• ३ असार २०८१, सोमबार

‘प्रहरीले जिम्मेवारी पूरा गरेको छ’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको जिम्मेवारी नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गरेको बताउनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गौरवमय इतिहास बोकेको प्रहरी सङ्गठनबाट दीक्षित अधिकृतले तोकिएको जिम्मेवारी व्यावसायिक र कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तालिममा सिकेको सिपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा अवरोध चिर्दै 

कार्यसम्पादन परिणाममुखी बनाउन तपाईंहरू सफल हुने विश्वास लिएको छु ।” 

उहाँले कर्तव्य पालनाको सिलसिलामा विचलित नभई पदीय दायित्व कुशलतापूर्वक निर्वाह गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । नागरिकप्रति उत्तरदायी, मानव अधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबिचको सम्बन्धलाई थप उचाइमा पु-याउन सम्भव हुने भन्दै उहाँले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न सक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रतिष्ठान संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यव्रmममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाइराख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “अनेकौँ चुनौतीको सामना गरी आफूलाई योग्य प्रमाणित गरेर राष्ट्रको सेवा गर्ने अवसरलाई इमानदार र व्यावसायिक भएर जिम्मेवारी पूरा गर्नुहुने छ भन्ने विश्‍वास लिएको छु ।” 

उहाँले विधिको शासन र कानुनको सर्वोच्चतालाई शिरमा राखेर सरकारको नीति, योजना र कार्यक्रमलाई अक्षरशः पालना गर्न निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्र नभई उच्च अनुशासन, पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाइ र अविचलित समर्पणको सेवा रहेको बताउनुभयो । उहाँले अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन, सङ्गठित अपराधको वृद्धि तथा बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतीको सामना गर्न समयानुकूल सक्षम, सव्रिmय, व्यावसायिक अधिकृत दीक्षित भएको बताउनुभयो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७९ मङ्सिर २५ गतेदेखि ‘पोस्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स तालिम’ सुरु भएको जानकारी दिनुभयो । 

प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू पवनकुमार परियार, सगुन खड्का, आयुष ढुङ्गाना, गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गर्नुभएको थियो । सो तालिममा १८ महिलासहित कुल १४९ जना प्रहरी निरीक्षक सहभागी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।