बिकास अधिकारी
पश्चिम नवलपरासी, मङ्सिर १ गते । पश्चिम नवलपरासीका उखु किसानले तत्काल न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् । उखु क्रसिङ्गको समय सुरु भइसकेकाले तत्कालै उखुको उचित मूल्य तोक्न किसानहरूको माग छ । अब केही दिनमा जिल्लाका चिनी उद्योग पनि सञ्चालनको तयारीमा छन् ।
समयमै मूल्य नतोकिदा हरेक वर्ष आफूहरूले घाटा ब्यहोर्नु परेको किसानहरूको गुनासो छ । किसानको लगानी र पसिनाको मूल्य उठ्ने गरी न्यूनतम सर्मथन मूल्य तय गर्न किसानहरूको माग छ । मूल्य निर्धारण गर्न सरकारलाई ध्यानाकर्षण गराइसकेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष तथा उखु उत्पादक कृषक महासङ्घका सचिव उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।
उत्पादन लागतअनुसार प्रतिक्विन्टल ८ सय रुपियाँ मूल्य तोक्न सरकारसँग माग गरेको यादवको भनाइ छ । किसानहरूको उत्पादन लागत र चिनीको मूल्यको आधारमा किसान र उद्योगीबिचको समन्वयमा उचित मूल्य निर्धारण गर्न सरकारलाई आग्रह गरेको महासङ्घले जनाएको छ । मङ्सिर पहिलो हप्ता भित्र सर्मथन मूल्य तोकिने सरकारको तर्फबाट जानकारी आएको अध्यक्ष यादवले बताउनुभयो ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष जिल्लामा उखु उत्पादन घट्दै गएको छ । यस वर्ष नवलपरासीमा करिब १५ लाख क्विन्टल सम्म उखु उत्पादन हुने अनुमान छ । जिल्लामा लुम्बिनी, बागमती र इन्दिरा चिनी मिल सञ्चालनमा छन् । सरकारले गत वर्ष ५ सय ८५ रुपियाँ प्रतिक्विन्टल उद्योगले र ७० रुपियाँ सरकारले अनुदान दिने गरेर मूल्य तोकेको थियो ।