• ७ जेठ २०८१, सोमबार

संसदीय समिति गठनमा कांग्रेसको अडान यथावत्

blog

सभामुख देवराज घिमिरेले मङ्गलबार सिंहदरबारमा बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न पार्टीका नेता । तस्बिर : सुजन ग

काठमाडौँ, वैशाख २६ गते । शुक्रबारदेखि सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन पनि अवरोधरहित सञ्चालन हुनेमा चुनौती देखिएको छ । 

हिउँदे अधिवेशनबाटै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएको सहकारीको रकम हिनामिनामा संसदीय समिति गठनबारे दलहरू सहमतिमा नपुग्दा आउँदो अधिवेशन पनि प्रभावित हुने देखिएको हो । आगामी अधिवेशनको काम कारबाही र संसदीय समिति गठनलगायतका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको सर्वदलीय बैठकका दलहरूले पुरानै अडान यथावत् राखेका छन् । 

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको ठुलो रकम हिनामिनामा बहालवाला उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकाले छानबिनको माग यथावत् राखेको छ । सर्वदलीय बैठकमा पनि कांग्रेसले पुरानै माग दोहोर्‍याएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा गृहमन्त्री लामिछानेले भने समिति आवश्यक नरहेको धारणा नै दोहोर्‍याउनुभएको छ । प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कांग्रेसको मागमा समर्थन जनाउँदै आएको छ । सर्वदलीय बैठकमा पनि राप्रपाले उक्त विषयमा समर्थन जनाएको छ । 

कांग्रेसले लामिछाने गृहमन्त्री कायम रहँदा मातहतको निकायले छानबिन गर्न नसक्नै भन्दै समिति माग गरेको हो । सर्वदलीय बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अधिवेशन प्रारम्भसम्म समिति गठनका लागि सत्तापक्ष तयार हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “सहकारीको रकम हिनामिना भएको त्यसमा बहालवाला मन्त्री प्रबन्ध निर्देशक रहनुभएको कम्पनीले समेत रकम हिनामिना गरेको स्पष्ट प्रमाण छन् । हामीले उहाँलाई शङ्काको सुविधा दिएका छौँ । आगामी अधिवेशन प्रारम्भ हुँदासम्म सत्तापक्ष समिति गठनका लागि तयार हुने छ भन्ने आशा छ ।”

सत्तापक्षका दलहरूले भने व्यक्ति केन्द्रित रूपमा समिति गठन हुन नसक्ने बताउँदै आएका छन् । सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले व्यक्ति केन्द्रित गरेर समिति गठन हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्ति केन्द्रित रूपमा समिति गठन हुँदैन भन्नेमा हामी स्पष्ट छौँ । सदनलाई प्रभावकारी रूपमा अघि बढाउन र चल्न दिन प्रतिपक्ष दल सकारात्मक भएको हामीले पाएका छौँ ।” सर्वदलीय बैठकमा सभामुख घिमिरेले भने छानबिन समिति गठनसँगै समितिको काम, कारबाही र प्रभावकारिताको विषय पनि उठाउनुभएको थियो । तर बैठकमा सहकारी रकम हिनामिनाको समिति गठन हुने वा नहुने विषयमा मात्र केन्द्रित भएको थियो ।  छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले समिति गठन कांग्रेसको बटमलाइन भएको बताउनुभएको थियो । उहाँले सदनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन प्रतिपक्ष जिम्मेवार र तयार भए पनि समिति गठनको माग यथावत् रहेको जानकारी दिनुभएको थियो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो संसदीय इतिहास बोकेको कांग्रेसले अघि सारेको माग यथार्थमा आधारित भएको टिप्पणी गर्नुभएको थियो । उहाँले गृहमन्त्री लामिछानेको संलग्नता कतैबाट पनि अहिलेसम्म पुष्टि नभएकाले संसदीय अभ्यास र मर्यादाविपरीत समिति गठनको आवश्यकता नभएको धारणा छलफलमा राख्नुभएको थियो । 

प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र रूपमा राज्यका निकायसँग आफूले गृहमन्त्रीबारे जानकारी लिएको र त्यसमा दोषी देखिने कुनै आधार नपाएको बताउनुभएको थियो । उहाँले आफूले यसअघि नै गृहमन्त्रीका विषयमा संसद्मा धारणा राखिसकेको पनि स्मरण बैठकमा गराउनुभएको थियो । 

गृहमन्त्री लामिछानेले टेकबहादुर गुरुङको निलम्बन फुकुवाको विषयलाई जोडेर कांग्रेसलाई नै प्रतिप्रश्न गर्नुभएको थियो । अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङको निलम्बन फुकुवाको माग लिएर सभामुखलाई कांग्रेसले दबाब दिएको भन्दै कुनै अभियोगसमेत नलागेको अवस्थामा आफूमाथि कांग्रेसले व्यक्तिगत प्रहार गरेको गृहमन्त्री लामिछानेले बताउनुभएको थियो । राप्रपाका ध्रुवबहादुर प्रधानले भने कांग्रेसले उठाएको मागमा नै समर्थन जनाउनुभएको थियो ।