• २ असार २०८१, आइतबार

टिपताला पुग्यो सडक, खुलेन नाका

blog

नेपाल र तिब्बतको सिमाना टिपताला नजिक सडक निर्माणमा प्रयोग गरिएको एक्स्काभेटर । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १० गते । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपतालासम्म सडक सञ्जाल जोडिएसँगै भर्खरै नेपाली गाडी (सवारी साधन) पुगेको छ । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पहिलो पटक अघिल्लो साताको शुक्रवार टिपतालासम्म नेपाली सवारी साधन पुगेको हो ।

द्विदेशीय सिमाना टिपताला भन्ज्याङ पाँच हजार १०० मिटरको उचाइमा पर्दछ । यहाँको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित टिपताला नाकासम्म नेपाली सवारी साधनअन्तर्गत पहिलो पटक एक्स्काभेटर र ट्र्याक्टर पुगेको ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिनुभयो ।

सुके पानीदेखि ओलाङ्चुङगोलासम्म ट्र्याक निर्माण सम्पन्न भएको र गोलादेखि टिपतालासम्म पहिले निर्माण भएको सडकको मर्मत तथा स्तरोन्नति गरिएपछि नेपाली गाडी पुर्याउन सम्भव भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । सडक निर्माण तथा स्तरोन्नतिको काम भने एसवीए एलाइट जेभी कम्पनीले गरिरहेको छ । गत चैत मसान्तभित्रै  टिपतालासम्म सडक जोड्ने निर्माण कम्पनीले राखेको लक्ष्य भने पूरा भएको थिएन । 

सडक निर्माणका क्रममा सुकेपानी–जोङ्गिन खण्डमा कडा चट्टान भेटिएपछि निर्धारित समयमा टिपताला जोड्ने लक्ष्य असफल भएको हो । टिपतालासम्म सवारी साधन (गाडी) पुगेपछि जिल्लावासी भने हर्षित भएका छन् । सबैभन्दा बढी टिपताला सिमाना नजिकको बस्ती ओलाङ्चुङगोला, याङ्मा र घुन्साका बासिन्दा खुशी भएका छन् । 

यसै गरी टिपतालासम्म यो सडक विस्तार भएसँगै भारत, नेपाल र चीनसम्म सडक सञ्जाल जोडिएको छ । भारतको सिमाना विराटनगर रानीदेखि तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोक मार्गले तिब्बतसँगको सिमाना टिपताला जोडेको छ । लम्बाई करिब दुई सय ९२ किलोमिटर रहेको यो सडक मार्गलाई भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्गका रूपमा लिने गरिएको छ ।

यता सडक पहुँच विस्तार भएर गाडी टिपतालासम्म पुगे पनि नाका सञ्चालनमा आउने सकेको छैन । कोरोना (कोभिड–१९) महामारीसँगै बन्द भएको टिपताला नाका पाँच वर्षदेखि बन्द रहेको छ । चीनले एकपक्षीय बन्द गरेको टिपताला नाका खुलाउनलाई निरन्तर पहल भने भइरहेको छ । गत मे ७ अर्थात् वैशाख २५ गतेदेखि नाका खुल्ने भनिए पनि अहिलेसम्म नखुलेको हो । 

पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा गएको स्थानीय सुरक्षा प्रमुखसहितको नेपाली टोली र तिब्बतको डिङजी काउन्टी सत्ताका प्रतिनिधिबिच टिपताला नाका खुला गर्ने विषयमा छलफल भएको थियो । त्यस बेला मे ७ देखि नाका खुला गर्ने गरी छलफल भए पनि हालसम्म नखुल्नुको कारणबारे कुनै जानकारी नभएको प्रजिअ आचार्यले बताउनुभयो । नाका खुला गर्ने विषयमा तिब्बतका तर्फबाट आवश्यक तयारी पूरा नभएको लगायतका प्राविधिक कारण हुनसक्ने उहाँको भनाइ छ ।

यसअघि मे ७ देखि नाका खुल्ने सूचना पाएपछि सोही दिनदेखि तिब्बत जाने गरी स्थानीयले प्रवेश अनुमति लिएका थिए । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङकाअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रवेश अनुमति लिएका ३० जना बढी नाका खुला हुने पहिलो दिन नै तिब्बत प्रवेश गर्ने तयारीमा रहेको भए पनि उनीहरू रोकिएका थिए । तिब्बत जाने योजनामा रहेको स्थानीयहरू अहिले पनि नाका सञ्चालनको प्रतीक्षामा रहेको वालुङले बताउनुभयो ।

प्रजिअ आचार्यका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, वडा ७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङकासमेत करिब १३० जना सर्वसाधारणले तिब्बत प्रवेशका लागि अनुमति पत्र लिएका छन् । टिपताला नाका बन्द भएपछि लामो समयसम्म आफन्त भेटघाट गर्न नपाएका सर्वसाधारण नागरिक तिब्बत जान पाउने दिन पर्खिरहेका छन् । यहाँको पापुङ, ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा लगायतमा बसोबास गर्ने धेरै परिवारमा तिब्बतसँग सम्बन्ध जोडिएको छ । यी बस्ती र तिब्बतबिच वैवाहिक सम्बन्ध रहेको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।