काठमाडौँ, जेठ ६ गते । बागमती सफाइ महाअभियान अन्तर्गत अहिलेसम्म २१ हजार मेट्रिक टन फोहोर सङ्कलन गरी सोको व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ११ वर्षको अवधिमा यतिको परिणाममा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको हो ।
त्यसै गरी सो अवधिमा बागमती नदी किनारमा छ हजार बिरुवा रोपी हुर्काएको जानकारी गराइएको छ भने विभिन्न ठाउँमा १२ वटा पार्क निर्माण गरिएको छ । यस अवधिमा सफाइ महाअभियानमा १५ लाख मानिसको सहभागिता भएको छ ।
बागमती सफाइ महाअभियान ११ वर्ष पूरा गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार राजधानीको तिलगङ्गास्थित बागमती किनारमा आयोजित विशेष कार्यक्रममा सो जानकारी गराइएको हो ।
‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित २०७० जेठ ५ गते सो महाअभियान सुरु भएको थियो । काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यसाथ सुरु भएको सो सफाइ महाअभियान शनिबार ५७५ औँ सातामा पुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले १२ वटा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले बागमती सफाइ महाअभियान एक दशक पूरा गरे पनि अहिलेसम्म आममानिसमा नदीमा फोहोर फाल्ने बानीको अन्त्य नभएको बताउनुभयो ।
उहाँले बागमतीलगायत अन्य सफाइ अभियानबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै यसका लागि मन्त्रालयको तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बागमती नदी सफाइ महाअभियानलगायतका अन्य अभियानका लागि सम्बन्धित निकायले थप योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।
प्रतिनिधि सभा सदस्य सोविता गौतमले कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्ने, निर्धारित स्थानमा मात्र फोहोर व्यवस्थापन गर्नुपर्नेलगायतको विषयमा जनचेतना वृद्धि गरी फोहोरको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
दुई वर्षभित्र ढलमुक्त
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अबको दुई वर्षभित्र मुहानदेखि गृह्येश्वरीसम्म बागमतीलाई ढलमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बागमतीलाई ढलमुक्त बनाउनु चुनौतीपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
बागमती सफाइ महाअभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सफाइ महाअभियानका साथै नदी किनारमा रुख बिरुवा हुर्काएर करिब मृत अवस्थामा पुगिसकेको बागमतीलाई जीवन्त बनाइएको बताउनुभयो । यति लामो समयसम्म सफाइ महाअभियानले निरन्तरता पाइराख्नु ठुलो उपलब्धिको विषय रहेको उहाँको भनाइ थियो ।