• १९ असार २०८१, बुधबार

उडान रद्द हुँदा सास्ती भोग्दै यात्रु

blog

मीनराज भण्डारी

काठमाडौँ, वैशाख ९ गते  । कोरोना महामारीको असर कम भएसँगै अहिले काठमाडौँको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ तर आन्तरिक उडान तोकिएको समयमा हुँदैनन् । पाँच घण्टासम्म ढिलो उडान हुने र रद्द हुने क्रम बढेपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । पछिल्लो एक सातामा मात्रै ९० वटा उडान रद्द भएका छन् ।

प्रतिघण्टा चार सय यात्रु थेग्नसक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन उडान ढिलो र रद्द हुँदा साँघुरो बन्दै गएको छ । 

पछिल्लो उदाहरणका रूपमा मङ्गलबार अपराह्न धनगढीबाट काठमाडौँ आएको श्री एयरलाइन्स र बुधबार काठमाडौँबाट भैरहवाका लागि तय भएको बुद्व एयरको उडानलाई लिन सकिन्छ । मङ्गलबार धनगढीबाट काठमाडौँ आउने बेलुका ६ः३० बजेको श्री एयरलाइन्स ५ः३० मै आएको थियो भने बुधबार बेलुका ७ः१० बजे भैरहवाका लागि उडान तय गरेको बुद्व एयरको जहाजले राति १० बजेसम्म उडान गर्न नसकेपछि रद्द गरेको थियो । उडान ढिलो वा छिटो हुँदा पनि यात्रुलाई भने समस्या नै पर्ने गरेको छ । 

यी त एक उदाहरण मात्र हुन् । पछिल्लो समय मौसम र ‘भिजिबिलिटी’ (दृश्य क्षेत्र)का कारण उडान रद्द भएको जानकारी दिएपछि यात्रु बिचल्लीमा पर्ने क्रम बढेको हो । 

उडान रद्द भएपछि अन्तर्राष्ट्रिय उडानमा विमान कम्पनीले विमानस्थल पुगेका यात्रुलाई आफ्नै खर्चमा होटलमा राख्ने गरेको भए पनि आन्तरिकतर्फका हवाई कम्पनीले भने त्यस्ता यात्रुका लागि गाडीको समेत बन्दोबस्त नगर्दा घर न घाटका भनेजस्तै हुँदै आउनुभएको छ । समृद्व हवाई कम्पनीले सामाजिक उत्तरदायित्वसमेत पूरा नगर्दा सास्ती भोग्नुपरेको सर्वसाधारणको गुनासो बढ्दै गएको छ । 

यो साता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका ९० वटा उडान रद्द भएका छन् । विमानस्थल कार्यालयका अनुसार वैशाख १ गतेयता बुद्वको २७, यतीको आठ, ताराको २५, सीताको १०, समिटको ११, नेपाल एयरलाइन्सको तीन र गुण एयरको एउटा उडान रद्द भएका छन् ।

यसरी समयमा उडान नगर्ने वा रद्द गर्ने कुनै पनि विमान कम्पनीले यात्रुको व्यवस्थापनमा ध्यान दिएको देखिँदैन । त्यसरी हवाई यात्रु अलपत्र परेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमेत मूकदर्शक बनेको सर्वसाधारणको दुःखेसो छ ।

प्राधिकरणले जेठ १५ गतेदेखि रात्रि उडान गर्न मिल्ने आन्तरिकतर्फका विमानस्थल राति १२ बजेसम्म सञ्चालनको तयारी गरिरहेको छ तर रात्रि सुविधा भएका भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा अहिले राति ९ बजे नै सूचना (नोटाम) जारी हुँदा बोर्डिङ भइसकेको यात्रुसमेत घर फर्कनुपर्ने बाध्यता भोग्दै आउनुभएको छ । उडानमा हुने ढिलाइ तथा उडान रद्दका कारण बिरामी, अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिका बढी समस्यामा पर्दै आएका छन् ।बोर्डिङ भइसकेको यात्रुलाई समेत सम्बन्धित विमान कम्पनीले घर फर्कन यातायातको व्यवस्था नगर्दा रात्रि उडान रद्द भएका सयौँ यात्रुले सास्ती भोग्नुपरिरहेको गुनासो गरिरहनुभएको छ ।

वायुुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार अन्तर्राष्ट्रिय हवाई सेवामा पाइने सुविधा आन्तरिकतर्फका उडानमा नभएका कारण यात्रुले असुविधा भोग्दै आउनुपरेको हो । उहाँले भन्नुभयो, “खराब मौसमकै कारण पछिल्लो सातामा उडान रद्द हुने, उडान ढिलो हुने समस्या देखिएको हो । मौसमका कारण रद्द भएका आन्तरिकतर्फका उडानमा मानवीयताको हिसाबले बाहेक यात्रुले यातायातको सुविधा पाउँदैनन् । स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।”

विमानस्थल कार्यालयका अनुसार मौसमका कारण यान्त्रिक उडान भर्ने (आईएफआर) जहाजका लागि समस्या नभए पनि (भीएफआर) आँखाले हेरेर उडान गर्ने आन्तरिकतर्फका उडानमा समस्या हुने गरेको छ । उडान रद्द हुनेमा भीएफआर प्रविधिबाट बाटो पहिल्याएर आउने (एयरवे फलो) अधिकांश साना जहाज रहेका छन् । आईएफआर प्रविधिबाट उडान भर्ने जहाजले एक हजार छ सय मिटरमा उडान भर्न सक्ने भए पनि भीएफआर प्रविधिका साना जहाजलाई चाहिने पाँच किलोमिटरसम्म भिजिबिलिटी नभएपछि उडान रद्द हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।