• १० जेठ २०८१, बिहिबार

शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ

blog

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङको सदरमुकाममा अवस्थित नगरपालिका हो । सामुद्रिक सतहबाट सात सय मिटरदेखि दुई हजार २५० मिटरसम्मको उचाइमा अवस्थित नगरपालिका कुल २४६.५१ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । खोटाङको तत्कालीन सदरमुकाम रहेको साबिकको दिक्तेल गाविस र आसपासका लफ्याङ, खाल्ले र बाम्राङ गाविसलाई समेटेर विसं २०७१ मा दिक्तेल नगरपालिका घोषणा भएको थियो । सङ्घीय नेपालको पुनर्संरचनासँगै सदरमुकाम दिक्तेलमा केन्द्र रहने गरी २०७३ फागुन २७ गते साबिकको दिक्तेल नगरपालिका र साबिकका नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा, पाथेका, खार्मी, जालपा, नुनथला, बुइपा र विजयखर्क गाविसलाई समावेश गरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको गठन भयो । स्थानीय तहको दोस्रो निर्वाचन–२०७९ मा नगर प्रमुख पदमा निर्वाचित भएर नगरपालिकाको नेतृत्व गरिरहनुभएका तीर्थराज भट्टराईसँग गोरखापत्रका खोटाङ समाचारदाता राजकुमार भट्टराईले गर्नुभएको कुराकानी :

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई समृद्ध बनाउन के के गर्दै हुनुहुन्छ ?

समृद्ध नगर निर्माण गर्न जिल्लाकै विज्ञ समूह गठन गरेका छौँ । उहाँहरूसँगको परामर्शमा योजना बनाएर अगाडि बढिरहेका छौँ । स्थानीय स्रोत र साधनको अधिकतम सदुपयोग गर्ने प्रयत्न गरिरहेका छौँ । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग पनि समन्वय गरेर नगरपालिकाको समृद्धिका लागि योजना बनाएका छौँ । काम गरिरहेका छौँ । हाम्रो समन्वयमा अमेरिकी संस्थाले स्वास्थ्य क्षेत्रका विभिन्न सामग्री पनि दिँदै छ । हामीसँग भएको स्रोत र साधनको अधिकतम उपयोग गर्दै नागरिकको आवश्यकता अनुसार काम गरिरहेका छौँ । प्रदेश र सङ्घीय सरकारले दिएको बजेटलाई सदुपयोग गरेका छौँ, कतै चुहावट हुन दिएका छैनौँ । फजुल खर्च गरेका छैनौँ । कृषि, स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विद्युत् सबै क्षेत्रमा आवश्यकता अनुसार काम गरिरहेका छौँ ।

तपाईंहरूको मुख्य प्राथमिकता के हो ?

हाम्रो पहिलो प्राथमिकता शिक्षा हो तर धेरै कामचाहिँ गर्न सकेका छैनौँ । सङ्घीय शिक्षा ऐन र नगर शिक्षा ऐनले दिएको अधिकारलाई सदुपयोग गरेर अघिल्लो वर्ष प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने परम्पराको थालनी गरेका छौँ । कतैबाट प्रश्न नउठ्ने गरी निष्पक्ष परीक्षा गरेर सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेका छौँ । शिक्षा सुधार कार्यदल नै बनाएर काम गरिरहेका छौँ । अब नगरपालिकामा हामी व्यावहारिक शिक्षा लागु गर्दै छौँ । कार्यदलले दिएको सुझाव अनुसार शिक्षामा सुधार गर्न नगरपालिका लाग्ने छ । कार्यदलले स्वयंसेवकका रूपमा काम गरिरहेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न सकिन्छ त ?

पक्कै सकिन्छ । नगरपालिका, शिक्षक, अभिभावक हामी सबैले यसमा सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्छ । सबैसँग सहकार्य गरेर समस्या समाधान गर्छौं । शिक्षकले पनि अहिले यो कुरा बुझ्नु भएको छ । जसरी पनि समाधान गर्छौं । वडा वडामा हामीले स्थानीय पाठ्यव्रmम बनाउन विज्ञ उत्पादन गरेका छौँ । स्थानीय पाठ्यव्रmम अब भूगोल, संस्कृति अनुसार वडा वडामा फरक हुन्छ ।

कृषिबाट नागरिकलाई आत्मनिर्भर बनाउन के गर्दै हुनुहुन्छ ?

हामीलाई यसमा ठुलो चुनौती छ । हामीले हाम्रा छोराछोरीलाई माटो छुन दिएनौँ, एउटा थाल माझ्न दिएनौँ र बच्चा अल्छी बनाएका छौँ । युवा जनशक्ति बिदेसिएका छन् ।  त्यसैले ठुलो चुनौती छ तर जति पनि देशमा बसेर कृषि कर्म गर्दै हुनुहुन्छ हामीले उहाँहरूलाई कागजी अनुदान हैन उत्पादनका आधारमा अनुदान दिने गरेका छौँ । कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेका छौँ । एक गाडी कृषि उपज हुनेबित्तिकै गएर बजारसम्म ल्याइदिने गरेका छौँ । बैङ्कसँग समन्वय गरेर न्यून ब्याजदरमा कृषकलाई ऋण दिने व्यवस्था मिलाएका छौँ । पशु तथा कृषि स्रोत केन्द्र र फलफूल प्रशोधन केन्द्र निर्माण भइरहेको छ । बाँदर, दुम्सीलगायतका जङ्गली जनावरले कृषकलाई धेरै दुःख दिएका छन् । यो समस्याको समाधानका लागि प्रधानमन्त्रीलाई समेत अवगत गराएका छौँ । 

पर्यटक भिœयाउन अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीसमेत गर्नुभयो, उपलब्धि के भयो ?

हाम्रो नगरपालिका पर्यटनमा धेरै सम्भावना भएको ठाउँ हो । नजिकै हलेसी छ, त्यहाँ विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीको ठुलो आस्था छ । त्यहाँ आएका मानिसलाई दिक्तेलमा ल्याउन सक्नु पर्छ । त्यही सम्भावनालाई दृष्टिगत गरेर गत वर्ष ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला’ सम्पन्न गरेका छौँ । नेपालसहित १५ वटा देशका वरिष्ठ चित्रकार आएर चित्र बनाउनुभयो । त्यो बनेका चित्र काठमाडौँमा लगेर प्रदर्शनी ग-यौँ । राष्ट्रपति, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीदेखि नेपालका वरिष्ठ व्यक्तिले अवलोकन गर्नुभयो । दुई सयभन्दा बढी चित्र बनेका छन्, ती चित्र अब दिक्तेलमा ल्याएर सङ्ग्रहालय बनाएर राख्छौँ । सङ्ग्रहालयमा पुराना सामग्री १५ वटै वडाबाट सङ्कलन गरेर राख्छौँ । हामीले चित्रकलाको कार्यव्रmम गरेपछि देश विदेशबाट हामीलाई निम्तो आइरहेको छ । अन्तर्राष्ट्रिय संस्थाले विभिन्न प्रोजेक्ट गर्र्छौं भनेर हाम्रो ठाउँलाई खोज्दै आउनुभएको छ । चित्रकला कार्यव्रmमले तत्कालै धेरै उपलब्धि नहोला तर दीर्घकालीन रूपमा धेरै फाइदा हुने छन् । भर्खरै मात्र कृषि वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपतिलगायत विज्ञको टोली आएर यहाँ अनुसन्धान केन्द्र बनाउन छलफल भएको छ । मझुवागढी क्षेत्रको मझुवा भिरमा भर्खरै मात्र रक क्लाइम्बिङको सफल परीक्षण भएको छ । मझुवागढी क्षेत्रलाई सौन्दर्यीकरण गर्न धमाधम काम भइरहेका छन् । नगरपालिकाभित्रका अन्य धार्मिक तथा पर्यटकीय स्थलको विकासमा पनि लागिरहेका छौँ ।

नगरपालिकाको भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?

दिक्तेल हाडडाँडामा अहिले पशु तथा कृषि स्रोत केन्द्र बन्दै छ । त्यो काम अन्तिम चरणमा पुगेको छ । फलफूल प्रशोधन केन्द्र नेर्पामा बन्दै छ । बजार व्यवस्थापनका लागि प्रदेशबाट आएको बजेटबाट काम भइरहेको छ । दिक्तेल बजार ढलानको काम धमाधम भइरहेको छ । मधेश जाने छोटो बाटो खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नति धमाधम भइरहेको छ । उक्त बाटो पूर्ण सञ्चालन हुँदा दुई घण्टा छोटो हुने छ । अन्य विभिन्न वडामा जाने सडक पनि स्तरोन्नतिदेखि ढलानसम्मको काम भइरहेको छ । हालसम्म जति भएको छ, यसमा म पनि सन्तुष्ट छैन । बर्खामा हिलाम्मे र दिउँदमा धुलाम्मे हुनुपर्ने अवस्था छ । करोडौँ लगानी गरेर बाटो पक्की गर्न नगरपालिकाको स्रोत छैन  । १८ वर्षअगाडि हेलिकोप्टरबाट जिप दिक्तेल ल्याइएको हो । अहिले सबै टोलमा सडक पुगेको छ । यसको विस्तारै स्तरोन्नति गर्दै जानु पर्छ ।

स्थानीय तहको सुशासन र पारदर्शितामा प्रश्नहरू उठ्ने गरेका छन् नि ?

यो प्रश्न मलाई सोध्नुभन्दा पनि म अरूलाई सोध्न चाहन्छु । हाम्रो नगरपालिकामा सुशासन र पारदर्शिता कस्तो छ भनेर तपाईंको कलमले पनि निष्पक्ष लेखिदिँदा हुन्छ । पहिलेको खर्च र हामी आएपछिको नगरपालिका सञ्चालनको खर्च मात्रै छुट्याउने हो भने पनि काफी छ । कुन सूचना आवश्यकता पर्छ भने हामी दिन तयार छौँ । सबै हेर्दा हुन्छ । मैले त झन् घुम्ने कुर्सी हटाएर बाँसको कुर्सीमा बसेको छु । मैले पाँच वर्षपछि बाँसकै कुर्सीमा झर्नु छ, त्यसैले अहिले घुम्ने कुर्सीमा बस्न आवश्यक ठानिनँ । मेरो कक्षमा बाँसको कुर्सी र टेबल राखेको छु, यहाँ आउने सेवाग्राहीलाई पनि बाँसको कुर्सीमा राडी ओछ्यार स्वागत गरिरहेको छु । हामी बाँसको प्रवर्धन गर्न लागिरहेका छौँ । यसबाट विभिन्न आकर्षक सामग्री निर्माण हुन्छ, त्यसैले यसको प्रवर्धन गर्नु पर्छ । यसको अध्ययन केन्द्र निर्माणका लागि छलफल भइरहेको छ । अब एक वर्षसम्ममा बाँसको कपमा चिया खान पाउनु हुने छ । हामी बाँसको सङ्ग्रहालय नै बनाउनु पर्छ भनेर सोचिरहेका छौँ ।