ठाकुरप्रसाद आचार्य
म्याग्दी, बैशाख ४ गते । सरकारी सेवालाई नागरिकको घरदैलोमा पुगाउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले जिल्लाभर कार्यरत हल्करालाई उत्प्रेरणा तथा अभिमुखीकरण गरेको छ ।
राहदानी लगायतका सरकारी कागजात हुलाकमार्फत घरमै वितरण गर्ने सेवा सुरु गरिएसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउन उत्कृष्ट हल्करालाई सम्मान समेत गरिएको छ । हुलाकले बुधबारदेखि राहदानी सेवाग्राहीको घर–घरमा पु¥याउन थालेको छ ।
नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एकसय कार्यसूची अन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई प्रभावकारी बनाउन हल्करालाई अभिमूखिकरण र सम्मान गरिएको कार्यालयले जनाएको छ ।
राहदानीलगायतका महत्वपूर्ण सरकारी कागजात घरमै पु¥याउने लक्ष्यलाई सफल बनाउन हल्कराको भूमिकालाई थप सुदृढ बनाउन उनीहरुलाई अभिमूखिकरणसहित उत्प्रेरणा प्रदान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।
विहीबार आयोजित कार्यक्रममा जिल्ला तथा पालिका हुलाक कार्यालय अन्तर्गत कार्यरत हल्करालाई कार्यालय प्रमुख थापा तथा शाखा प्रमुखहरुले सहजीकरण गर्दै सेवाको गुणस्तर, समय व्यवस्थापन र जिम्मेवारीबारे अभिमुखीकरण गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने हल्करालाई सम्मान समेत गरिएको छ । उत्कृष्ट हल्कराको रुपमा रमेश शर्मा, सबैभन्दा धेरै चिठ्ठी वितरण गर्ने रघुगंगा गाउँपालिकाकी सोभा सुवेदी तथा पोष्टम्यान बुक उत्कृष्ट राख्ने दिपक सुवेदी सम्मान गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
जिल्ला हुलाक कार्यालयका प्रमुख थापाका अनुसार हुलाक सेवालाई सरकारी कुरियर सेवाका रुपमा विकास गर्दै नागरिकलाई सहज र छरितो सेवा दिनेतर्फ ध्यान केन्द्रित गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय म्याग्दी बिचमा समझदारी पत्रमा हस्ताक्षर गरी तत्काल राहदानी सेवालाई हुलाकमार्फत सेवाग्राहीको घरदैलोमा पु¥याउने व्यवस्था प्रारम्भ गरिएको छ ।