• ३ असार २०८१, सोमबार

चार हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ ११ गते । हिमाली जिल्ला म्याग्दीका चार हजार तीन सयभन्दा धेरै बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । नियमित खोप अभियानमा खोप लगाउन छुटेको अनुान गरिएका ४ हजार तीन सय ६२ बालबालिकालाई खोप लगाउन लागिएको हो ।

यही जेठ १३ देखि १९ गतेसम्म म्याग्दी जिल्लाका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका चार हजार तीन सय ६२ जना बालबालिकालाई लक्षित गर्दै राष्ट्रिय कार्यक्रम अनुरुपको खोप अभियान म्याग्दीमा पनि गर्न लागिएको हो । 

शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्ला स्तरीय खोप समन्वय समिति सरोकारवाला र सञ्चारकर्मीसँगको कार्यक्रममा लक्षित बालबालिका विद्यालय उमेर समूहका भएको बेनी नगरपालिका र पाँचवटै गाउँपालिकामा एक सय ११ स्थानमा विद्यालयमा तथा २८ वटा अन्य खोप केन्द्रमार्फत खोप अभियान गर्न लागिएको हो । खोप अभियानका लागि एक सय ३९ जना स्वास्थ्यकर्मी, दुई सय ७८ जना स्वयंसेवक तथा ५७ जना अनुगमन गर्ने स्वास्थ्यकर्मी खटिने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो। 

२०७३ वैशाखदेखि २०७५ असोज सम्म आई.पी.भी. खोप अभाव रहेकोले अहिले अभियान सञ्चालन गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । उक्त खोप लगाउन छुटेका बालबालिका पोलियो रोग लाग्ने उच्च जोखिममा रहने भएको कारणले गर्दा राज्यले खोप अभियान सुरू गरेको उहाँको भनाइ थियो  । थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्य अनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

खोप केन्द्र विद्यालयमा भएकाले खोप अभियान अवधिभर विद्यार्थीको अनुपस्थित हुन नदिन र अनुपस्थित भएमा नजिकैको खोप केन्द्रमा पुगेर समेत खोप लगाउन पाइने स्वास्थ्य कार्यालय म्याग्दीका खोप सुपरभाइजर वीरेन्द्रकुमार चौधरीले बताउनुभयो । बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर पोलियो रोगविरुद्ध प्रतिरोध क्षमता बढाउने भएकाले लक्षित बालबालिकालाई खोप लगाउने समयमा ५७ जना अनुगमनमा समेत हिंड्ने उहाँको कथन थियो ।

पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुने र तिन वटै भाइरसबाट पोलियो रोग हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भएपनि पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुने कार्यालय प्रमुख ठकुराठीको भनाइ छ । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अञ्जु थापालगायतको उपस्थिति थियो ।