगणनामा नेपाली महिलाको औसत आयु ४८.१ वर्ष र पुरुषको औसत आयु ५०.९ वर्ष थियो । अर्थात् उक्त वर्ष नेपाली महिलाको तुलनामा पुरुषको औसत आयु २.८ वर्ष बढी थियो । अहिले महिलाको औसत आयु बढेको छ । पुरुषको तुलनामा महिलाको औसत आयु ५.६ वर्ष बढी रहेको तथ्याङ्क छ । जस अनुसार महिलाको औसत आयु ७३.८ वर्ष पुगेको छ भने पुरुषको ६८.२ वर्ष । जबकि २०३८ मा महिलाको औसत आयु ४८.१ वर्ष हुँदा पुरुषको औसत आयु ५०.९ वर्ष, २०४८ मा महिलाको ५३.५ वर्ष हुँदा पुरुषको ५५ वर्ष थियो । २०५८ पछि भने पुरुषको तुलनामा महिलाको औसत आयु बढेको छ । २०५८ मा पुरुषको ६१.१ वर्ष हुँदा महिलाको औसत आयु ६१.६ वर्ष थियो भने २०६८ मा पुरुषको औसत आयु ६५.४ वर्ष हुँदा महिलाको ६८ वर्ष थियो । यसरी हेर्दा पुरुषको तुलनामा महिलाको सरदर आयु अहिले झन्डै पाँच वर्ष बढी छ । औसत आयु वृद्धिलाई मानव विकास सूचकाङ्कको एउटा पक्ष मानिन्छ ।

औसत आयु बढ्नुमा शिशु मृत्युदर र बाल मृत्युदरमा नेपालले गरेको सुधार अर्को कारण हो । २०६८ मा एक हजार जीवित शिशु जन्मिएका मध्ये सरदर ४० जनाको मृत्यु हुने गरेकोमा २०७८ मा सो सङ्ख्या १७ मा सीमित भएको छ । त्यस्तै २०६८ मा एकदेखि चार वर्ष उमेर समूहका बालबालिकाको मृत्युदर प्रति हजारमा १२.९ रहेकोमा २०७८ मा ६.१ मा ओर्लिएको छ । पाँच दशकको अन्तरमा नेपालीको प्रजनन दरमा ह्रास आएको छ । तथ्याङ्क कार्यालयका अनुसार २०७८ मा कुल प्रजनन दर १.९४ प्रतिशत थियो । यसअघि २०६८ मा प्रजनन दर २.५२, २०५८ मा ३.२५ प्रतिशत, २०४८ मा ५.३९ प्रतिशत, २०३८ मा ६.२७ प्रतिशत र २०२८ मा ६.३ प्रतिशत थियो । 

जन्मदरभन्दा मृत्युदरको अनुपात घटेको अवस्थामा औसत आयु बढ्छ । अर्थात् जीवित जन्मिएका बालबालिकादेखि वृद्धवृद्धा उमेर समूहको मृत्युदर घट्यो भने औसत आयुमा वृद्धि हुन्छ । पछिल्ला दशकमा नेपालले मृत्युदर घटाउनमा ठुलो सुधार गरेको छ । जस्तै, तीन दशकअघि २०४८ सालमा जीवित जन्मिएका एक हजार शिशुमध्ये एक वर्ष पनि नपुग्दै सरदरमा ९७ जनाको ज्यान जान्थ्यो । जबकि एक वर्ष पनि नपुग्दै मर्ने शिशुको सङ्ख्या अहिले आएर १७ मा झरेको छ । त्यस्तै, २०५८ सालमा एकदेखि पाँच वर्षमुनिका एक हजार बालबालिकामध्ये एक वर्षमा सरदर २८.६ जनाको ज्यान जाने गरेकोमा अहिले त्यो सङ्ख्या ६.१ मा खुम्चिन पुगेको छ । यसको पछाडिको एउटा प्रमुख कारण बालबालिकाले जन्मनासाथ आवश्यक खोपको मात्रा पाएकाले पनि हो । यसबाट मृत्यु दर कम हुन पुगेको छ । मृत्युदर कम हुँदा सरदरमा आयु स्वाभाविक रूपमा बढ्न जान्छ । 

अर्कातिर, पछिल्ला दशकमा नेपालले जनस्वास्थ्य र शिक्षाको क्षेत्रमा ठुलो सुधार गरेको छ । २०२८ मा साक्षरता दर १४ प्रतिशत रहेकोमा २०४८ मा आइपुग्दा ४० प्रतिशत पुगेको थियो । २०७८ को जनगणनाको तथ्याङ्क हेर्दा साक्षरता दर ७६ प्रतिशत नाघेको छ । कुनै नागरिक शिक्षित भएपछि उसको आम्दानीका अवसर बढ्नुका साथै जीवनशैलीमा पनि सुधार आउने गरेको पाइन्छ । औसत आयु बढ्नुको प्रमुख कारणमध्ये एउटा हो, पोषण र स्वास्थ्य क्षेत्रमा आएको सुधार । पछिल्लो केही वर्षयताको अवस्था हेर्दा पोषिलो र तागतिलो खान पाउने नेपालीको सङ्ख्या बढेको छ । हुन पनि यस्तो खानेकुराका कारण रोगसँग जुध्न सक्ने क्षमता वृद्धि हुन्छ । अर्कातिर, आर्थिक अवस्था बलियो हुँदा रोग लागेका बेला अस्पताल गएर उपचार गर्नका लागि पैसा खर्च गर्न सक्ने नेपालीको सङ्ख्या पनि बढेको छ । यसरी समयमा औषधोपचारको सुविधा पाएपछि त्यसले मृत्यु दर घटाउन मद्दत गरेको हो । 

औसत आयु बढ्नु भनेको काम गर्न सक्ने उमेरको जनसङ्ख्या कम हुनु हो । अर्थात् उनीहरू अरूसँग निर्भर हुनु पर्छ । यसबाट राज्य र परिवारमाथि दायित्व त थपिन्छ नै तर पनि नागरिकको औसत आयु बढ्नु समग्रमा भन्दा राज्यका लागि सुखद पक्ष हो । राज्यले आफूमाथि थपिएको दायित्व पूरा गर्नका लागि नयाँ कार्यक्रम ल्याउनै पर्छ । औसत आयु बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै सरकारले त्यसलाई नीतिगत रूपमा सम्बोधन गर्नका लागि गृहकार्य गर्नुपर्ने देखिन्छ ।