• ४ जेठ २०८१, शुक्रबार

महिलालाई कानुनी सचेतनासम्बन्धी तालिम

blog

कानुनी सचेतना तथा मुलुकी देवानी संहितासम्बन्धी तालिमको समापन कार्यक्रममा उपस्थितहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख २० गते ।
 सुनसरीको दुहबी नगरपालिका ७ का ग्रामीण क्षेत्रका अगुवा महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी तीन दिवसीय तालिम दिइएको छ । दुहबी नगरपालिकाको सहयोग तथा आवाज नेपाल दुहबी सुनसरीको आयोजनामा रामगंज शाखा सिँचाई भवनमा सञ्चालित कानुनी सचेतना तथा मुलुकी देवानी संहितासम्बन्धी तीन दिवसीय तालिम सम्पन्न भएको हो ।

तालिममा व्यक्तिको परिवार तथा समुदायमा देखापरेको कानुनी अड्चन तथा भोगेका समस्याहरूसँग सम्बन्धित मुद्दाहरू अंशबण्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बोक्सीको अपरोपमा गरिने अमानवीय व्यवहार, विवाहको परिणाम, परिवारकी सम्बन्ध, जग्गा खिचोला, गाली बेइज्जती, तथा स्थानीय पालिकामा रहेका न्यायिक समितिले हेर्न मिल्ने विवादका विषयहरूलाई समेटिएर पवित्रा चौधरी र अधिवक्ता शुकदेव चौधरीले सहजीकरण गर्नुभएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगरपालिकाका उपप्रमुख मुनुका पोखरेल खतिवडाले ग्रामीण क्षेत्रमा ७५–८० प्रतिशत महिलाहरू माथि विभिन्न किसिमका हिंसा भइरहेको बताउनुभयो ।

यस तालिममा थाहा पाएका कानुनी कुराहरू आफ्ना घर परिवार तथा समुदायमा समेत जानकारी गराई अप्ठ्यारामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्याका विषयमा जो कोहीले पनि न्यायिक समिति तथा दुहबी नगरपालिकाले सञ्चालन गरेको हटलाइन नम्बरमा उजुरी गर्न सक्ने बताउनुभएको थियो । सो परेको उजुरीको सम्बन्धमा तत्काल न्यायिक समितिले एक्सनलाई घटनाका संलग्नलाई कानुनी दायरामा ल्याउने तथा पीडितलाई न्यायको अनुभूत गराउन पहल गर्ने बताउनुभयो ।

सोही कार्यक्रमका अतिथि वक्ताहरूले सहर केन्द्रित विभिन्न सचेतना मूलक कार्यक्रम अब गाउँ लक्षित भई ग्रामीण क्षेत्रका महिलाहरूलाई कानुनको विषयमा जानकारी गराउँदा सानातिना मुद्दाहरू गाउँमै वा न्यायिक समितिमार्फत मेलमिलाप गर्न सहज हुने धारणा राख्नुभयो । कार्यक्रममा लधुराम माझी, तुलाराम खाँ, पनुलाल चौधरीलगायतका वक्ताहरूले आफ्नो धारण राख्नुभएको आयोजक संस्थाका कोशिला चौधरीले जानकारी दिनुभयो । सो कार्यक्रममा ग्रामीण क्षेत्रका ३० जना अगुवा महिलाको उपस्थिति रहेको थियो ।