• ७ जेठ २०८१, सोमबार

बचत अपचलन गर्नेलाई कारबाहीको माग

blog

काठमाडौँ, वैशाख २८ गते । बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्वनियमन र स्वअनुशासनका माध्यमबाट प्रवर्धन, सुदृढीकरण र शुद्धीकरण गर्न सरोकारवालाले माग गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) को आयोजनामा मङ्गलबारदेखि जारी लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको छ । गोष्ठीले पाँचबुँदे प्रतिबद्धता जाहेर गरेको छ भने नीतिगत तथा कानुनी अनुकूलनका लागि सरकारसमक्ष साँतबुँदे माग गरेको छ ।

बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्वनियमन र स्वअनुशासनका माध्यमबाट प्रवर्धन, सुदृढीकरण र शुद्धीकरण गर्न १२ बुँदे प्रतिबद्धता जारी गरिएको नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर अधिकारीले बताउनुभयो ।

गोष्ठीले खराब नियत राखी बचत अपचलन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्न, वित्तीय कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै कानुनको मागसमेत गरेको छ ।

त्यस्तै विद्यमान सहकारी ऐनमा भएको बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणलगायत अन्य व्यवस्था अविलम्ब लागु गर्न नेफ्स्कुनको माग छ ।

सहकारी क्षेत्रमा देखिएका समस्याले असल अभ्यास गरिरहेका साकोसहरूमा पनि त्यसको प्रभाव पर्न सक्ने सम्भावना देखिएकाले समग्र सहकारीप्रति विश्वासको वातावरण सिर्जना गर्न र सहकारीमार्फत समाजवाद उन्मुख अर्थव्यवस्थाको संवैधानिक अपेक्षा गरेको लक्ष्य प्राप्तिमा योगदान गर्न राष्ट्रिय गोष्ठीले माग गरेको छ ।

सहकारी क्षेत्रमा देखिएको समस्याको दिगो समाधानका निमित्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाको नियमन, सुपरिवेक्षण, अनुगमन गर्ने अधिकारसम्पन्न पृथक् निकायको अविलम्ब स्थापना गरी नियमन कार्यलाई प्रभावकारी बनाउन गोष्ठीको माग छ । यथाशीघ्र वित्तीय कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन र व्यवस्थापनका निम्ति वित्तीय सहकारी ऐन जारी गर्न पनि माग गरिएको छ ।