• २७ वैशाख २०८१, बिहिबार

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबिच एकता

blog

काठमाडौँ, वैशाख १५ गते । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबिच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबिच आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ । 

दुवै पार्टीबिच भएको एकताको आधारपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवम् समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ । नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रमा आधारभूत बुझाइ एवम् दृष्टिकोणमा एकरुपता विद्यमान रहेको निचोडमा पुगेको एकता आधारपत्रमा उल्लेख छ ।

विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठूला दलको भूमिका र वर्तमान बुझाइमा पनि दुई दलको एउटै दृष्टिकोण रहेको जनाउँदै जनताको शासन कायम गर्न देशभक्त, प्रगतिशील अग्रगामी शक्ति एकजुट भई अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टी एकता पश्चात प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने उल्लेख छ ।

अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समूह, सङ्गठन र शक्तिबिच योजनाबद्ध वार्ता, संवाद र सहकार्यमार्फत निकट भविष्यमा थप वृहद ध्रुवीकरण एवम् एकतालाई नयाँ उचाइमा पुर्याउन सङ्कल्पित रहने पनि सहमतिपत्रमार्फत जानकारी दिइएको छ । रासस