• ७ जेठ २०८१, सोमबार

सिन्धुलीमा गठबन्धनद्वारा गाँउपालिका उम्मेदवार तय

blog

सिन्धुलीमाढी, वैशाख ११ गते । सिन्धुली जिल्लामा स्थानीय तहको प्रमुख र उप–प्रमुख पदमा सत्ता गठबन्धनका राजनीतिक दलले भागबण्डा अनुसार उमेद्वार टुङग्याएका छन् ।

नौ वटा स्थानीय तह मध्ये नेपाली काँग्रेसले पाँच वटा पालिकामा प्रमुख र चार वटा पालिकामा उप–प्रमुख पाएको छ । नेकपा (माओवादी केन्द्र)ले चार वटा पालिकामा प्रमुख र पाँच वटा पालिकामा उप–प्रमुख पाएको छ ।

भागवण्डा अनुसार नेपाली कांग्रेसले पाएको पालिका अध्यक्षमा  गोलन्जोर गाँउपालिकामा पुष्पबहादुर कार्की, फिक्कल गाँउपालिकामा नृपबहादुर भुजेल, घ्याङलेख गाँउपालिकामा जगतबहादुर भोलन र तीनपाटन गाँउपालिकामा कर्णबहादुर थापामगरले टिकट पाएको नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । 

त्यस्तै, नेपाली काँग्रसले उपाध्यक्ष पाएको पालिकाहरुमा सुनकोसी गाँउपालिकामा कपिल कोइराला, मरिण गाँउपालिकामा बिमला माझी, हरिहरपुरगढी गाँउपालिकामा बमबहादुर स्याङ्वाले टिकट पाएको उहाँले बताउनुभयो  । उहाँका अनुसार नेपाली काँग्रेसको भागमा परेको कमलामाई नगरपालिकाको प्रमुख र दुधौली नगरपालिकाको उप–प्रमुखको उम्मेदवार भने आइतबार बेलुकासम्म  प्रदेशले टुंग्याउने भएको छ । 

गठबन्धनकै अर्को ठूलो दल नेकपा (माओवादी केन्द्र)ले भने भागवण्डा अनुसार सबै पालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार टुङग्याएको छ । माओवादी केन्द्रले दुधौली नगरपालिकाको नगर मेयरमा दिनेश अधिकारी दनुवारलाइ उम्मेदवार बनाएको छ । कमलामाई नगरपालिकाको उम–मेयरमा दीर्घराज श्रेष्ठलाई उठाएको छ । 

उक्त पार्टीले मरिण गाउपालिकाको अध्यक्षमा विमर्श मोक्तान, हरिहरपुरगढी गाउपालिकाको अध्यक्षमा बज्रध्वज वाइवा र सुनकोसी गाँउपालिकाको अध्यक्षमा दीपा बोहोरा दाहाललाइ उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहालले जानकारी दिनुभयो । 

त्यस्तै, नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पाएको पालिकाहरुमा उक्त पदमा तीनपाटन गाँउपालिकमा अशोक पुलामी, फिक्कल गाँउपालिकामा लोकेन्द्र कार्र्की, गोलन्जोर गाउपालिकामा ज्वालाप्रसाद न्यौपाने र घ्याङलेख गाउपालिकामा शंकरमान घलानलाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । ७९ वडाका अध्यक्ष र सदस्य भागबण्डामा भने गठबन्धन दल बीच कुरा अझै मिलेको छैन । 

गठबन्धनमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षि नेकपा एमालेले अझै केही उम्मेदवार मिलाउन बाँकी रहेकोले सोमबार सबै पालिकामा उमेद्वारी दर्ता गर्ने जनाएका छन् ।