• १३ साउन २०८१, आइतबार

‘उपत्यकामा विद्युत्को सहज आपूर्तिका निम्ति गुणात्मक महत्वको काम सम्पन्न’

blog

काठमाडौँ, वैशाख १७ गते । काठमाडौँ उपत्यकाको सबभन्दा ठुलो विद्युत् सबस्टेसन ‘मातातीर्थ २२० केभी सबस्टेसन’ सञ्चालनमा आएको छ । 

त्यसै गरी मस्र्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार उद्घाटन गरेसँगै सो सबस्टेसन र प्रसारण लाइन सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो प्रसारण लाइन र सबस्टेसन उद्घाटनसँगै काठमाडौँ उपत्यकाको विद्युतीकरण र सहज आपूर्तिको निम्ति गुणात्मक महत्वको काम सम्पन्न भएको बताउनुभयो । 

केही समयअघि सुनसरीको इनरुवा र चितवनको भरतपुरमा विद्युत्को सबस्टेसन उद्घाटन गरेको स्मरण गर्दै उहाँले यसले मुलुक साँच्चिकै गुणात्मक ढङ्गले नै जलविद्युत्को क्षेत्रमा प्रगति गरिरहेका छौँ भन्ने कुरा प्रस्ट देखिएको जिकिर गर्नुभयो ।

सो अवसरमा उहाँले प्रसारण लाइन निर्माणमा सहयोग गर्ने नर्वे सरकार र एसियाली विकास बैङ्कलाई धन्यबाद दिँदै आउने दिनमा खास गरी जेनेरेसन, ट्रान्समिसन र ‘डिस्ट्रिब्युसन’ को क्षेत्रमा सहयोग र लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जेनेरेसनभन्दा बढी सहयोगको आवश्यकता ट्रान्समिसन र ड्रिस्टिब्युसनमा देखिएको छ । तपाईंहरूको सहयोग यसैमा केन्द्रित होस् भनेर अपेक्षा गर्न चाहन्छु ।” 

नर्वे सरकारको अनुदान र एसियाली विकास बैङ्कको ऋण सहयोगमा मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आयोजनाको आर्थिक व्यवस्थापन गरिएको हो ।

बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताउनुभयो । गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताउँदै उहाँले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइसकेको उल्लेखसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, “उक्त प्रारम्भिक सहमतिलाई मूर्त रूप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चितताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु ।” 

चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी भइसकेको बताउँदै उहाँले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्य गरिरहेको जानकारी दिनुभयो ।  

विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विकास आयोजनाको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबिच सन्तुलन कायम हुने गरी योजनाहरू अगाडि बढाउन महत्वपूर्ण निर्णय गर्नैपर्ने छ ।” उहाँले विकास निर्माणमा बाधक नभई व्यावहारिक बनिदिन अनुरोधसमेत गर्नुभयो । 

‘ठुला जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाइन्छ’

प्रधानमन्त्री प्रचण्डले विद्युत् प्रणालीमा देखिएको मौसमी असन्तुलन हटाउन ठुला जलाशययुक्त आयोजना निर्माण गरिने बताउनुभएको छ ।

“१२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना, ६७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ ।” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “साथै देशलाई दीर्घकालीन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्वका कर्णाली चिसापानी १० हजार आठ सय मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।”

विश्व बैङ्कको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र एसियाली विकास बैङ्कको नेतृत्वमा ६७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

देशभित्र उत्पादित विद्युत् स्वदेशमै खपत गर्न सरकारले विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले विद्युत् खपत बढाउनका लागि दिशा निर्देश गर्ने बताउनुभयो ।

 डेढ वर्षभित्र पूर्ण विद्युतीकरण

अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महìवपूर्ण ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा मुख्य खुड्किलो हो ।”

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी कोरिडोरमा निर्माण भएका र आगामी दिनमा सो क्षेत्र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन यो आयोजना निर्माण गरिएको हो ।

यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

मुलुक विकासको नयाँ युगमा

मुलुक विकासको नयाँ युगतिर प्रवेश गरिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोचेभन्दा धेरै ६० मुलुकका दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा लगानी सम्मेलन भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सबै कुराले के देखाएको छ भने नेपाल विकासको युगतिर प्रवेश गरिसकेको छ ।”

उहाँले विकासको नयाँ युगतिर अग्रसर नेपाललाई हातेमालो गरेर सकारात्मक भाष्यका साथ विकास प्रक्रियालाई गति दिन राजनीतिक दल, नेता, बुद्धिजीवी र युवालार्ई एकजुट हुन आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्कले पनि देखाएको छ, गएको सवा सय वर्षको स्थिति र विगतको सात आठ वर्षको मात्र स्थिति हेरियो भने हामी गुणात्मक प्रगतितिर अगाडि बढेका छौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक विकास निर्माणको नयाँ युगमा प्रवेश गरेको बताउँदै भन्नुभयो, “आज उद्घाटन भएको प्रसारण लाइन र सबस्टेसन त्यसैको सूचक हो ।” जलस्रोतको सही व्यवस्थापन गर्न सकियो भने मुलुक विकासमा पछि पर्न नसक्ने बताउँदै उहाँले सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ र ‘रेमिट हाइड्रो प्रोजेक्ट’ कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एउटा प्रसारण लाइन निर्माण गर्दा युद्ध जितेको महसुस गर्नुपर्ने अवस्थाबाट अहिले पनि मुक्त हुन नसकेको बताउँदै यस्तो अवस्थाबाट मुक्त हुन सकिएन भने द्रुत गतिको विकासको अपेक्षा पूरा गर्न नसकिने स्पष्ट पार्नुभयो ।

अहिलेको ऐन कानुनलाई विकासमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जलविद्युत् तथा प्रसारण लाइन निर्माणमा मुख्य समस्याका रूपमा रहेको वन कटानी तथा जग्गा प्राप्तिसम्बन्धी कार्यलाई सहज एवं छिटोछरितो नबनाएसम्म यस्ता आयोजना पूर्वनिर्धारित समय र लागतभित्र सक्न सम्भव छैन ।”

उहाँले तनहुँको मार्किचोकदेखि काठमाडौँको मातातीर्थ सबस्टेसनसम्म करिब ८८ किलोमिटर लामो २२० केभी प्रसारण लाइन तथा मातातीर्थमा २२० केभी क्षमताको सबस्टेसन सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रसारण लाइन र सबस्टेसनको निर्माण आठ अर्ब रुपियाँमा सम्पन्न भएको हो ।

प्रसारण लाइन निर्माण टाटा प्रोजेक्ट लिमिटेड इन्डियाले सन् २०१६ जुनमा सुरु गरी नोभेम्बर २०२२ मा सम्पन्न गरेको थियो भने मातातीर्थ सबस्टेसनको निर्माण चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन चाइनाले सन् २०२० डिसेम्बरमा सुरु गरी सन् २०२४ अप्रिलमा सम्पन्न गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।