• २ असार २०८१, आइतबार

निलगिरि र अन्नपूर्ण हिमाल काग-भुषुण्डीको निवासस्थल

blog

तस्बिर:रासस

गलेश्वर (म्याग्दी), जेठ ११ गते । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग-भुषुण्डीको निवासस्थल रहेको बताइएको छ ।

धार्मिक ग्रन्थ र संस्कृत साहित्यमा निलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्य द्रष्टा सन्त (ऋषि) काग-भुषुुण्डी द्धापर युगमा यही आएर बसेका वर्णन गरिएकाले यस क्षेत्रलाई काग-भुषुण्डीको निवास क्षेत्रका रुपमा व्याख्या गरिएको संस्कृतविद् डा.जगमान गुरुङ (दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन सङ्घले गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिले सम्मान गरेको छ)  बताउनुभयो ।

संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो कृति ‘कुमारसम्भव’मा ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः’ अर्थात उत्तर दिशामा देवतास्वरुपका हिमालय नामका पर्वतराजहरु विराजमान छन् भनेर वर्णन गरेका छन् । भारतीय संस्कृति र साहित्यका महाकवि गोस्वामी तुलसीदासले श्रीराम चरित्रमानसमा पनि काग-भुषुण्डीको निवास नीलपर्वत (नीलगिरि हिमाल) भएको उल्लेख गर्दै यो हिमालको महिमा गान गर्नुभएको छ । काग–भुषुुण्डीलाई कागस्वरुपका एक सन्त ज्ञानी ऋषि मानिन्छ । नेपाल ऋषि प्राध्यापक डा.गुरुङले श्रीराम चरित्रमानसमा निलगिरि हिमाल परिसरको सुन्दर वनजङ्गल, पवित्र नदी, सरोवर र स्वर्णमय पर्वत शिखरको वर्णन गरिएको उल्लेख गर्नुभयो । 

उहाँका अनुसार श्रीराम चरित्रमानसमा वर्णित पवित्र नदी कालीगण्डकी हुन् । “वनजङ्गलचाहिँ त्यहाँका देवदारुका जङ्गल हुन् । सरोवरचाहिँ दामोदरकुण्ड हो । निलगिरिबाट दामोदरकुण्डसम्मको भूभाग मुक्तिक्षेत्र हो”, डा.गुरुङले भन्नुभयो । उहाँका अनुसार अन्तका काग काला र साना हुन्छन् भने दामोदरकुण्डका काग सेता र ठूला हुन्छन् । दामोदरकुण्डमा पाइने यी सेता कागलाई अहिले पनि काग-भुषुुण्डीको स्वरुप मानिने उहाँको भनाइ छ । मधेस र पहाडखण्डमा पाइने कुश दामोदरकुण्डमा उम्रेको पाइन्छ । दामोदरकुण्डका सेता काग र त्यहाँ उम्रेका कुश नेपाललाई प्रकृतिको वरदान भएको उहाँले बताउनुभयो ।

को थिए काग-भुषुण्डी ?

श्रीराम चरित्रमानसमा उल्लेख भएअनुसार कागको रुपमा देखिने काग-भुषुण्डी भगवान श्रीरामका परमभक्त थिए । उनलाई भविष्य तथा भूतकालको पूर्ण ज्ञान पहिले नै हुन्थ्यो । उनी समय बन्ने र बिग्रिने पाङ्ग्रालाई देख्न सक्दथे । पुराणमा उल्लेख भएअनुसार सबैभन्दा पहिला राम कथा भगवान शङ्करले पार्वतीलाई सुनाउँदा काग-भुषुण्डीले सुनेका थिए । रावणको पुत्र मेघनादले रामसँग युद्ध गर्दैगर्दा भगवान रामलाई नागपाशले बाँधेका थिए । 

त्यसपछि पक्षीराज गरुडले नागपाशमा बाधिएका सम्पूर्ण नागलाई मारेर भगवान श्रीरामलाई बन्धनबाट मुक्त गराएका थिए । “भगवान राम नागपाशमा बाँधिएको देख्दा गरुडलाई बाँधिएका व्यक्ति राम भगवान् हुन् कि होइनन् भन्ने कुरामा शङ्का लाग्यो । गरुडको सन्देहको निवारणका निम्ति नारद ऋषिले उनलाई ब्रह्माजीकोमा पठाए । ब्रह्माजीले शङ्करजीकोमा पठाइदिनुभयो । भगवान शङ्करले पनि गरुडको सन्देहको निवारणका निम्ति काग-भुषुण्डी भएको ठाउँ निलगिरि पर्वतमा पठाएपछि काग-भुषुण्डीले भगवान श्रीराम चरित्रको कथा सुनाएर गरुड़को सन्देह हटाउनुभएको श्रीराम चरित्रमानसमा उल्लेख गरिएको छ”, नेपाल ऋषि प्राध्यापक डा.गुरुङले भन्नुभयो ।

उहाँका अनुसार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधारशिविर नजिकै पञ्चकुण्ड ताल र ताल नजिकै काग-भुषुण्डी ऋषिले तपस्या गरेको भनिएको काग-भुषुण्डी डाँडो छ । धार्मिक तथा पर्यटकीय महत्वको पञ्चकुण्ड तालको लम्बाइ झण्डै एक किलोमिटर र चौडाइ दुई सय मिटर रहेको अनुमान गरिएको छ । वरिपरिबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल निलो रङमा देखिन्छ । 

यो ताल समुद्री सतहबाट चार हजार ५० मिटरको उचाइमा रहेको छ । तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब अर्थात (छायाँ) देख्न सकिन्छ । तालबाट माथि चार हजार एक सय ९० मिटरको उचाइमा ग्राउण्ड तथा हेलिप्याड र त्यसभन्दा माथि चार हजार तीन सय पाँच मिटरको उचाइमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पर्दछ । तालको छेउबाट निलगिरि र अन्नपूर्णको सबै क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । रासस