• ५ जेठ २०८१, शनिबार

‘आर्थिक विकासमा ग्रिल तथा स्टिलजन्य व्यवसाय अपरिहार्य’

blog

काठमाडौँ, वैशाख २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रिल तथा स्टिलजन्य व्यवसाय अपरिहार्य भएको बताउनुभएको छ । 

ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालको २९ औँ स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री तामाङले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रिल तथा स्टिल उद्योगहरूको संरक्षण र प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । 

विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवर्धन गर्न सके मात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने उहाँको भनाइ छ ।

आधुनिक निर्माण व्यवसाय अगाडि बढ्छ त्यति नै यो क्षेत्रको जिम्मेवारी बढ्ने बताउँदै मन्त्री तामाङले भन्नुभयो, “दिनदिनै सहरीकरण बढ्दो छ आधुनिक भवन र पूर्वाधार निर्माण तीव्र रूपमा भइरहेको धारणा राख्नुभयो । पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रिल तथा स्टिल उद्योगहरूको भविष्य उज्ज्वल रहेकाले निराश र विचलित नभई अगाडि बढ्नूस् यो व्यवसायको भविष्य उज्ज्वल छ मन्त्री तामाङले भन्नुभयो । 

ग्रिल तथा स्टिल उद्योग र व्यवसायीको हितका लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रम कसरी समावेश गर्न सकिन्छ भन्नेबारे सम्बन्धित विभागीय मन्त्रीहरूसँग छलफल गरी समस्या समाधानको बाटो खोज्न आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

लाखौँ श्रमशक्तिलाई नेपालमै राखेर यो व्यवसायले देशलाई योगदान दिएकाले राज्यले पनि यो व्यवसायप्रति गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारीले यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य निर्माण गरेर देशलाई असफल राष्ट्र बनाउन लागिपरेका दलाललाई माथ खुवाउँदै यही देशमा भविष्य देखेर पुँजीसँगै श्रमको समेत लगानी गरेका ग्रिल तथा स्टिल व्यवसायीको पीरमर्काका बारेमा आफूले सम्बन्धित ठाउँमा कुरा उठाउने बताउनुभयो ।

महासङ्घका अध्यक्ष ठुलोबाबु श्रेष्ठले व्यवसायीका तर्फबाट गर्नुपर्ने सुधारहरू तथा मापदण्ड पु¥याउँदा पनि नेपाल सरकारले व्यवसाय दर्ता गर्न आनकानी गर्न थालेपछि त्यसको कानुनी तथा व्यावहारिक उपचारको खोजी किन नगर्ने भन्दै प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योगमन्त्री, ऊर्जा तथा जलस्रोतमन्त्रीलगायतसँग भेटघाट गरी सातबुँदै ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

ग्रिल तथा स्टिल व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकाले कर्मचारीको दक्षताका आधारमा श्रम ऐनबमोजिम सेवा सुविधासहितको कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियमबमोजिम जीवन बिमा, म्यादी बिमा, स्वास्थ्य बिमा, मूल्यमा एकरुपता गर्दै लैजाने विषयमा महासङ्घले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रमहरू बनाउने तथा यसै वर्ष मूल्यसूची प्रकाशन गरी आमव्यवसायीको व्यवसायमा पु¥याउने कार्य भइरहेको बताउनुभयो । 

महासङ्घको नेतृत्व सफल हुनु भनेको आमव्यवसायी तथा सङ्गठनका सबै पदाधिकारी सफल हुनु रहेको बताउँदै यसलाई मनन गरेर सामूहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुुभयो ।