• ९ मंसिर २०८१, आइतबार

आगलागी नियन्त्रक नै समस्यामा

blog

काठमाडौँ, वैशाख २० गते । काठमाडौँको अधिकतम तापक्रम यो वर्षको उच्च ३३.५ डिग्री सेल्सियसभन्दा माथि उक्लँदै छ । तराईका जिल्लामा अझ उच्च ४५ डिग्री सेल्सियसभन्दा माथि चढ्दै छ । उच्च तापक्रम र सुक्खा खडेरीका कारण देशैभर डढेलो र आगलागी भयावह बन्दै छ । 

बुधबार साँझसम्म १८० भन्दा बढी स्थानमा आगलागी र डढेलोका घटना भएका छन् । यसले जनधनको क्षति बढाएको छ । जोखिमको अनुमान नगरी डढेलो र आगलागी निभाउन र उद्धार गर्न पुग्दा निभाउने र बचाउनेकै ज्यान जान थालेको छ । 

मङ्गलबार ललितपुरको गोदावरीस्थित विभिन्न सामुदायिक वन र लेलेको वनमा एकै चोटि डढेलो लाग्यो । घर, बस्ती र अस्पतालसमेत जलाउने गरी सल्किएको डढेलो निभाउन स्थानीय आफैँ जुटे तर सुरक्षित तरिकाले निभाउन नजान्दा दुई जनाको ज्यान गयो । गोदावरी–४ को तपेश्वर सामुदायिक वनमा डढेलो निभाउने क्रममा शङ्कर पहरी र रमेश पहरीको ज्यान गएको हो । सुरक्षाकै लागि खटिएका सैनिक र प्रहरी पनि डढेलोमा सुरक्षित देखिँदैनन् । डोल्पाको सामुदायिक वनको डढेलो निभाउन गएका तीन जना सैनिकको गत चैत २८ गते मृत्यु भएको थियो । त्यस्तै असावधानीले २०६६ सालमा रामेछापमा १३ जना सैनिकको ज्यान गएको थियो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ यता आगलागी र डढेलोबाट १६ जनाको मृत्यु भइसकेको छ । घरभित्रै आगो लागेर घेरिएको अवस्थामा जलेर सम्भावित घटना भए पनि आगो निभाउन गएका नै जलेर मर्नु असुरक्षित अभ्यास भएको डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । प्राधिकरणका विज्ञ शर्मासहतिको टोली पानी तान्ने पम्प लिएर जानुभएको थियो । 

त्यहाँ पुग्दा दुई जना डढेलोले घाइते भइसकेका थिए । उहाँले भन्नुभयो, “डढेलोमा फायर फाइटरबाहेक अरू जानै हुँदैन ।” आगलागी र डढेलोमा पहिलो मानिसको ज्यान, दोस्रो घरबस्ती र तेस्रो वन जोगाउनु पर्छ । घरबस्तीमा पस्न लागेमा केही पर सुरक्षा घेरा बनाउनेबाहेक आगोमै होमिएर निभाउन तम्सनै नहुने शर्मा बताउनुहुन्छ ।  मङ्गलबार राति गोदावरीमा डढेलो निभाउन केहीबेर मात्र ढिला भएको भए वन नजिकै रहेका अस्पताल र घरहरू खरानी हुन्थे । एउटा दमकल बाटामै बिग्रेर थन्किएपछि प्राधिकरणको पम्प र तीन वटा दमकलको सहायताले आगो केही हदसम्म निभाउन सकिएको थियो । 

डढेलो घरबस्तीको भन्दा झन् विकराल हुने भएकाले निभाउँदा अधिक सावधानी अपनाउनु पर्छ । उहाँका अनुसार डढेलोले छिन छिनमै स्वभाव परिवर्तन गर्छ । उच्च रापका कारण फनफनी घुमिरहेको हावाले आगोका लप्का कतिखेर कहाँ घुमाइदिन्छ थाहै हुन्न । 

भिरालोपन र भूबनोटले पनि डढेलोको असरमा फरक पार्छ । भूगोलको मोहडा कता छ भन्नेले पनि डढेलोको प्रभावमा भिन्नता ल्याउँछ । दक्षिण मोहडा भएको वनमा आगो तलबाट माथि जान्छ भने उत्तर मोहडाकोमा माथिबाट तल झर्दै सल्कन्छ । त्यस्तो भूगोलको हिसाबले मात्र आगो निभाउने अभ्यास गर्नु पर्छ । 

जनशक्ति र स्रोत अभाव

भीषण रूपमा लागेको डढेलो र आगो निभाउन नेपालमा दक्ष जनशक्ति र स्रोत साधनको अभाव रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भन्नुभयो, “त्यो बेला गुहार्ने भनेको नेपाली सेना र सशस्त्र प्रहरी र  अग्नि नियन्त्रकलाई नै हो तर त्यहाँ पनि दक्ष जनशक्ति र स्रोत साधनको अभाव छ ।” सेना र प्रहरीसमेत स्याउला र माटो हातमा लिएर डढेलो निभाइरहेका भेटिन्छन् । त्यसबाहेक स्थानीय तहमा तीन तलासम्मको उचाइका दमकलको अभाव छ । 

गत वर्षदेखि पम्प बाँड्न थालेको प्राधिकरणले १२० थान बोक्न सकिने फायर पम्प आगोले नखाने कपडा र अन्य केही सामग्री अग्नि समनकर्तालाई वितरण गरेको छ । 

आन्तरिक बजेटबाट केही काम भए पनि वन डढेलो नियन्त्रणका लागि बजेटमै घोषणा गरेको बजेट नआएपछि केही हुन सकेको छैन । मरेपछि क्षतिपूर्ति दिनुभन्दा सामुदायिक वन र राष्ट्रिय निकुञ्जहरूको आम्दानीको हिस्सा डढेलो नियन्त्रणमा थोरै भए पनि खर्च गर्ने वातावरण बनाउनुपर्ने पोखरेलले बताउनुभयो । सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार अभ्यस्त जनशक्तिसँगै फायर फाइटिङको निरन्तर तालिम, दमकल, वाटर क्यानल डढेलो निभाउन आवश्यक हुन्छ तर सबैलाई त्यो तालिम र जोगाउने उपकरण दिन सकिएको छैन । दक्ष जनशक्तिको टड्कारो अभाव देखिएको छ, बजेट र स्रोत साधन नहुँदा उपभोक्तासँग मिलेर दस्ता बनाउन सकएको छैन ।