• १२ साउन २०८१, शनिबार

विद्यालय नजिक लागूऔषध बिक्री गर्ने चार जना पक्राउ

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २ गते । झापाको दमकमा एक सामुदायिक विद्यालय नजिकै एकैसाथ चार जना लागूऔषध कारोबारिहरु पक्राउ परेका छन् । मङ्गलवार राती १० बजेतिर दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालय नजिकै बाटोमा लागूऔषध ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचना आधारमा प्रहरी टोली पुगेर खानतलासी गर्दा दमक वडा नं. २ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक वडा नं. ५ का २६ वर्षीय प्रकाश लिम्बूको साथबाट स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगर भेटिएको उहाँले जानकारी दिनुभयो ।

पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर रहेको पनि प्रहरीले जनाएको छ । चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको पनि चन्दले बताउनुभयो ।