• १ असार २०८१, शनिबार

विषयगत विशिष्टताको सम्मान

blog

हामी सबैलाई आकर्षक काम गर्न मन लाग्छ । आकर्षक काम आकर्षक क्षमताबाट प्राप्त हुन्छ । त्यो क्षमता विशेषज्ञ संस्कृतिबाट विकास हुन्छ । अमेरिकी लेखक रोवर्ट लेभिनले पढाइ सिध्याएर कुनै काम रोज्ने क्रममा प्राध्यापन पेसालाई रोजे । किनकि उनको यो अघिदेखिकै सोच थियो र यो पेसाले उनलाई आत्मसन्तुष्टि र चलायमान व्यक्तित्व दिन सक्थ्यो । उनी यसै क्षेत्रमा रमाए, अनुसन्धान गरे, उनले गरेको ‘समय मनोविज्ञान’ संसारकै लागि नयॉ ज्ञान भयो । भारतीय लेखक आरके नारायण आफ्ना बाबुको पेसालाई निरन्तरता दिन अध्यापनमा लागे तर उनले यस क्षेत्रबाट आत्मसन्तुष्टि प्राप्त गर्न सकेनन् र बिचैमा छोडे । पश्चिमा देशका युवा बेलैमा आफ्नो रुचि र क्षमता अनुसारको काम रोज्छन् र त्यही काममा विशिष्टता हासिल गर्छन् । उनीहरूले गर्ने कामको स्तरीयताले उनीहरूलाई घर, गाडी त दिन्छ नै त्यसभन्दा बढी उनीहरूको विशेषज्ञताको फाइदा देशले पनि लिइरहेको हुन्छ । यहॉ जोड्न खोजिएको कुरा के हो भने एउटा व्यक्तिको विषयगत विशिष्टता व्यक्ति, समाज र सिङ्गो देशले फाइदा लिइरहेको हुन्छ । कुनै पनि देशको प्रगतिको सॉचो त्यस देशले उत्पादन गर्ने विशेषज्ञहरूको सङ्ख्या वा विशेषज्ञ संस्कृतिमा अडेको हुन्छ ।

विशेषज्ञ संस्कृति गफ गरेर मात्र स्थापित हुँदैन । यो त हाम्रो चिन्तन र देशले अवलम्बन गर्ने शैक्षिक, आर्थिक वा समग्र सामाजिक नीतिबाट प्राप्त हुने विषय हो । जबसम्म कामचलाउ प्रवृत्तिलाई समाजले निरुत्साहित गर्दैन तबसम्म कसैले पनि विषयगत विशिष्टताको आवश्यकता महसुस गर्दैन । आज हाम्रो नेपाली समाजको पछौटेपनको बारेमा चिन्तन गर्दा हामीले स्थापित गर्न नसकेको विशेषज्ञ संस्कृति नै प्रमुख कारण हो । आम्दानीका कार्यमा लागेका हामी नेपालीहरूमध्ये धेरैजसोले गर्ने काम हामीले रोजेर गरेको भन्दा पनि खोजेर गरेका काम छन् । सुन्दा उस्तै उस्तै लागे पनि रोजेर गरेको र खोजेर गरेको काममा धेरै अन्तर छ । रोजेर गरेका काममा हामीहरूको रुचि, उत्साह र विशिष्टता हुने गर्छ । यो हाम्रो ‘ड्रिमवर्क’ हो, जसलाई उत्कृष्टता दिन हामीले सानैदेखि प्रयास गरिरहेका हुन्छौँ । एउटा व्यक्ति जसले सानैदेखि सङ्गीतमा रुचि राख्छ भने त्यही क्षेत्रमा आफ्नो भविष्य देख्छ, उसले सङ्गीतलाई उठ्दा, बस्दा, सुत्दा र सपनामा पनि साधना गरिरहेको हुन्छ, जसको परिणाम ऊ नारायण गोपाल, तारादेवी, रफी, लता मङ्गेशकर, उदितनारायण, माइकल ज्याक्सन वा ब्रायन आडम्स जस्तो व्यक्ति बन्न सक्छ । यसबाट उसको व्यक्तिगत प्रगति मात्र नभई देशले नै ऊ जस्तो प्रतिभाको गर्व गर्न सक्छ तर यसको ठिक विपरीत कसैले खोजेर भेटाएको काममा उसले इमानदारीका साथ काम त गर्ला, आफ्नो घरपरिवार धान्न सक्ने आयआर्जन पनि गर्ला तर उसमा त्यो काममार्फत सफलताको उचाइ चुम्ने विशिष्ट क्षमता हुन सक्तैन । जबसम्म कुनै कामले सफलताको शिखर चुम्न सक्दैन, तबसम्म न त्यो काम गर्ने व्यक्तिको उत्साहजनक प्रगति हुन्छ न त देशले नै उसको कामबाट केही फाइदा लिन सक्छ । औसत कामको सर्कलभित्रका सम्पूर्ण काम केवल जीविकाका आधारमात्र हुन्, जसमा देशले कुनै गर्व गर्नलायक कुरा हुँदैन ।

विज्ञानको प्रगतिसँगै ज्ञानको क्षितिज चौडा हुँदै गए पनि अहिलेको समय यस्तो भइसक्यो कि एउटै व्यक्तिले सम्पूर्ण क्षेत्रको ज्ञान हासिल गर्न प्रायः असम्भव छ । एउटा व्यक्तिले पुस्तकालयमा सजाएर राखिएका सबै पुस्तक पढ्न यही जुनीमा मात्र सम्भव छैन तर फेरि कुनै पनि क्षेत्रको सामान्य ज्ञान मात्रले आज हामी बॉच्न सक्दैनौँ । हामीले आज ज्ञानका विविध क्षेत्रमध्ये एक क्षेत्रमा सीमित भई त्यसैको गहिराइमा पुगेर अगाडि बढ्नुपर्ने बाध्यता भइसकेको छ । निश्चित विषय वा विधाको विशेषज्ञ वा ज्ञाता नबनेसम्म अहिले हामी विद्वत् मानिँदैनौँ । त्यसैले विशेषज्ञ संस्कृति आजको रहर नभई बाध्यता भइसकेको छ । कुनै पनि विषयमा मेहनतपूर्वक पढेर विशेषज्ञता हासिल गरेको व्यक्तिले लेखेको वा बोलेको कुरा नै प्रामाणिक, भरपर्दो वा परिपक्व मानिन्छ । कुनै बेला थियो, जतिबेला एमबिबिएस डाक्टरले सबै रोगको उपचार गर्थे तर आज समय धेरै विकसित भइसकेको छ । हामीलाई एमडी गरेका विशेषज्ञको मात्र भरोसा लाग्ने भएको छ । त्यस्तै आज औषधी विज्ञानबाहेक अर्थशास्त्र, सामाजिक अध्ययन, साहित्य, दर्शनलगायतका विविध विषयमा पनि अनुसन्धानात्मक निचोडका आधारमा गरिएका प्रस्तुतिहरूलाई मात्र आधिकारिक ठानिन्छ । 

हुन त विद्यावारिधि एक कठिन सङ्घर्षपूर्ण, निकै लामो र खर्चिलो यात्रा हो तर ज्ञानको परिपक्वताका लागि बिस्तारै यो अनिवार्य बन्दै छ । 

फलामले नयाँ आकार लिन आरनमा बलेको आगोमा पग्लिन आवश्यक भए जस्तै समाजलाई ज्ञानको उज्यालोमा डो¥याउन चाहानेले ज्ञान वा अनुभवको आरनमा निखारिएर विज्ञता हासिल गर्नु पर्छ । विशेषज्ञता औपचारिक शैक्षिक योग्यताद्वारा मात्र हासिल गर्न सकिन्छ भन्ने केही छैन । यो त हाम्रा अगाडि भइरहेका तमाम सानाठुला काममा पनि हासिल गर्न सकिन्छ । युरोपका एक व्यक्ति इन्गभार फिडोर काम्प्राड सानैदेखि अभावको बिचमा हुर्केका तर केही गरेर देखाउने लक्ष्यमा अडिग थिए । 

आर्थिक समस्याका कारण उनको औपचारिक शिक्षासमेत राम्ररी अगाडि बढ्न सकेनन् । औपचारिक शिक्षाका लागि विद्यालय जाने उमेरमा उनले फर्निचरको व्यापार थाले । त्यो व्यापारमा उनले अनौपचारिक विशिष्टता हासिल गरे । उनले फर्निचर उद्योग खोल्दा युरोपका सर्वसाधारणले फर्निचरको त्यति प्रयोग गर्दैनथे । फर्निचरको सोरुम राख्ने चलन पनि त्यति थिएन । पछि त्यही व्यापारले उनलाई विश्वका धनीमध्येको सूचीमा स्थापित ग¥यो । उनले व्यापारको क्षेत्रबाट आफूलाई त राम्रो बनाए नै साथसाथै देशका लागि पनि उल्लेख्य रूपमा योगदान गरे । यसबाट यो प्रस्ट हुन्छ कि विशिष्टता पढेर मात्र नभई काम गरेर पनि प्राप्त हुन सक्छ ।

आज हाम्रो समाज वरपरका कार्यालय वा संस्थामा जॉदा तमाम व्यक्तिसँग भेट हुने गर्छ । एउटा बैङ्किङ कार्यालयमा जॉदा त्यहाँ शिक्षा सङ्काय पढेको जनशक्तिले काम गरिरहेको हुन्छ । शिक्षण संस्थामा जॉदा सामाजिक शिक्षा पढेका शिक्षकले अङ्ग्रेजी वा विज्ञान पढाइरहेका भेटिन्छन् । कानुन नपढेका व्यक्ति न्यायिक क्षेत्रमा र व्यवस्थापन पढेका पत्रकारितामा काम गरिरहेका भेटिन्छन् । यी र यस्तै दृश्यहरू प्रायः सबै जसो कार्यालयमा छिटफुट भेटिने गर्छन् । हामीले त्यो विषय बढी जानेका छौँ, जो हामीले कहिल्यै पढेका छैनौँ । यसो हुनुको पछाडि कारण एउटै छ– हामीले काम कहिल्यै रोजेनौँ, मात्र खोज्यौँ । जस्तो भेटियो त्यसैमा चित्त बुझायौँ र बाध्यतावश त्यसैलाई अँगाल्यौँ । अनि हामीले खोज्ने कामको स्तरीयता हाम्रा विदेशी समकक्षीको तुलनामा कमजोर रहनु अस्वाभाविक कसरी भयो र ?

आज स्कुल, कलेज तथा जहॉकतै भविष्य निर्माणका लागि पढिरहेका युवा विद्यार्थीले बुझ्नुपर्ने कुरा के छ भने हामीहरू पहिले आफ्नो लक्ष्यका बारेमा प्रस्ट हुनु पर्छ तर हाम्रो लक्ष्य स्पष्ट र मापन गर्न योग्य हुनु पर्छ । हामीले लिएको लक्ष्य कति हदसम्म प्राप्त भयो भन्ने मापन गर्न सकिएन भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ । त्यस्तै हामीले लिएको लक्ष्य हाम्रो आफ्नै र समाजको क्षमताको सहायताले प्राप्त गर्न सकिने हुनु पर्छ चाहे त्यो जतिसुकै चुनौतीपूर्ण किन नहोस् । त्यस्तै हाम्रो लक्ष्य यथार्थपरक हुनु पर्छ र त्यो समयसीमा बन्द हुनु पनि जरुरी छ । 

यसरी लक्ष्य लिएर त्यस लक्ष्यमा पुग्न आवश्यक साधना हामीले ग¥यौँ भने चाहे कुनै पनि क्षेत्रको सानो वा ठुलो काम किन नहोस् त्यसमा विशिष्टता हासिल गर्न सकिन्छ । विशिष्टता हासिल गरेको काम गर्दा हामीलाई आत्मसन्तुष्टि हुने छ, काममा गर्वको अनुभूति हुने छ र हाम्रो काम स्तरीय हुने छ । फलस्वरूप हामीले चाहेको भौतिक सुविधाको जोहो गर्न त सफल हुने छौँ । यसबाहेक हाम्रो विशेषज्ञताबाट देश नै लाभान्वित भई हाम्रो योगदानको कदर समाज र जगत्ले गर्ने छ । हाम्रा पौरखी हातले देशमा सुन फलाउन, सुरिलो कण्ठले संसार गुञ्जाउन, विज्ञ दिमागले देश बनाउन, सत्चरित्रले देशलाई मार्गनिर्देश गर्न र विषयगत विशिष्टताले संसार बदल्न सक्नु पर्छ ।

  

Author

डा. माधवप्रसाद दाहाल