• १३ मंसिर २०८१, बिहिबार

महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजना सुरु

blog

महिला र युवा लक्षित कार्यक्रम सञ्चालनबारे छलफल गर्दै वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, वैशाख २९ गते ।
 स्याङ्जाको वालिङमा ‘कृषि विकास परियोजना’ सुरु भएको छ । वालिङका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।

कृषि र पशुका माध्यमबाट नगरवासीका आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले कार्यक्रम सुरु गरेको नगरप्रमुख कृष्ण खाणले जानकारी दिनुभयो ।

पालिकाले दीर्घकालीन योजना बनाएर काम सुरु गरेको भन्दै नगरप्रमुख खाँणले भन्नुभयो,  “खाका बनाईअघि बढ्दैँछौ, हिजोभन्दा भोली केही फरक सकारात्मक परिवर्तन देखिनेमा विश्वस्त छौँ ।”

वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सुरु भएको हो ।

नगरका १४ वडा मध्ये पहिलो चरणमा ७ वडामा निम्न आय घर परिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिनुभयो । विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।

परियोजनाले कृषि तथा पशु उद्यमअन्तर्गत महिला समूहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरूको आयआर्जनमा सघाउने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।

परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ । हेफरले परियोजनामा वालिङ नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । विगतदेखि कृषि र पशु व्यवसायमा संलग्न किसान र महिलाहरू उद्यमशीलतासँग जोड्दै आयआर्जन बढाउन सुलभ कर्जा पाउने भएपछि खुसी देखिएका छन् ।

परियोजना सञ्चालनका लागि नगरप्रमुख कृष्ण खाँणको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, विषयगत शाखा एवम् साझेदार संस्थाका प्रतिनिधि रहनुभएको छ ।  परियोजनाका २६ महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको छ । सुलभ कर्जा प्रवाह गरिने र जुन रकम पछिसम्म पाँच करोडभन्दा बढी रहने बताइएको छ ।