• १२ साउन २०८१, शनिबार

जसपामा शक्ति सङ्घर्ष : श्रृङ्खलाबद्ध फुट

blog

काठमाडौँ, वैशाख २९ गते ।  जनता समाजवादी पार्टी, नेपाल एकाएक विभाजित भएपछि एकअर्कामा दोषारोपण जारी छ ।   

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू अमेरिका भ्रमणमा रहेको मौकाको फाइदा उठाउँदै पार्टी फुटाएको आरोप लगाउनुभएको छ । उता, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताले अध्यक्षको अलोकतान्त्रिक चरित्रका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभएको छ । 

राई नेतृत्वको दलले वैशाख २४ गते निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरिसकेको छ । 

अध्यक्ष यादव पक्षका सांसद एवम् कार्यालय प्रमुख प्रकाश अधिकारी विचार, सिद्धान्त केही अलग नदेखिएको अवस्थामा पार्टी विभाजन हुनु अनैतिक कार्य भएको बताउनुहुन्छ । 

अधिकारीले भन्नुभयो, “एउटा पार्टीमा कुनै विचार, दृष्टिकोण, सिद्धान्त अलग देखिँदैनन् । यसरी पार्टी बनाउनु भनेको अनैतिक काम हो । पहिचानसहितको सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी लगायत सबै खाले विभेदको अन्त्य गर्ने भनेर जुन कुरा पार्टीले उठाउँदै आएको छ, यसलाई कमजोर पार्ने क्रियाकलाप हो ।” विभाजनले पार्टीको मुख्य मुद्दा कमजोर बनाएको उहाँको भनाइ छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ।

राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीबिच २०७७ वैशाख १० गते पार्टी एकीकरण गर्ने र एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रहने सहमति भएको थियो । त्यतिबेला राजपाका अध्यक्ष मण्डलका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी यसैगरी, समाजवादीको अध्यक्ष मण्डलका तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । निर्वाचन आयोगले २०७७ असार २८ गते सोही जसपा, नेपाललाई दलको मान्यताको प्रमाणपत्र प्रदान गरेको थियो ।

उक्त एकताको वर्ष दिन नपुग्दै तत्कालीन केपी शर्मा ओलीको सरकारमा सहभागी हुने या नहुने विषयमा अध्यक्षद्वय यादव र ठाकुरबिचको विवाद पार्टीको औपचारिक विभाजनसम्मै पुग्यो । निर्वाचन आयोगले यादव पक्षमा बहुमत सदस्य रहेको भन्दै २०७८ साउन ११ गते अध्यक्ष यादव नेतृत्वको जसपा, नेपाललाई आधिकारिकता दियो। 

त्यसपछि अध्यक्ष ठाकुर नेतृत्वमा गठन भएको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीले २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गर्‍यो । 

मधेश केन्द्रित या पहिचानवादी भन्ने दलको टुटफुट र एकताका सम्बन्धमा यादव पक्षका नेता प्रकाश अधिकारीले मुद्दा र विचार मिल्नेसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने पार्टीको सिद्धान्त रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनता समाजवादी पार्टी, नेपाल बनेदेखि या यो बन्नुभन्दा पहिलेदेखि हामीले पार्टी बनाउँदै आयौँ । सङ्घीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त मार्क्सवादी), खस पार्टी, खस समावेशी लगायतका दल थियो । त्यसपछि नयाँ शक्ति पार्टीसँग एकता गर्‍यौँ । राष्ट्रिय जनता पार्टीसँग एकीकरण गर्‍यौँ र जसपा नेपाल बन्यो ।”

फुटपछि अशोक राईले आयोजना गर्नुभएको पत्रकार सम्मेलन । 

पार्टी फुटेको वर्ष दिन नपुग्दै जसपामा अर्को फुटको श्रृङ्खला सुरु भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा मन्त्री हेरफेर हुँदा अध्यक्ष यादवले छुट्टै बैठक बसेर नाम सिफारिस गरेको लगायतका विषयमा सङ्घीय परिषद् अध्यक्ष भट्टराई असन्तुष्ट बन्नुभयो ।

यादव र भट्टराईबिचको आन्तरिक विवाद चुलिएको अवस्थामा २०७९ असार २९ र ३० गते एकै मितिमा यादव पक्षको वीरगञ्जमा र भट्टराई पक्षको काठमाडौँमा छुट्टा–छुट्टै भेला आयोजना भयो । 

त्यो फुटको दश महिनापछि जसपा नेपालबाट अशोक राई नेतृत्वको पार्टी विभाजित भएको हो । राई पक्षका नेतृ रन्जुकुमारी झाले पार्टीको प्रमुख नेतृत्वमा हुनुपर्ने विशेष गुणमा कमीकमजोरी आउँदा यो अवस्था आएको बताउनुभयो ।

झाले भन्नुभयो, “कुनै पनि नेताको प्रमुखमा केही विशेष गुण हुनुपर्छ । त्यो गुणको कमीकमजोरीले आज यो अवस्था आयो । यो कुनै एकै दिनको खेला होइन । उहाँहरूको चार, पाँच महिना अघिदेखिको खेला हो । हामीलाई बस्न गाह्रो थियो, अलग्गिनैपर्छ भन्ने लागेपछि यो अवस्था आयो ।”

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन निरन्तर राख्ने वा नराख्नेसँग पार्टी विभाजनको विषय सम्बन्धित नरहेको बताउने गरेको छ । यद्यपि, दल विभाजन लगत्तै राई नेतृत्वको जसपाको संसदीय दलको बैठकले सरकारको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको छ ।  

यो पटकको जसपा विभाजनमा प्रा. डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चा नामक तेस्रो धार पनि गठन भयो । पहिचानवादी मोर्चाका संयोजक लावतीले जसपाले विचारधाराको रुपमा पहिचानको मुद्दा लिए पनि पछिल्लो समय यसको सवालमा पहल नगरेको बताउनुभयो । 

प्रा. डा. महेन्द्र लावती ।

डा. लावतीले भन्नुभयो, “पहिचानको सवालमा कोशी नामाकरणविरुद्धको आन्दोलन, खुवालुङ्, तिम्बुङ्पोखरी, मुक्कुम्लुङको आन्दोलन त्यसमा नेतृत्व लिनुको त कुरै छोडौँ सहभागी पनि खासै देखाउनुभएन । त्यसले गर्दा, पहिचानको कुरा उठाउँछ भनेर जसपामा लाग्नुभएको थियो, उहाँहरूमा अन्यौलता छाइरहेको थियो । अनि पार्टी विभाजन भयो ।” एकीकृत अवस्थामा त उठाउन नसकेको मुद्दा विभाजित अवस्थामा झन् कमजोर हुने हुँदा पहिचानवादी शक्तिसँग मोर्चाबन्दी गर्न पहिचानवादी मोर्चा निर्माण भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “पहिचानवादी शक्तिसँग मोर्चाबन्दी गर्ने, यो आन्दोलनमा सघाउने, सहभागी बन्ने र एउटा शक्ति निर्माण गर्ने जरुरत परेको हुनाले पहिचानवादी मोर्चा निर्माण भएको हो ।”

तीनै धार सहकार्यको पक्षमा 

यादव नेतृत्वको जसपा नेपालले विगतदेखि नै विचार र मुद्दा मिल्ने दलसँग एकता प्रक्रिया गर्दै अघि बढेकोले आगामी दिनमा पनि त्यस्ता दलसँग सहकार्य गर्न सकिने बताएको छ। अधिकारीले भन्नुभयो, “विगतमा त्यो किन गरेको भने विचार, सिद्धान्त, मुद्दा मिल्नेसँग एकता, एकीकरण, कार्यगत एकता, सहकार्य गर्दै जाने हाम्रो नीति हो ।” पहिचानवादी मोर्चामा आफ्ना दलका केही नेताहरू पहिलेदेखि नै रहेको उहाँको भनाइ छ । 

यस्तै, राई पक्षका नेता झाले मधेश केन्द्रीय वा पहिचान र जनजाति केन्द्रित सबैसँग मिलेर सहकार्य गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जति पनि साना–साना पार्टी छन्, मधेश केन्द्रित, पहिचान वा जनजाति केन्द्रित सबैसँग मिलेर सहकार्य गर्नेछौँ ।” पहिचानवादी मोर्चाका बारेमा विस्तृत बुझुन् पाएका छैनौँ । पछि हुनसक्छ उहाँहरू हाम्रैतिर मर्ज गर्नुहुनेछ ।”

डा. लावतीले आगामी दिनमा साना र ठुला सबै दलका पहिचानवादी दलसँग मोर्चाबन्दी गर्ने लक्ष्य रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जसपा, जसपा नेपाल, एमाले, कांग्रेस र सानासाना पहिचानवादी दलहरू सबैसँग मोर्चाबन्दी गर्ने भन्ने हाम्रो लक्ष्य हो । अरू कुरा बिस्तारै बढ्दै जान्छ । पहिचानको सवालमा एक ठाउँमा उभिनुपर्छ भन्ने हो ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।