• १२ असार २०८१, बुधबार

ज्येष्ठ नागरिक अस्पताल स्थापना हुने

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, वैशाख ७ गते । जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गरिने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको हेटौँडामा सोमबार बसेको आसन्न स्थानीय तह निर्वाचन केन्द्रित बैठकमा उहाँले काठमाडौँमा निजामती कर्मचारी अस्पताल, चितवनमा शिक्षक अस्पताल भनेजस्तै हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति भएको जानकारी दिनुभयो । 

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री खतिवडाले मकवानपुरमा जग्गा खोजेर अस्पताल सञ्चालनका लागि सैद्धान्तिक सहमति लिइसकेको बताउँदै आफ्नै पहलमा सहरी विकास मन्त्रालयमार्फत थाहा नगरपालिकालाई ५० करोड रुपियाँ उपलब्ध हुने बताउनुभयो । मन्त्री खतिवडाले पश्चिम मकवानपुरको मनहरीदेखि धादिङको महादेवबेँसीसम्म जोड्ने मनहरी–राक्सिराङ–डाँडाबास–दामगडे–महादेवबेँसी सडकका लागि ९९ करोड रुपियाँ राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने भन्दै बजेट कार्यान्वयन भएपछि जिल्लाको पश्चिमी क्षेत्रको सडक पूर्वाधार विकासमा महìवपूर्ण योगदान पुग्ने बताउनुभयो । मन्त्री खतिवडाले सरकारले नागरिकलाई ११२ प्रकारका औषधि र १३ प्रकारका खोप उपलब्ध गराउनुका साथै २० वटा रोगको निःशुल्क परीक्षणको व्यवस्था गरेको बताउनुभयो । 

यसैबीच एकीकृत समाजवादी मकवानपुरले मकवानपुरमा छ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै इन्चार्जहरूले पार्टी सङ्गठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, इन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र प्रमुख पाउनुपर्ने गरी गठबन्धनमा छलफल गर्न 

सुझाएका थिए । गठबन्धनले एकीकृत समाजवादीलाई कैलाश र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष दिन सहमति जनाएको छ । ती दुई गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका अध्यक्षहरूले एमाले विभाजनसँगै एकीकृत समाजवादी रोजेका थिए । बैठकमा गठबन्धनसँग मिल्नुपर्दा १०२ वडामध्ये कम्तीमा ३९ वटा वडाध्यक्ष लिनुपर्ने सुझाएका थिए । 

यसैबीच बैठकले हेटौँडा वडा नम्बर १ का नेता उत्तम शर्मा न्यौपानेलाई सचिवालय सदस्यमा मनोनयन गरेको छ । न्यौपाने केही दिनअघि नेकपा एमाले छाडेर समाजवादी पार्टीमा प्रवेश  गर्नुभएको थियो ।

यस्तै श्याम ढुङ्गाना र रामबहादुर स्याङ्तानलाई जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव विष्णु दाहालले बताउनुभयो । बैठकमा रिपोर्टिङ गर्ने इन्चार्जहरूले जिल्लाभर एमाले कमजोर बन्दै गएको बताएका थिए । बैठकमा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले गठबन्धनका दलहरूसँग भएका बैठकबारे जानकारी गराउँदै गठबन्धनमा सहभागी दलले राखेको अडान, एकीकृत समाजवादीले राखेको अडान र सहमतिका विषयमा पुग्न सकिने आधारबारे बताउनुभएको थियो । 

बैठकमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेतले नेतृत्व पङ्क्तिलाई थप सक्रिय भएर पार्टी निर्माण र उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरू धनप्रसाद गौतम, राजाराम स्याङ्तान र सूर्यचन्द्र न्यौपानेले केपी ओली प्रवृत्तिविरुद्ध पार्टी गठन अभियानसँगै गठबन्धनलाई इमानदारीपूर्वक जोगाएर पार्टीका नेता–कार्यकर्तालाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।