• १८ असार २०८१, मङ्गलबार

गठबन्धनमा सहमति, उम्मेदवारीमा अडान

blog

सचिन पोख्रेल

विराटनगर, वैशाख ८ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ का चौध जिल्लाका अधिकांश स्थानीय तहमा सत्ता साझेदार दलबीच गठबन्धन गरेर जाने सहमति भएको छ । प्रदेश १ मा रहेको एक महानगरपालिका, दुई उपमहानगरपालिकासहित १३७ स्थानीय तहमध्ये अधिकांशमा सत्ता साझेदार दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भइरहेको नेपाली काँग्रेसका प्रदेश समिति सभापति उद्धव थापाले बताउनु भयो । 

अधिकांश स्थानीय तहमा सहमति जुटाउन प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका गठबन्धन दलका समिति तथा नेता कार्यकर्ताबीच छलफल गरिएको छ । यस क्रममा अधिकांश जिल्लामा गठबन्धन दलबीच सहमति गरेर निर्वाचनमा जाने कुरा भए पनि दलले उम्मेदवार चयन गरिसकेका छैनन् । यसबाहेक केही स्थानीय तहमा भने केही दलहरूले आ–आफ्नै तर्फबाट उम्मेदवारीका लागि दाबी गरिरहेका कारण सहमति जुटिसकेको छैन ।

ताप्लेजुङमा सहमति

ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकका अनुसार ताप्लेजुङमा स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलबीच गठबन्धन गरेर जाने सहमति भएको छ । जिल्लाको एक नगरपालिकासहित नौवटा स्थानीय तहमा गठबन्धन दलले साझा उम्मेदवार बनाएर निर्वाचनमा सहभागी हुने सहमति गरेका हुन् ।

जिल्ला रहेका सत्ता साझेदार दलबीचको बैठकले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन गर्ने सहमति जुटाएको हो । सत्ता साझेदार दलमध्ये जनता समाजवादी पार्टी नेपाल भने आफ्नो प्रस्ताव स्वीकार्य नहुने भएपछि छलफलको प्रारम्भमै बाहिरिएको थियो । 

यता सहमति भएअनुसार काँग्रेसले सातवटा स्थानीय तहको प्रमुख, दुई उपप्रमुख र ३८ वडामा नेतृत्व पाउने भएको छ । यस्तै माओवादी केन्द्रले दुई प्रमुख, पाँच उपप्रमुख र १७ वटा वडा तथा एकीकृत समाजवादीलाई दुई उपप्रमुख र पाँचवटाको नेतृत्व गर्नेगरी भाग लागेको जनाइएको छ । यसैगरी जिल्ला समन्वय समिति प्रमुख माओवादी केन्द्र र उपप्रमुख एकीकृत समाजवादीलाई दिने पनि गठबन्धन दलबीच सहमति भएको छ । 

लामो रस्साकसी २० औँ पटकसम्म सत्ता साझेदार दलबीच बैठक बसेर गठबन्धन गर्ने सहमति गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार हाङ्वाङले बताउनुभयो । 

भोजपुरमा सहमति

भोजपुर समाचारदाता गोकुल भुजेलका अनुसार स्थानीय तह निर्वाचनका लागि भोजपुरमा सत्ता गठबन्धनले निर्णय गरेको छ ।  जसमा नेपाली काँग्रेसलाई पाँच पालिका, नेकपा माओवादी केन्द्रलाई दुई पालिका र बाँकी दुई पालिकालाई स्वतन्त्र गरिएको छ । नेपाली काँग्रेसले भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष, साल्पासिलिछो गाउँपालिका अध्यक्ष र हतुवागढी गाउँपालिकामा अध्यक्ष उम्मेदवार पाएको छ । यसै गरी नेकपा माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका अध्यक्ष, रामप्रसाद राई गाउँपालिका अध्यक्ष उम्मेदवार पाएकोे छ ।

सहमतिअनुसार काँग्रेसले रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकामा उपाध्यक्ष उम्मेदवार पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकमा उपाध्यक्ष उम्मेदवार पाएको छ । नेकपा एकीकृत (समाजवादीले) भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष उम्मेदवार पाएको छ ।

यता आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली काँग्रेस र माओवादी केन्द्रले आ–आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएका छन् । दलहरूका बीचमा स्थानीय तहका जम्मा ८१ वडा मध्ये कुन कुन वडामा गठबन्धन गर्ने भन्ने विषयमा छलफल जारी रहेको गठबन्धन दलका वार्ता संयोजक नेपाली काँग्रेसका जिल्ला सभापति विनोद बान्तवाले जनाउनुभयो । यता जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र नेकपा माओवादीलाई उपप्रमुख दिने सहमति भएको छ ।

काँग्रेस र माओवादी गठबन्धन

ओखलढुङ्गा समाचारदाता शेरबहादुर राईका अनुसार ओखलढुङ्गामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गठबन्धन हुने भएको छ । गठबन्धनमा आवद्ध दलबीच जिल्लामा पटक–पटक बसेको बैठकमा अरू दलसँग सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच तालमेल गरेर चुनावमा जाने सहमति भएको हो । मङ्गलबार बसेको काँग्रेस–माओवादी ‘वान टु वान’ वार्तामा माओवादीलाई चिशङ्खुगढी गाउँपालिका प्रमुख, सिद्धिचरण नगरपालिका उप–प्रमुख, मोलुङ गाउँपालिका उप–प्रमुख र चम्पादेवी गाउँपालिका उपप्रमुखसहित १४ वटा वडा दिने सहमति भएको नेपाली काँग्रेस ओखलढुङ्गाले जनाएको छ । 

यस बाहेक सुनकोसी, खिचिदेम्बा र मानेभञ्ज्याङ गाउँपालिका प्रमुख, उपप्रमुख नेपाली काँग्रेस आफैंले लिने भएको छ । लिखु गाउँपालिकाको विषयमा सहमति जुट्न नसकेपछि प्रदेश समितिमा सिफारिस गर्ने निर्णय भएको स्रोतले जनाएको छ । गठबन्धनका अरू दलसँग पनि तालमेलका लागि सहमति जुटाउन छलफल भइरहेको नेपाली काँग्रेसका एक नेताले जानकारी दिनुभयो । ओखलढुङ्गामा एक नगरपालिका, सात गाउँपालिकासहित ७५ वटा वडा छन् । 

भागबन्डा मिल्यो 

खोटाङ समाचारदाता राजकुमार भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले छवटा स्थानीय तहमा गठबन्धन गर्ने गरी भागबन्डा मिलाएका छन् । चार स्थानीय तहमा भने काँग्रेस एक्लै निर्वाचनमा लड्ने र अन्य तीन दलले तालमेल गर्ने निर्णय भएको छ ।  

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा चार पालिकामा काँग्रेसबाहेकको गठबन्धन बन्ने भएको हो । हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित काँग्रेस एक्लै लड्दा अरू तीन दलले एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्दा साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष उम्मेदवारलाई एकअर्काले सहयोग गर्नेछन् । त्यसो त यी चार पालिकामा तीन पार्टीबीच तालमेल हुँदा नेपाली काँगे्रस र नेकपा एमाले एक्ला–एक्लै लड्नेछन् । 

बाँकी छ पालिकामा चार दलीय गठबन्धन बनेको छ, जहाँ एमालेले एक्लै लड्नेछ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पदको उम्मेदवार दिने गठबन्धन दलले सहमति गरेका छन् । जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार भने टुङ्गिएको छैन ।