• ५ असार २०८१, बुधबार

फेरियो डाँडापारि

blog

बत्तीमुनिको अँध्यारो भने जस्तै सङ्घीय राजधानीबाट १३० किलोमिटर र प्रदेश राजधानीबाट ५० किलोमिटरको दुरीमा रहेको डाँडापारि विकटभित्रको विकट गाउँबाट क्रमशः सुगम गाउँमा रूपान्तरण हुँदै छ । त्यहाँ सञ्चालित सडक आयोजना समयमै सम्पन्न भए भने अबको केही वर्षपछि दुर्गममा गनिएका गाउँबस्ती सुगम बन्दै जाने छन् । 

साबिकका १० वटा गाउँ विकास समितिलाई  पारि भनिन्थ्यो । ती १० गाविस मिलेर यतिबेला दुई वटा स्थानीय तह बनेका छन्– खानीखोला र महाभारत गाउँपालिका । कुनै समय अभाव र दुर्गमको पहिचान बनाएको  पारिले भौतिक रूपमा आफूलाई निकै रूपान्तरण गरेको छ तर पनि जिल्ला सदरमुकामसम्म सिधै जोड्ने पक्की सडक भने अझै निर्माणकै चरणमा छ ।  आफ्नो छुट्टै भौगोलिक, सांस्कृतिक, सामुदायिक पहिचान बोकेको त्यस क्षेत्रमा तामाङ, मगर, बाहुन, क्षेत्री, माझी, नेवार, दलित, पहरी समुदायको बसोबास छ । सङ्घीयता मुलुकले धान्न नसक्ने भन्दै बहस चलिरहेको समयमा सङ्घीयता  पारिको महाभारत र खानीखोला गाउँपालिकाले भने त्यसबाट आफ्नो मुहार नै फेर्ने तरखर गरिरहेको छ ।

स्थानीय तहले प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने हो भने विकासका अनुपम उदाहरण दिन सक्छन् भन्ने प्रमाण दुई गाउँपालिकाले गरिरहेको छ । त्यसमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले  पारिका लागि उदार रूपमा बजेट विनियोजन गरिरहेको छ । विद्यालयको भौतिक पूर्वाधारमा निकै फड्को मारेका छन् । प्राविधिक धारका शिक्षालय स्थापना भइरहेका छन् । स्वास्थ्यचौकीमा अत्यावश्यक आवश्यकता थपिँदै गएका छन् । सुविधासम्पन्न अस्पतालका भवनहरू निर्माणका चरणमा छन् । इलाका प्रशासन कार्यालयबाट नै सदरमुकामसम्म आउनुपर्ने धेरै काम सहज रूपमा भइरहेको छ । 

जनमुक्ति मार्गले परिवर्तन 

केही वर्षअघिसम्म  डाँडापारिका उत्पादनले बजार पाउने सम्भावना शून्यप्रायः नै थियो । अहिले डाँडापारिका कतिपय गाउँबाट बिहान टिपेको तरकारी सोही दिनको साँझ बनेपा र काठमाडौँको बजारमा पुग्ने गरेको छ । तरकारी बिक्ने भएपछि कृषक त्यसतर्फ आकर्षित भएका पनि छन् । 

काभ्रेको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आएको दुई गाउँपालिकामा हाल दुई अर्बभन्दा माथिका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत छन् । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा महाभारतको भूमेचुली–बुढाखानी–तीनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रेसहित निर्माण गर्न ९९ करोड रुपियाँको काम सुरु भएको बताउनुहुन्छ । यस्तै तीनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि ४९ करोड लागतमा सडकको काम भइरहेको छ ।

अध्यक्ष जिम्बाका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई ४८ करोड रकमको स्रोत सुनिश्चित भएको छ । प्रदेश मन्त्रालयले आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी काभ्रेपलाञ्चोक र प्रदेश राजधानी मकवानपुर जोड्ने गरी ‘जनमुक्ति’ मार्ग निर्माणको तयारी थालेको छ ।

प्रदेश मन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका अन्तर्गत मङ्गलटारस्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरेस्थित मदन भण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने उल्लेख गर्नुभयो । उहाँका अनुसार उक्त मार्गका लागि तीन अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सो सडकको लम्बाइ ९३ किलोमिटर हुने छ ।

 नमुना सहर बन्दै तालढुङ्गा

खानीखोला गाउँपालिकाको केन्द्रलाई प्रदेशभित्रको नमुना उदीयमान सहरका रूपमा विकास गरिँदै छ । बागमती प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रममा खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गालाई उदीयमान नमुना सहरका रूपमा विकास गर्न बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले खानीखोलाको केन्द्र तालढुङ्गालाई उदीयमान नमुना सहर बनाउनका लागि सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकमार्फत दुई करोड रुपियाँ विनियोजन गरेको छ । काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लालाई सडक मार्गमा जोड्नका लागि बागमती नदीमा पुल निर्माणको काम भइरहेको बताउँदै पुल सम्पन्न भएपछि तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा दुई घण्टामा पुगिने छ । 

गाउँपालिकाले गत वर्ष गाउँपालिकाको केन्द्र रहने स्थानको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । गाउँपालिकाले तयार गरेको डिपिआरको विषयमा जनप्रतिनिधि, सहरी विकास योजनाविद् तथा स्थानीय नागरिकसँग छलफल गरी उक्त डिपिआरलाई आवश्यकता अनुसार परिमार्जन गरी उक्त योजनालाई बहुवर्षीय आयोजनामा समावेश गरिएको छ । 

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग जोड्ने सडक   (प्रस्तावित जनमुक्ति मार्ग) मा तालढुङ्गा सहर पर्दछ । तालढुङ्गा बजार खानीखोला गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले प्रदेश सरकारले प्रदेशभित्रको नमुना कार्यक्रमका रूपमा नमुना उदीयमान सहरको अवधारणा अगाडि सारेको बताउनुभयो । तालढुङ्गा नमुना सहर निर्माण भएसँगै खानीखोलाका साथै महाभारत गाउँपालिकाको समेत बजार हुने छ । तालढुङ्गामा सडक, ढल, बस्ती विकास, पार्क निर्माणलगायतका काम गरेर बनेपा, धुलिखेल, हेटौँडामा उपलब्ध हुने सेवा दिन सकेमा पर्यटनको विकास हुने भन्दै तालढुङ्गालाई प्रदेशभित्रको सानो, सुन्दर, आकर्षक सहर बन्ने दाबी उहाँले गर्नुभयो । 

डाँडावारिको बिजुली ५२ वर्षपछि डाँडापारि

भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुप¥यो ।  डाँडापारिका स्थानीयवासीको नजिकको बजार खोपासीमा बिजुली बलेको ५२ वर्ष पुगिसक्यो तर यहाँका स्थानीयवासीले ग्रामीण विद्युतीकरण र सोलारकै बिजुलीमा भर पर्ने बाध्यता थियो । सोलारले मुस्किलले दुई घण्टा बत्ती बल्ने गरेको थियो ।  विकासको पटक पटक आश्वासन पाएका डाँडापारिवासीको ठुलो सपना पूरा भएपछि स्थानीय प्रशान्त जिम्बाले तामाङ भाषामा यसरी खुसी व्यक्त गर्नुभयो, “धिनी अफेफा बेलरी मोबाइल रि टावर अखबामुबा दरेम नम्सा रि केन्द्रीय लाइन बत्ती खजी थे समस्या अरे नम्सारिन व्यवसाय लबरी ज्यबा तजी ।” अर्थात् घाम नलाग्दा फोन नटिप्ने समस्या समाधान भएको र बिजुलीले गाउँमै उद्योग खोल्ने वातावरण सिर्जना भएको छ । 

विसं २०२४ सालमा खोपासी जलविद्युत् आयोजना निर्माण भएपछि पनौती आसपास बिजुली बलेको थियो । त्यसपछि नेपालमा धेरै व्यवस्था फेरिए । खोपासीबाट ७० किलोमिटरको दुरीमा रहेको साबिकका १० वटा गाविसले बिजुली बाल्न मात्रै ५२ वर्ष पर्खनुप¥यो । बिजुली त्यहाँसम्म पुग्नुमा सङ्घीयता नै कारक बनेको आभास स्थानीयवासीले गरेका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सम्पर्कमा नरहेका महाभारत र खानीखोला गाउँपालिकाका सर्वसाधारण बिजुली बत्तीको उज्यालोमा बस्न पाउने भएपछि खुसियाली छाएको छ ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात वर्षअघि तत्कालीन नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरू गङ्गाबहादुर दोङ, गोकुलप्रसाद बाँस्कोटा, रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल र गोमा भुर्तेललाई लिएर डाँडापारि क्षेत्रको भ्रमण गर्नुभएको थियो । सो समयमा गाउँपालिकाका पदाधिकारीले त्यहाँको प्रमुख समस्याका रूपमा बिजुली बत्ती नपुगेको भन्दै अँध्यारोबाट उज्यालो बनाउने माग राख्नुभएको थियो । त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । नेपाल सरकारबाट एक अर्ब ५६ करोड रकम विनियोजन गरेर सो कार्य पूरा भएको बताउनुभयो । 

गाउँलेको सपना पूरा हुने भएपछि महाभारत गाउँपालिकाले घरमा जडान गर्ने विद्युत् मिटर खरिदका लागि एक हजार अनुदानको व्यवस्था गरेको छ । प्राधिकरणको केन्द्रीय प्रसारण लाइन डाँडापारिका सबै वडामा पुगिसकेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि सो क्षेत्रमा उद्योग कलकारखाना सञ्चालनको बाटो खुलेको छ । लघु जलविद्युत् सोलार तथा अन्य वैकल्पिक उपायबाट रातको समयमा उज्यालो आउने उपायबाहेक थप केही नभएको सो ठाउँमा स्थानीय तहको निर्वाचनपछि विकासका आधारभूत आवश्यकता पूरा हुन थालेका छन् । यो कार्यसँगै प्राधिकरणका सात हजार नयाँ ग्राहक थपिएका छन् । “जिल्लाभरिका सबै वडा कभर हुनु सानो खुसी हैन,” सुरज पराजुलीले भन्नुभयो, “यो हाम्रो पनि ऐतिहासिक जित हो ।”

ऐतिहासिक परिवर्तनको साक्षी 

नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउने गरी परिवर्तन हुन्छ भन्ने आशा सायद यहाँका अघिल्लो पुस्ताका नागरिकमा थिएन । सङ्घीयतापछि महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक हातमुख जोड्नका लागि पाखापखेरो खनीखोस्री गरेर उब्जाउ गरेको अन्नपात र वस्तुभाउ घरगोठ भरी राखेर नुन, तेल र मरमसला किन्नका लागि घण्टौँको बाटो हिँड्नुपर्ने बाध्यता बिस्तार हराउँदै गएको छ । 

स्थानीय राजन अधिकारी त्यहाँबाट भनिने  डाँडापारि अब विकटबाट सुगम बन्न थालेकोमा खुसी  हुनुहुन्छ । त्यहाँका उत्पादन स्वदेशी बजारमा मात्रै हैन, विदेशी बजारमा समेत पुग्न थालेका छन् । त्यहाँ उत्पादन भएको कफी पछिल्लो समय युरोपको बजारमा पुगेको छ । विगतमा यहाँका बासिन्दाका लागि उत्पादन गरेको कृषिजन्य वस्तुको बिक्री तथा आङ छोप्न आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न एक÷दुई दिनको पैदल यात्रापछि मात्रै मुख्य सहर र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अहिले मोटर गाडी चढेर त्यहाँका नागरिक सहरसम्म आउन थालेका छन् । 

अहिले स्थानीय तहको नेतृत्वमा युवा जनशक्तिले विकासको बागडोर सम्हालेपछि जिल्लाको विकट क्षेत्र  डाँडापारिले आफ्नो बल्ल मुहार फेर्दै गएको हो । यसअघि केही अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सामाजिक संस्थामार्फत शौचालय, पैदलयात्रीका लागि सिँढी निर्माण, खानेपानी धारा र झोलुङ्गे पुललगायतका एक टोलदेखि अर्को गाउँसम्म जाने सुविधा मात्रै उपभोग गर्दै आएका यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि सहरसम्म जोड्ने कार्यको थालनीसँगै नयाँ मुहार फेर्नुका साथै सुविधासमेत उपभोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समय भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानी’ सहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकका लागि प्रत्यक्ष अनुभूति हुने विकासका आधारहरू भएको स्थानीयवासीको भनाइ छ । सङ्घीय संरचनामा गएपछिको पहिलो पाँच वर्ष र अहिलेको कार्यकालको बिचसम्म आइपुग्दा  डाँडापारिका नागरिकले प्रत्यक्ष अनुभूति हुने खालको विकास आयोजना महसुस हुने गरी उपभोग गर्न पाएको अधिकारी बताउनुहुन्छ । 

सहकारीले खोज्दै समृद्धि 

भूगोलसँगै सामाजिक संस्थाको विकासमा ओझेलमा परेको महाभारत र खानीखोला गाउँपालिकामा सञ्चालित सहकारीले आफूलाई उदाहरणीय बनाउने प्रयास गरिरहेको छ । केही वर्षयता ग्रामीण भेगका सहकारीले आफूलाई प्रतिस्पर्धीसँगै आर्थिक रूपमा सदस्यलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर अभियान नै सञ्चालन गरिरहेका छन् । सहकारीमार्फत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव छ भनेर समुदायकै हकहितमा केन्द्रित साना किसान सहकारीले आफूलाई फरक र अब्बल रूपमा प्रस्तुत गरिरहेको छ । 

सहरमा सहकारी अझै पनि कागजमै सीमित रहे पनि डाँडापारिका सहकारीले सफ्टवेयरमार्फत सेवा प्रदान गरेको छ । नेपाल सरकारले सञ्चालनमा ल्याएको कोमोमिक्सको प्रयोग गरेर प्रविधिमैत्री बनाउने प्रयास गरेको छ । ग्रामीण भेगमा यान्त्रीकरणमार्फत उत्पादन बढाउन सकिन्छ भन्ने उदाहरणसमेत सोही सहकारीले प्रदान गरिरहेको छ । बचत तथा ऋणको कारोबार, कृषकलाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउन सकिन्छ भनेर प्रयास त्यहाँका सहकारीले थालेका छन् । परम्परागत खेती प्रणालीबाट माथि उकास्ने उद्देश्यले सहकारीले कफी पकेट कार्यक्रम सञ्चालन गरेको छ । सामूहिक र चक्लाबन्दी खेती प्रणालीले मात्रै आर्थिक समृद्धिका आधार सिर्जना हुने भएकाले सहकारीकै प्रयासमा ५० भन्दा धेरै किसानलाई समेटेर ५० रोपनीभन्दा धेरै जग्गामा चक्लाबन्दी कफी खेतीको सुरुवात गरिएको छ । यो आवबाट सहकारीले नै किसानसँग कफी खरिद गर्ने लक्ष्य बोकेर योजना बनाइरहेको छ । 

सरकारी सेवामा प्रवेशबारे जानकारी नपाउने त्यहाँका स्थानीय शिक्षक सेवा र लोक सेवाको तयारीमा जुट्न थालेका छन् । केही वर्षयता सयभन्दा धेरै शिक्षक सेवा र लोक सेवा उत्तीर्ण भएर सेवामा लागेका छन् । त्यसका लागि स्थानीय तहले तयारी कक्षासमेत सञ्चालन गरेका छन् । डाँडापारिमा प्राविधिक समस्याबाहेक फोर जीको सुविधा पाइरहेका छन् । राज्य के हो भनेर थाहा नभएका किसान पालिकामा आएर राज्यले दिने सेवासुविधाका बारेमा जानकारी लिन थालेका छन् । सङ्घीयताको उज्यालोले डाँडापारिलाई गतिशील बनाउन सहयोग गरिरहेको छ ।