• १६ भदौ २०८१, आइतबार

सर्वोच्चमा पहिलो पटक अनलाइन मुद्दा दर्ता प्रणाली सुरु

blog

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च्मा अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणालीको शुभारम्भ गर्नुहुँदै ।

काठमाडौँ, जेठ १ गते । सर्वोच्च अदालतमा पहिलो पटक अनलाइन मुद्दा दर्ता प्रणाली र पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । मङ्गलबार सर्वोच्च अदालतमा एक कार्यक्रमबिच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपालमा पहिलो पटक अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणाली शुभारम्भ भएको बताउनुभयो । उहाँले न्यायालय, मुद्दाका पक्ष, कानुन व्यवसायी लगायत सबैका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले छिटोछरितो न्याय सम्पादन हुने, अदालत आइरहनु नपर्ने र नेपालका जुनसुकै ठाउँबाट पनि दर्ता गर्नसक्ने कुरामा यसले सहज बनाउनु बताउनुभयो । उहाँले आजबाटै पेशी तारिकको जानकारी दिने प्रणाली पनि शुभारम्भ भएको पनि बताउनुभयो ।

‘‘नेपालमा पहिलो पटक सायद पहिलो पटक नै होला अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणाली शुभारम्भ गरेका छौँ । यसले हामी सबैलाई न्यायालय, मुद्दाका पक्षहरूलाई पनि सजिलो बनाइदिएको छ, कानुन व्यवसायीहरूलाई पनि सजिलो बनाइदिएको छ । छिटोछरितो, यहाँ आइरहनु नपर्ने, खर्च पनि बचत गरिदिएको छ । आफ्नो क्षेत्रबाट नै दर्ता गर्नसक्ने स्थिति देखिएको छ ।,’’ प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘‘नेपालभरबाटै दर्ता गर्न सकिन्छ, यो सुखद पक्ष हो । अहिले पेशी तारिकको जानकारी दिने प्रणाली पनि आजबाट सुरुवात गरेका छौँ । पहिला कागजी रूपमा चिठीपत्रमा गर्दथ्यौँ । यसरी आज मुद्दा पेशीको जानकारी दिइएको छ भन्नेकुरा अनलाइनबाट नै हुने भएको छ । यसले पेशी सूचि जानकारी पाउने र तुरुन्तै हुने कुराको सुनिश्चित हुन्छ । अदालतको काम कारबाहीमा कागजी कुराहरू भन्दा प्रविधिमैत्री बनाएर लैजाने कुरामा हामी उन्मुख भएका छौँ ।’’

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिसँग जोडिन सबै कानुनकर्मीहरूसँग आग्रह गर्नुभयो । उहाँले पेशी तारिक दिने अनलाइन पद्धति सबै जिल्ला अदालतमा हुनुपर्ने बताउनुभयो । उहाँले तारिक प्रणाली पनि अटोमेसम दिनेकुरामा पनि जोड दिन आवश्यक रहेको बताउनुभयो ।