• १३ वैशाख २०८१, बिहिबार

म्याद सकिँदा बाँकेमा सात जनाले मात्र हतियार बुझाए

blog

जिल्ला प्रशासन कार्यालय बाँके । तस्विर - सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, वैशाख ९ गते । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर बाँके प्रशासनले  लाइसेन्स लिएर राखेका हतियार तथा अवैध हतियार प्रहरीलाई बुझाउन दिएको निर्देशनलाई बेवास्ता गरिएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले गत चैत १६ गते जनताले लाइसेन्स लिएर राखेका हतियार नजिकको प्रहरी एकाइ तथा जिल्ला प्रहरी कार्यालय बाँकेमा चैत मसान्तभित्र बुझाउन निर्देशन दिएको थियो । 

तर सो अवधिमा सात वटा मात्र हतियार प्रहरीमा जम्मा गरिएको जनाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अधिकांशले प्रशासनको निर्देशन पालना नगरेको बताउनुभयो । 

उहाँले बाँकेबाट ५५५ जनाले हतियार राख्नका लागि अनुमति लिएको देखिएको जनाउँदै ७ वटा मात्र हतियार बुझाउनुले ती हतियार पनि निर्वाचनमा सुरक्षा चुनौती बन्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । 

हतियार बुझाउने म्याद सकिए पनि अझै हतियार ल्याएमा बुझेर राख्ने तथा चुनाव सकिएलगत्तै फिर्ता गर्ने प्रजिअ खत्रीले बताउनुभयो । उहाँले हतियार बुझाउन सर्वसाधारणलाई फेरि पनि आग्रह गरिएको जनाउनुभयो । 

उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले निर्वाचन सुरक्षाका लागि निजी हतियार प्रहरीलाई बुझाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म ७ थान मात्र बाह्रबोर बन्दुक बुझाइएकाले अरुलाई पनि बुझाउन फेरि पनि आग्रह गरिएको बताउनुभयो । 

उहाँले अब प्रशासनबाट हतियार राख्नेहरुको लगत लिएर उनीहरुलाई सम्पर्क गरेर हतियार बुझाउन लगाउने तयारी गरिएको जनाउँदै त्यसपछि पनि नबुझाउनेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । 

खुला सीमानाका कारण हतियार सजिलै भित्र्याउन सकिने हुँदा लाइसेन्स भएका भन्दा बढी हतियार गैरकानुनी रुपले भारतबाट भित्र्याइएका पनि यहाँ रहेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यस्ता हतियारलाई पटक पटक प्रहरीले पक्राउ पनि गर्दै आएको छ । 


Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।