• ६ जेठ २०८१, आइतबार

घट्यो पेट्रोलियम पदार्थको खपत

blog

काठमाडौँ, वैशाख २५ गते । बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो । इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ । नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्याङ्क छ ।

 निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा डिजेलको माग कम हुँदा खपतमा कमी आएको जानकारी दिनुभयो । विद्युतीय सवारीको प्रयोगसँगै विकास निर्माणका काम तीव्र गतिमा विस्तार नहुँदा डिजेलको खपतमा कमी आएको उहाँको भनाइ छ । ग्यासको खपतमा समेत कमी आएको छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगले गर्दा पनि ग्यासको खपत घट्दै गएको हो । ग्यासमा भन्दा विद्युतीय चुलोको प्रयोग सस्तो पर्ने हुँदा पछिल्लो समय  ग्राहकहरू विद्युतीय चुलोको बढी प्रयोग गर्ने गरेका छन् । विद्युतीय चुलोको प्रयोग छिटो छरितो हुने गर्दा पनि धेरैको भन्सारमा यसको प्रयोग हुने गर्छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा दुई खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । आन्तरिक बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको हो । 

विभागका अनुसार नौ महिनाको अवधिमा एक खर्ब तीन अर्ब रुपियाँको डिजेल आयात भएको छ । यस्तै सो अवधिमा ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्ब रुपियाँ बराबरको एलपी ग्यास आयात भएको छ । यस्तै १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ । 

चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा सरकारले ७५ अर्ब पाँच करोड ४३ लाख ८३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । 

भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको पाँच लाख छ हजार १५९ किलोलिटर पेट्रोल आयात भएको छ । 

सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपियाँ राजस्व प्राप्त भएको सङ्कलन भएको छ । यस्तै नौ महिनामा एक खर्ब तीन अर्ब २२ करोड ८४ लाख १५ हजार रुपियाँ बराबरको नौ लाख ८६ हजार ९५० किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार  राजस्व प्राप्त भएको छ । 

नौ महिनाको ४१ अर्ब ७६ करोड ४६ हजार रुपियाँ बराबरको ३९ करोड २३ लाख छ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । सोबापत सरकारलाई सात अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपियाँ सङ्कलन राजस्व आएको छ । 

विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ । औद्यौगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेलको खपत हुने गर्छ ।