• ४ माघ २०८१, शुक्रबार

पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग

blog

पोखरियास्थित पोखरिया अस्पताल । फाइल तस्बिर

काठमाडौँ, जेठ ७ गते । पर्साको पुरानो सदरमुकाम पोखरियास्थित पोखरिया अस्पताललाई स्तरोन्नति गर्न सङ्घीय सरकारसमक्ष माग गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति, पोखरिया पर्साका नेता नेजामछीन शमानीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवसँग भेट गर पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग गर्दै ज्ञापनपत्र बझाउनुभएको हो । 

उक्त अस्पताललाई स्तरोन्नति गरी आवश्यक जनशक्ति तथा उपकरण उपलब्ध गराउनुपर्ने उक्त ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा मधेस आन्दोलनमा योगदान गर्नुभएका स्व.बाबा रामजनम तिवारीका नामबाट अस्पताल बनाउन तथा वीरगञ्जमा रहेको ‘ब्लड बैङ्क’का लागि आवश्यक उपकरण उपलब्ध गराउन, पोखरियामा बर्थिङ सेन्टरको भवन निर्माण गर्न सहयोग गर्न उल्लेख छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पोखरिया अस्पताललाई स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको नेता शमानीले बताउनुभयो । स्तरोन्नति गर्न प्रदेश सरकारले निर्णय गरेर केन्द्रमा पठाएको उहाँको भनाइ छ । “हामीले पोखरिया अस्पताललाई स्तरोन्नति गर्न पटक-पटक ताकेता गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । पोखरिया नगरपालिकामा १५ शय्यामा सञ्चालित पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी मधेस प्रदेश सरकारको मातहतमा व्यवस्थापन गर्ने मधेस प्रदेश सरकारले २०७६ चैत २८ गते निर्णय गरेको थियो ।  

पोखरिया अस्पताल प्रदेश मातहतमा व्यवस्थापन हुँदा हाल स्थानीय तहमा समायोजन भई सो अस्पतालमा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा सङ्घीय मन्त्रालयको राय सहमतिका लागि मन्त्रालयमा पठाइएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । पोखरिया जिल्लाको पश्चिमी भेगमा पर्छ । वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामी लैजान झन्डै ४० किलोमिटर दूरी पार गर्नुपर्ने अवस्था छ । रासस