• ९ जेठ २०८१, बुधबार

एमआइसिसिआइए र उद्योग वाणिज्य सङ्घबिच सहकार्य

blog

काठमाडौँ, वैशाख १९ गते । तेस्रो लगानी सम्पन्नपछि नेपालस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ‘पोस्ट इन्भेस्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।   

मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एमआइसिसिआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुनलगायतको विषयमा छलफल भएको थियो । 

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले तेस्रो लगानी सम्मेलनमा भारतीय लगानीकर्ताले देखाएको सक्रियता र सहभागिताको प्रशंसा गर्नुभयो । लगानी सम्मेलनको छलफलमा सहभागी भएका कैयौँ निजी क्षेत्रका व्यवसायीका साथै एफआइसिसिआई, सिआइआई, आइसिसी र एमआइसिसिआइएका ५० भन्दा बढी प्रतिनिधिको उपस्थिति रहेको उहाँले बताउनुभयो । 

नेपाल–भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सिर्जना राणाले भारतीय र नेपाली व्यापारबिच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रका रूपमा रहेको बताउनुभयो । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एमआइसिसिआइए) का अध्यक्ष अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बिटुबी कनेक्सनको महत्व रहेको बताउनुभयो । कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ र एमआइसिसिआइएबिच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।