• १८ असार २०८१, मङ्गलबार

काँग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा खतिवडा

blog

ओखलढुङ्गा, बैशाख ८ गते । निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा मनोनयन हुनुभएको छ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले केन्द्रीय सदस्य खतिवडालाई संयोजकमा मनोनयन गरेको हो । 

पार्टीका उपसभापति एवम् संयोजक पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुभएको पत्रमा उहाँलाई सो जिम्मेवारी तोकिएको हो । निर्वाचन प्रचार अभियानलाई स्वस्थ र मर्यादित बनाउँदै स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा मतदान गर्न पाउने मतदाताको मौलिक हकलाई सुनिश्चित गर्न यस निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको मुख्य भूमिका हुनेछ । 

मतदान स्थल, मतदान प्रक्रियाका सबै चरण तथा मतगणनाको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्मको निर्वाचनको सबै सुरक्षा व्यवस्था सुनिश्चितताका लागि सुरक्षा निकायसँग आवश्यकताअनुसार सम्पर्क समन्वय गरेर काम गर्ने संयोजक खतिवडाले बताउनुभयो । 

देशभरका नेपाली काँग्रेसका मतदातालाई भयरहित, शान्ति सुरक्षा सुनिश्चितता गर्नका लागि जोड दिइने नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजक खतिवडाको भनाइ छ ।