दोलखा समाचारदाता
दोलखा, जेठ ६ गते । दोलखाको शैलुङ गाउँपालिका–५, गैराघर टोलमा २५ लाख रुपियाँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण सुरु भएको छ ।
वडामा बाँझिँदै गएका जग्गाको उपयोग तथा बजारीकरणको सुविधाका लागि सबैलाई पायक पर्ने ठाउँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण सुरु गरिएको वडाध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यही महिनाको तेस्रो साता सम्पन्न गर्ने गरी निर्माणको काम भइरहेको छ ।
यो केन्द्रमा आठ लाख रुपियाँको लगानीमा तेल पेल्ने मेसिन जडान गरिने छ । मेसिन खरिद गरिसकिएको छ । स्थानीय कृषि सहकारीसँग साझेदारी गरी उत्पादित वस्तुको सहज बिव्रmीका लागि सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने छ ।
तोरी पेल्ने मेसिन जडानले किसानलाई तोरी खेतीप्रति आकर्षित गराउने छ । अन्य उत्पादित वस्तुको बजारका लागि केन्द्रले सहज बनाउने छ । उहाँले भन्नुभयो, “बाँझिएर रहेका जग्गा उपयोगमा आउने र कृषक खेतीप्रति आकर्षित हुने छन् । गाउँमा आयआर्जनका बाटा खुलेपछि केही हदसम्म विदेश पलायन पनि रोकिने अपेक्षा राखिएको छ ।”
असारे विकासे परिपाटी अन्त्य भएको छ । उहाँले भन्नुभयो, “१४ औँ गाउँ सभाबाट वडाका लागि विनियोेजित एक करोड पाँच लाख रुपियाँ बजेटका योजना चैत महिनामै सम्पन्न भइसकेका छन् ।” करिब ३१ लाखमा कृषि सडक मर्मत तथा निर्माण भएका छन् । तीन वटा सिँचाइ आयोजना पनि सम्पन्न भएका उहाँले जानकारी दिनुभयो ।
बजेटबाहेक अर्काको मुख ताकेर मात्र नहुने भन्दै सञ्चालन गरिएको अभियान अन्तर्गत वडावासीबाट आवश्यकता अनुसार निःशुल्क श्रमदानबाट पैदलमार्ग मर्मतसम्भार गरिएका छन् ।