• ६ जेठ २०८१, आइतबार

सडक पूर्वाधारमा सुरुङ

blog

सरकारले सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सुरुङमार्ग निर्माणमा जोड दिएको छ । समृद्धि र विकासलाई तीव्रता दिन सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको हो । सरकारको नीतिमा नै सुरक्षित र दिगो सडक बनाउने उल्लेख छ । अहिलेसम्म सडक पूर्वाधारहरू मात्र पहुँचको दृष्टिकोणले निर्माण गरिएको पाइएको छ । अहिले विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण भइरहेका छन् भने थप सुरुङमार्ग निर्माण गर्न विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन, वातावरण प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण तथा आर्थिक स्रोत जुटाउनेलगायतका कामहरू भइरहेका छन् । यसरी मुलुकको सडक पूर्वाधारले पुरानो मोडेल छोडी नयाँलाई आत्मसात् गर्दै छ ।

पाँच वटा सडक सुरुङमार्ग निर्माणाधीन

सुरुङमार्गसम्बन्धी अध्ययन अनुसन्धान गर्ने सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले अहिले मुलुकभरि पाँच वटा सडक सुरुङमार्ग निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । केन्द्रका निर्देशक नरेशमान शाक्यले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजना अन्तर्गत तीन वटा, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग र बुटवल–पाल्पा मार्गको सिद्धबाबामा अहिले सुरुङमार्ग निर्माण भइरहेका छन् ।

मुलुकको ‘गेम चेन्जर’ आयोजनाको रूपमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना अन्तर्गतका सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । त्यसै गरी, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गतको मुख्य सुरुङमार्ग र आपत्कालीन सुरुङमार्ग छिचोलिसकिएको छ भने बुटवल–पाल्पा मार्गको सिद्धबाबामा तीव्र गतिमा सुरुङमार्ग खन्ने काम भइरहेको छ । 

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना अन्तर्गत छ वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेमा अहिले तीन वटा निर्माणको क्रममा छन् भने तीन वटा निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको सो आयोजना निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाले जनाएको छ । दु्रतमार्ग आयोजना अन्तर्गत निर्माणाधीन तीन वटा सुरुङको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये अब १.५२९ किलोमिटर मात्र खन्न बाँकी छ । उक्त आयोजना अन्तर्गत अहिले लेनडाँडामा (१.४३० किलोमिटर), धेद्रेमा (१.६३० किलोमिटर) र महादेवटारमा (३.३५५ किलोमिटर) सुरुङ निर्माणाधीन छन् । आयोजनाका अनुसार महादेवटारमा ३.३५५ किमिमध्ये २.१३८ किमि सुरुङ खन्ने काम सकिएको छ । त्यस्तै धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.३९८ किमी सुरुङ खन्ने काम सकिएको छ । १.४३० किमी दुरी रहेको लेनडाँडा सुरुङ १.३५० किमी खनिसकिएको आयोजनाले जनाएको छ । 

केन्द्रका निर्देशक शाक्यले अहिलेसम्म नेपालमा पहुँच पु¥याउने उद्देश्यले मात्र सडक पूर्वाधार निर्माण गरिएका कारण यहाँका सडकहरू घुमाउरा भएको बताउनुहुन्छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने गर्छ । त्यसै गरी, अहिलेसम्म निर्माण गरिएका सडकहरूमा बढी उकालो ओरालो (ग्रेड नमिलेका) हुने गरेको बताउँदै उहाँले अबको सडक पूर्वाधार निर्माणको ढाँचामा नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुहुन्छ । अब सडक निर्माणको व्रmममा अग्लो डाँडा भएको ठाउँमा सुरुङ बनाउने र गहिरो ठाउँमा अग्ला अग्ला पुल बनाउनुको विकल्प नरहेको उहाँको भनाइ छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार अहिले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (२.६७ किलोमिटर), सिद्धबाबा सुरुङमार्ग (१.१२ किलोमिटर) निर्माणाधीन छन् । त्यसै गरी, काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्ग (१.४३० किलोमिटर), धेद्रे सुरुङमार्ग (१.६३० किलोमिटर) र महादेवटार सुरुङमार्ग (३.३५५ किलोमिटर) निर्माणाधीन छन् ।

सात वटा सडक सुरुङमार्गको अध्ययन सम्पन्न

केन्द्रका निर्देशक शाक्यले अहिले निर्माणाधीन विभिन्न सुरुङमार्गबाहेक प्रस्तावित थप सात वटा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, धरान–लेउती सुरुङमार्ग, सुनसरी (३.८७ किलोमिटर) को सम्भाव्यता अध्ययन सम्पन्न भई चालु आर्थिक वर्षमा यस आयोजनाका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

त्यसै गरी, खुटिया–बिपी नगर–दिपायल सुरुङमार्ग कैलाली डोटी (७.०१ किलोमिटर), गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङमार्ग, ललितपुर काभ्रेपलान्चोक (३.६५ किलोमिटर), बिहुँ नरेठाटी सुरुङमार्ग बागलुङ  (७.४४ किलोमिटर), प्रवास–जोर्ते सुरुङमार्ग पाल्पा (४.०० किलोमिटर), कुलेखानी–भीमफेदी सुरुङमार्ग, मकवानपुर (३.१६५ किलोमिटर) र खुर्कोट–सिन्धुली, सिन्धुली (४.९० किलोमिटर) सुरुङमार्ग निर्माणका लागि अध्ययन सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तावित यी सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भए पनि यिनीहरूको निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेट विनियोजन गरिएको छैन ।

आठ वटा सुरुङमार्गको अध्ययन हुँदै

केन्द्रका निर्देशक शाक्यका अनुसार अहिले देशभरि प्रस्तावित आठ वटा सुरुङमार्गको अध्ययन भइरहेका छन् । उहाँका अनुसार फुस्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडीकोला सुरुङमार्ग कास्कीको अध्ययन भइरहेको छ । प्रस्तावित यस सुरुङमार्गको अध्ययनका लागि २०८० वैशाख ७ गते सम्झौता भई अहिले अध्ययन भइरहेको छ । त्यसै गरी, रारा राजर्मागको कुशे पाटन ब्याउलीढुङ्गा (जाजरकोट) र इमिलचा खोला (जुम्ला) सुरुङमार्गको अध्ययन भइरहेको छ । यसका लागि २०८० वैशाख ७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार परामर्शदाता कम्पनीले प्रस्तावित सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत निर्माण गर्ने छ ।

त्यसै गरी ताथली–भक्तपुर–रविओपी (काभ्रे) सुरुङमार्ग निर्माणका लागि अध्ययन भइरहेको केन्द्रका निर्देशक शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तावित यस सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसँग २०८० वैशाख ७ गते सम्झौता भएको थियो । त्यसै गरी, बबई–छिन्चु सुरुङमार्ग, बर्दिया (सम्झौता मिति २०७९ असार १६), मझिम्टार (धादिङ)–शक्तिखोर (चितवन) सुरुङमार्ग  (सम्झौता मिति २०८० पुस २), सुनमाई–राजदुबोल सुरुङमार्ग, इलाम (सम्झौता मिति २०८० असोज २५), हेम्जा नयाँपुल सुरुङमार्ग कास्की (सम्झौता हुन बाँकी) र दुम्कीबास–बर्दघाट सुरुङमार्ग (सम्झौता हुन बाँकी) को अहिले अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी, बेँसीसहर–नाल्म बेँसी सुरुङमार्ग (लमजुङ–मनाङ), लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर–लुहाम सुरुङमार्ग र पाँडीनी गाउँपालिकादेखि दुर्गाफाँटा सुरुङमार्ग (अर्घाखाँची) सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि चालु आर्थिक वर्षमा क्रमशः ५० लाख, ३० लाख र २० लाख रुपियाँ विनियोजन गरिएको निर्देशक शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भाव्यता अध्ययनका लागि चालु आर्थिक वर्षमा नै ठेक्का आह्वान गरिने छ ।

४१६ किलोमिटर सुरुङ निर्माण सम्पन्न

नेपाल टनेलिङ एसोसिएसनका अध्यक्ष तथा सुरुङ विषयमा विद्यावारिधि गर्नुभएका डा. ज्ञानेन्द्रलाल श्रेष्ठले नेपाल सुरुङ युगमा प्रवेश गर्दै भन्ने चर्चा चलिरहेको अवस्थामा विभिन्न प्रयोजनका लागि मुलुकमा अहिलेसम्म ४१६ किलोमिटर सुरुङ निर्माण भइसकेको जानकारी दिनुभयो । राजनीतिक अस्थिरता र आवश्यक पुँजीको अभावमा मुलुकले अहिलेसम्म आधुनिक सुरुङ प्रविधिलाई आत्मसात् गर्न नसकेको उहाँको धारणा छ ।

एसोसिएसनका अनुसार अहिलेसम्म मुुलुकमा सबभन्दा बढी ३५० किलोमिटर हाइड्रोपावर सुरुङ निर्माण भइसकेको छ । त्यसै गरी, खानेपानी वितरण सुरुङ २७ किलोमिटर, सिँचाइ सुरुङ २५ किलोमिटर, सडक सुरुङ ११ किलोमिटर, खानी सुरुङ दुई किलोमिटर, ढल निकास सुरुङ ५२२ मिटर र म्युजियम सुरुङ ०.३ किलोमिटर रहेका छन् । त्यसै गरी, अहिले ३१२ किलोमिटर विभिन्न प्रकारका सुरुङ निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

जलविद्युत्मा सबभन्दा बढी प्रयोग

नेपालमा अहिले सुरुङको सबभन्दा बढी प्रयोग जलविद्युत्मा रहेको छ । अहिले मुलुकमा निर्माणाधीन ११४ वटा परियोजनामध्ये ५० वटामा सुरुङ निर्मण भइरहेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सुरुङमार्गको इतिहास

नेपालको परिपेक्ष्यमा सबभन्दा पहिले १७ औँ शताब्दीमा पाल्पाको अर्गाली भन्ने ठाउँमा सिँचाइ सुरुङ निर्माण गरिएको थियो । विश्व परिप्रेक्ष्यमा बेलायतमा सबभन्दा पहिले सन् १७९३ मा ‘फ्रिचली टनेल’ भन्ने रेलवे टनेल निर्माण गरिएको थियो । सुरुङ प्रविधिको सुरुवातको दृष्टिकोणले नेपाल विश्वमा नै अगाडि रहे पनि त्यसको आधुनिकीकरण र व्यवस्थापन हुन नसकेको हो । नेपालमा सुरुङको भविष्य राम्रो देखेर नै त्रिभुवन विश्वविद्यालयको पोखरा क्याम्पसमा सुरुङ विषयमा स्नाकोत्तरसम्मको अध्ययन सुरु गरिएको छ । 

अहिले मुलुकमा आधुनिक सडक सुरुङमार्ग निर्माणको काम सुरु भए पनि सिँचाइ, जलविद्युत्, खानी, खानेपानी, ढल निकासलगायतका प्रयोजनका लागि निर्माण गरिएका सुरुङको इतिहास लामो रहेको छ । नेपालमा अहिलेसम्म रेल्वे सुरुङमार्ग निर्माण भएको छैन । नेपालमा भूमिगत संरचना निर्माणको इतिहास करिब दुई हजारभन्दा पुरानो छ । मुस्ताङमा रहेका हजारौँ गुफा र भूमिगत घरहरू यसका उदाहरण हुन् ।

नेपाल टनेलिङ एसोसिएसनका अनुसार नेपालमा मानव निर्मित सुरुङको प्रयोग चार सय वर्ष पुरानो छ । पहिलो सुरुङको निर्माण पाल्पाको अर्गालीमा भएको बताइन्छ । यो सुरुङको लम्बाइ १.५ किलोमिटर रहेको छ । मुलुकको पहाडी भेगमा सिँचाइ कुलो निर्माण गर्ने क्रममा सुरुङ निर्माण भएको पाइन्छ । नेपालको बागलुङ क्षेत्रमा ‘आग्री’ भन्ने जातिको पेसा नै पहाडमा सुरुङ निर्माण गर्ने भएको पाइन्छ । यी जातिद्वारा तनहुँको साँगे पत्यानी सिँचाइ योजनामा निर्माण गरिएको सुरुङ अहिले पनि सञ्चालनमा छ । यी जातिहरूद्वारा नै पाल्पाको छेर्लुङ र अर्तुङ्गा भन्ने ठाउँमा राणाकालमै ‘जेठी कान्छी’ भन्ने कुलो निर्माण गरिएको पाइन्छ ।

एसोसिएसनका अनुसार नेपालमा पहिलो सिँचाइ सुरुङ (टनेल) १७ औँ शताब्दीमा पाल्पाको अर्गाली भन्ने ठाउँमा निर्माण गरिएको थियो भने पहिलो सडक सुरुङ सन् १९१७ मा बाराको चुरियामाईदेखि अमलेखगन्जसम्म निर्माण गरिएको थियो । चुरियामाई सुरुङलाई एसियाकै पहिलो सडक सुरुङको रूपमा मान्ने गरिन्छ । यसको लम्बाइ २३९ मिटर छ । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको थियो । यो सुरुङमार्ग इन्जिनियर डिल्लीजङ्ग थापाले डिजाइन गर्नुभएको थियो । यो सुरुङमार्गलाई एसियाकै पहिलो भनेर पनि दाबी गरिन्छ । चुरिया सुरुङको उचाइ पाँच मिटर छ भने चौडाइ पाँच मिटर छ । 

त्यसै गरी, सन् १९७४ मा पहिलो हाइड्रो टनेल बुटवलको तिनाउमा निर्माण गरिएको थियो जसको लम्बाइ १.३ किलोमिटर रहेको छ । खानी उत्खनन प्रयोजनका पहिलो पटक सन् १९८५ मा गणेश हिमालमा खानी सुरुङ निर्माण गरिएको पाइन्छ । यसको लम्बाइ दुई किलोमिटर छ । गणेश हिमालमा गरिएको उत्खनन अहिले बन्द अवस्थामा छ । एसोसिएसनका अनुसार, नेपालमा खानी सुरुङको इतिहास करिब एक हजार वर्ष पुरानो रहेको छ । स्वदेशको खानीबाट नै तामा र पितललगायतका वस्तुहरूको उत्खनन गरी लिच्छिविकालमा मुद्दाको निर्माण गरी चलनचल्तीमा ल्याइएको थियो ।

त्यसै गरी, ढल निकासका लागि पहिलो पटक सन् २००१ मा काठमाडौँको तिलगङ्गादेखि ताम्रगङ्गासम्म ५२२ मिटर सुरुङ निर्माण गरिएको थियो । सन् १९१८ मा खानेपानी प्रयोजनका लागि पहिलो पटक मेलम्चीमा २७ किलोमिटर खानेपानी सुरुङ निर्माण गरिएको थियो । त्यसै गरी, सन् २०१९ मा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनामा पहिलो पटक टनेल बोरिङ मेसिन (टिबीएम) प्रविधिद्वारा सुरुङ निर्माण गरिएको थियो । यस सुरुङको लम्बाइ १२ किलोमिटर छ । त्यसै गरी, सन् २०१९ मा बागलुङमा पहिलो पटक भूमिगत शालिकराम म्युजियमका लागि ०.३ किलोमिटर सुरुङ निर्माण गरिएको थियो । सुनकोशी मोरिन डाइभर्सनमा पनि सुरुङ निर्माण भइरहेको छ । यस आयोजनाको सुरुङ पनि टनेल बोरिङ मेसिन  (टिबिएम) प्रविधिद्वारा नै निर्माण गरिएको छ । सुनकोशी मोरिन डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ यही वैशाख २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने कार्यक्रम तय भइसकेको छ ।

सुरुङमार्ग सबै दृष्टिकोणले उपयुक्त 

सुरुङविज्ञ डा. श्रेष्ठले नेपाल जस्तो भूबनोट भएको मुलुकमा यातायातका लागि सबभन्दा उपयुक्त सडक सुरुङ हुन सक्ने बताउँदै सुरुङ निर्माण सडकभन्दा केही महँगो भए पनि सञ्चालन खर्च र जोखिमको दृष्टिकोणले सडकको तुलनामा न्यून रहेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘सुरुङ यातायातमा बाढी, पहिरो र दुर्घटनाको सम्भावना न्यून हुने गर्छ । सबभन्दा प्रमुख कुरा सुरुङ वातावरणमैत्री हुने गर्छ । यसको निर्माणले भूक्षयीकरण तथा बाढीपहिरोलाई निम्त्याउँदैन । सुरुङमार्गको प्रयोगले सडकको तुलनामा कैयौँ गुणा कम समय र दुरीमा गन्तव्यमा पुग्न सकिन्छ ।’’

भौतिक पूर्वाधारको सबै क्षेत्रमा लोकप्रिय र सहज बन्दै गएको सुरुङ प्रविधि आजको युगीन आवश्यकता भएको बताउनुहुन्छ पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य । “सुरुङ निर्माणले जमिनको भौगर्भिक अवस्थालाई खलबल्याउँदैन,” उहाँले भन्नुभयो, “५० प्रतिशतभन्दा बढी जनसङ्ख्या पहाड हिमालमा नै बसोबास गर्ने नेपाल जस्तो मुलुकमा विकासको क्रममा वातावरणको विनाश र प्राकृतिक जोखिमलाई न्यून गर्न सुरुङ प्रविधिको विकल्प हुन सक्दैन । हिमाली र पहाडी भूभागमा सुरुङको सान्दर्भिकता झन् बढी छ ।”

‘‘यसको निर्माणले पहिरो जाने, जमिनको क्षयीकरण हुने जस्ता समस्या आउँदैन । हाम्रो जस्तो मुलुकमा गन्तव्यसम्म पुग्न सुनिश्चित र सुरक्षित यात्राका लागि सुरुङमार्गको निर्माण आवश्यक छ । यसले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पु¥याउँछ’’ उहाँले भन्नुभयो, ‘‘यसले सुरक्षित यातायात प्रणालीको विकास गर्ने गर्छ । जापान, स्विट्जरल्यान्ड जस्ता पहाडी मुलुकहरूको विकासमा सुरुङमार्ग निर्माणको महìवपूर्ण भूमिका रहेको छ ।’’