• ८ जेठ २०८१, मङ्गलबार

आइसिसी टी–२० विश्वकप : भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिकाको टोली घोषणा

blog

काठमाडौँ, वैशाख १८ गते । आइसिसी टी–२० विश्वकपका लागि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिकाले मङ्गलबार खेलाडी टोलीको घोषणा गरेका छन् ।

भारतीय क्रिकेट बोर्डले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा ऋषभ पन्त र जसप्रित बुमराहले पुनरागमन गर्नुभएको छ । टोलीमा कप्तान रोहित शर्मासँगै हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, सञ्जु सामसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, जसप्रीत बुमराह, अर्शदीप सिंह र मोहम्मद सिराज हुनुहुन्छ । 

जुन १ तारिख देखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । यस समूहमा भारतसँगै पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेको छ । भारतले जुन ५ तारिख आयरल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

यसैगरी इङ्ल्यान्डले जोस बट्लरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान जोस बट्लरसँगै मोइन अलि, जोफ्रा आर्चर, जोनी बेयरिस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोप्ली र मार्क उड हुनुहुन्छ । 

क्रिस जोर्डन र जोफ्रा आर्चरले पुनरागमन गर्नुभएको हो । इङ्गल्यान्ड विश्वकपको समूह ‘बी’ मा रहेको छ । यस समूहमा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेको छ । इङ्ल्यान्डले जुन ४ तारिख स्कटल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

यस्तै दक्षिण अफ्रिकाको पनि एडेन मार्करमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा कप्तान मार्करमसँगै ओट्निल बार्टम्यान, क्विनटन डी काक, ब्योर्न फर्ट्युन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर,नोर्त्जे, कागिसो रबाडा, रयान रिकेल्टन, ताबरेज शम्सी, जेराल्ड कोएट्जी र ट्रिस्टन स्टब्स हुनुहुन्छ । 

जेराल्ड कोएट्जी पहिलो पटक टोलीमा पर्नुभएको हो ।  एनरिच नोर्त्जेले पुनरागमन गर्नुभएको छ । दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपाल, श्रीलंका, बङ्गलादेश र नेदरल्यान्ड्स रहेको छ । दक्षिण अफ्रिकाले जुन ३ तारिख श्रीलंकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । दक्षिण अफ्रिका र नेपालको खेल जुन १४ तारिख हुनेछ । एजेन्सी